अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल–कायदाका प्रमुख नेता अयमन अल जवाहिरीले पश्चिमी मुलुकका नागरिक अपहरण गर्न आफ्ना लडाकुलाई निर्देशन दिएका छन् ।
पश्चिमी मुलुक ‘इस्लाम विरोधी’ भन्दै उनले ‘इस्लामका दुश्मन’ लाई अपहरण गर्न आदेश दिएका हुन् । एक अडियो सन्देश जारी गर्दै उनले जेलमा रहेका जेहादीहरुलाई रिहा गराउनका लागि पश्चिमा मुलुकका नागरिक अपहरण गर्नुपर्ने बताए ।
उनले पश्चिमा नागरिकलाई अपहरण गरी फिरौती स्वरुप जिहादीलाई रिहा गराउन सकिने पनि बताएका छन् । उनले भनेका छन्, ‘दुश्मनविरुद्ध अपहरण एउटा शक्तिशाली हतियार हुन सक्छ ।’
अल–कायदाका प्रमुख नेता ओसामा विन लादेन मारिएपछि सन् २०११ देखि जवाहिरीले सो संगठनलाई नेतृत्व गर्दै आएका छन् ।
उनी अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बस्दै आएको अनुमान गरिएको छ । (एजेन्सी)