newskoseli.Com

आवाजबाट बिजुली ? ‘बिजुली मसिन’ को प्रदर्शन हुने

विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ भदौ ३१ गते प्रदर्शन हुने भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’ मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो ।

चलचित्रमा २ युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ । प्रायः सबै नयाँ कलाकारलाई समेटिएको चलचित्रमा अभिनेता राजेश हमालको छुट्टै किसिमको अभिनय रहेको बताइएको छ ।

यसमा अभिषेक सुवेदी र जीवन अधिकारीको मुख्य भूमिका छ । झन्डै १ करोड रूपैयाँकाे लगानीमा चलचित्र निर्माण गरिएको बताइन्छ । नवीन अवालको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका निर्माता सबै नयाँ अनुहारका छन्, जसमा ऋषब आचार्य, सञ्जीव न्यौपाने, दीपेन बस्नेत र सन्तोष लामिछाने छन् ।

कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले देशमा विद्युत् कटौतीकाे समस्या रहेका बेला वैकल्पिक ऊर्जाको खोजी गर्दै चलचित्र बन्नु सकारात्मक सङ्केत भएको बताए ।

नेपाली कांग्रेसका युवानेता गगन थापाले पछिल्लो केही समययता नेपाली चलचित्रले बाटो फेरेको बताउँदै नयाँ कथा र नयाँ प्रयोगसहित बनेको उक्त चलचित्रले युवालाई थप ऊर्जा दिने आशा व्यक्त गरे ।

वैकल्पिक ऊर्जाको खोजी नै मुख्य विषयवस्तु भएको र यसमा स्वस्थ मनोरञ्जन समेत समेटिएको चलचित्रका निर्देशक अवालले बताए । उनले आफ्नो चलचित्र हेरेपछि नेपाली युवाले स्वदेशमै केही गर्न जाँगर चलाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली चलचित्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगर, धावक सञ्जय पण्डित लगायतलाई सम्मान गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर