नयाँ वर्ष तिमी उता पूर्वबाट आउनू ।
पूर्वदेखि पश्चिमसम्म प्रकाशजस्तै छाउनू ।।
ओलाङचुङ्गोलाबाट यात्रा सुरु गर्नू ।
ठाउँठाउँमा हिमनदी हेरीहेरी तर्नू ।।
गाउँवस्ती घुम्दै आउनू किसानहरु भेट्नू ।
दूध–दही–मोही खाई प्यासलाई मेट्नू ।।
बाटैभरि खोलानाला कति होलान् हेर्नू ।
सुख्खा भूमि कति रहेछन् हृदयमा बेर्नू ।।
भोक–शोक–अज्ञानताको चुरो पत्ता लाउनू ।
यात्रा गर्दा पसिनामै सुन्दर गीत गाउनू ।।
कहिलेकाहीं धर्तीभित्र कुहिरो भई पस्नू ।
कहिलेकाहीं बास बस्ता ओढारमै बस्नू ।।
ताप्लेजुङ–पाँचथर इलाम–झापा हुँदै झर्नू ।
त्यहाँबाट पश्चिमपट्टि कन्काई नदी तर्नू ।।
यात्रा गर्दै अघि बढ्नू, जोगबनी पुग्नू ।
त्यहाँतिर के–के हुन्छ दुई दिन जति रुँग्नू ।।
उत्तरतिर लाग्नू उँभो बराह क्षेत्र जानू ।
कोशीगंगा तिरैतिरमा भुइँकटहर खानू ।।
धरान र धनकुटाको यात्रा तय गर्दा ।
ठाउँठाउँमा कस्तो लाग्ला अरुण नदी तर्दा ।।
अरुण नदी ऊर्जाकेन्द्र बास त्यहीं बस्नू ।
भोलिपल्ट बिहानीमै अनि कम्मर कस्नू ।।
उकालीमा जाँदाजाँदा गुन्द्रुक–ढिँडो खानू ।
खाँदबारी संखुवासभा–किमाथांका जानू ।।
हिँड्दै जानू नयाँ वर्ष तस्बिर खिँची ल्याउनू ।
नयाँ–नयाँ योजनाको धेरै बुद्धि ख्याउनू ।।
गर्यो भने के हुँदैन र चमत्कारै हुन्छ ।
विज्ञानको आविष्कारले धर्ती–आकाश छुन्छ ।।
हिमालैको फेदी–फेदी पश्चिमतिर लाग्नू ।
समयको गतिसँगै दिन–रातै जाग्नू ।।
गगनचुम्बी सगरमाथा नजिकैमा देख्छौ ।
हिमालैको फेदमा बसी योजनालाई लेख्छौ ।।
नीलगगनमा सगरमाथा जोडिएको ठाउँमा ।
हात जोडी ढोगिदिनू नेपालैको नाउँमा ।।
सगरमाथा सेतो हिमाल नेपालको शान ।
त्यहाँतिर दिनू तिमीले पसिनाको दाना ।।
सोलु हुँदै अघि बढ्नू शिवालय खिम्ती ।
ठोसे म्याग्जिन बास बस्नू फलामखानी निम्ति ।।
फलामखानी जति सबै सर्वे गरी ल्याउनू ।
अरुण–तमोर–लिखु समेत स्मृतिमा ल्याउनू ।।
सुनखानी, तामाखानी, जस्ता अनि खरी ।
जिरीतिर अघि बढ्नु खिम्ती खोला तरी ।।
धूपीसल्ला वरिपरि कस्तो घाम–छायाँ ।
गौरीशंकर हिमालको कति धेरै माया ।।
गौरीशंकर हिमालमा पवन भई जानू ।
खाना केही नमिलेमा हिउँको टुक्रा खानू ।।
सरोवरमा शयर गर्नू च्छो–रोल्पाको तालमा ।
होसमा रहनु सधैंभरि नपर्नू है जालमा ।।
दोलखाका सुनखानी, लादुक, लामाबगर ।
हिमालले छोएजस्तो माथि नीलो सगर ।।
लामाबगर सीमानामा सुरुङ खन्नुपर्छ ।
उत्तर–दक्षिण छोटो बाटो छिटो बन्नुपर्छ ।।
सबै सर्वे गर्दैगर्दै माथ्लो तामाकोशी ।
विद्युत्गृह धेरै बन्छन् लामो तामाकोशी ।।
कति ठाउँमा विद्युत् आउँछ हेर्दैहेर्दै जानू ।
विद्युत्गृहभित्र बसी त्यहीं खाजा खानू ।।
उत्तर–पश्चिम माथितिर कालिञ्चोकको तीर्थ ।
दक्षिण–पश्चिम शैलुङको महान् त्यो तीर्थ ।।
शैलुङका बूढामहादेव कालिञ्चोककी देवी ।
कोही छन् त्यतातिर धर्तीमाँको सेवी ।।
दोलखामा भीमसेन बस्छन् हजार हात्ती बलका ।
पराक्रम बहादुरहरु पाण्डवजस्तै दलका ।।
बुद्धसँगै आनन्दको वस्ती पनि त्यहीं छ ।
ताराजस्तो गौरीशंकर हिमाल पनि त्यहीं छ ।।
तामाकोशी तिरैतिर नयाँपुल हुँदै ।
खिम्तीबाट अघि बढ्नू जलविद्युत् हुँदै ।।
पुष्पलालमार्ग हुँदै बाँदरेको भीरमा ।
गंगालालको जन्मभूमि रामेछापको शिरमा ।।
सुनकोशी र तामाकोशी बेनीभन्दा तल ।
कति मिठो अमृतजस्तो खुर्कोटको जल ।।
त्यहींबाट माथि चढ्नू सिन्धुलीको गढी ।
त्यहाँ गई थकाइ मार्नू एक दिनभन्दा बढी ।।
जाँदा–जाँदा पुगिजान्छौ सिन्धुलीको माढी ।
वर्दिवास पुगिजान्छौ त्यस ठाउँलाई छाडी ।।
जाँदाजाँदा पुग्छौ तिमी छिट्टै भिट्टामोड ।
त्यो बाटो त धेरै छिटो दिनुपर्छ जोड ।।
त्यहाँ पुगी मन्त्र दिनू करुणा र प्रेमको ।
हिमालदेखि तराईसम्म एउटै माला प्रेमको ।।
लगाइदिनू माला त्यहाँ गाउँ–वस्तीभरि ।
त्यहाँबाट पश्चिमतिर बाग्मती नै तरी ।।
निजगढमा पुगीकन हवाइमैदान हेर्नू ।
उत्तरको बाटो हेर्नू, द्रूतमार्ग हेर्नू ।।
भीमफेदीको सुरुङमार्ग कुलेखानी मुनि ।
त्योचाहिँ मार्ग छिटो बने बदलिन्छ जुनी ।।
मकवानपुरको गढी हुँदै महाभारतको लेकमा ।
लालीगुराँस टम्मै फुल्छन् सेरोफेरो भेगमा ।।
चुरै पहाड वरिपरि युरेनियमको खानी ।
महाभारतको सेरोफेरो मार्बलको खानी ।।
भट्टेडाँडा, फुल्चोकी र गोदावरी हुँदै ।
दक्षिणकाली–सेतीदेवी–चोभार भञ्ज्याङ हुँदै ।।
बाग्मतीको तिरैतिर टेकू दोभानैमा ।
विष्णुमती–बाग्मती संगम दोभानैमा ।।
दुई नदीको संगममा बस्नू एक दिन ।
वरिपरि सोध्नु त्यहाँ त्यस्तो गन्ध किन ।।
बाग्मतीको तिरैतिर माथि–माथि आउनू ।
टुकुचाको संगम पनि हेर्दैहेर्दै आउनू ।।
अलि माथि धरहराको नजिक गईकन ।
सहिदगेट तिमीले देख्छौ वीर सहिदजन ।।
सहिदका सपनाको गाउनू मंगलगीत ।
हुनेछ युगौंयुगमा त्यो सत्यको जित ।।
मनोहरा–बाग्म्तीको दोभान पनि हेर्नू ।
पशुपति मन्दिर नजिक गंगाजल हेर्नू ।।
पशुपतिको मन्दिरनेर पूरै एक दिन बस्नू ।
त्यहाँबाट अघि बढी गौरीघाट पस्नू ।।
गुह्येश्वरी नजिकबाट बाग्मती तर्नू ।
गुह्येश्वरी–बौद्धनाथलाई नमन–प्रणाम गर्नू ।।
त्यसपछि किनारामा बाटिका छन् सुन्दर ।
नदीकिनार बन्दोरहेछ फूलबारी त्यो सुन्दर ।।
ग¥यो भने हुँदोरहेछ नर्क पनि स्वर्ग ।
नर्क पनि जाने गर्नू बनाउनलाई स्वर्ग ।।
नयाँ वर्ष तिमी आऊ सुन्दरीको जल ।
गोकर्णको मन्दिरमा प्रसाद खानू फल ।।
सुन्दरीको जलनजिक बीपी संग्रहालय ।
पुस्तकहरुको भण्डार होला पुस्तकको आलय ।।
छानी–छानी पुस्तक पढ्नू दुई–तीन दिन जति ।
थकाइ पनि मर्छ तिम्रो दौडन्छौ र कति ।।
त्यसपछि अघि बढ्नू बाघद्वार हुँदै ।
मेलम्चीको सुरुङद्वार ती हातले छुँदै ।।
मेलम्चीको शुद्ध जल सुन्दरीको जलमा ।
योचाहिँ कुरो सम्झिइरहनू एक–एक पलमा ।।
जाँदा–जाँदा तिमी पुग्छौ चिसापानी शिखर ।
त्यहाँबाट हिमाल देख्छौ कति सुन्दर निख्खर ।।
त्यहाँबाट तस्बिर खिँच्नू सारा हिमालको ।
स्मृतिमा राखिराख्नू प्रेम हिमालको ।।
घुमी–घुमी तस्बिर खिँच्नू गाउँवस्ती पनि ।
त्यहाँबाट अघि बढ्नू पाटीभञ्ज्याङ अनि ।।
लोकमार्ग त्यहींबाट मध्यपहाडको ।
नजर लाउनू नयाँ वर्ष गाउँ–पहाडको ।।
सिन्धुखोला, सङ्लो पानी, हरियाली फाँट ।
मेलम्चीको सुरुङ पनि नजरैले छाँट ।।
सुरुङभित्र पस्नू तिमी, अनुसन्धान गर्नू ।
अलि गम्भीर हुनु तिमी आफैं लागिपर्नू ।।
भूकम्पले भत्काएका घरतिर जानू ।
गाउँलेहरुको घरमा के छ, मागी–मागी खानू ।।
दुःख–दर्द के–होलान् सोध्नू गाउँलेलाई ।
खेत–बारी बाँझो होला सोध्नू गाउँलेलाई ।।
खाडीचौर, जुरेपहिरो, बाह्रबिसे हुँदै ।
भोटोकोशी विद्युत्गृह, तातोपानी हुँदै ।।
खासा पुग्नू सीमानामा हेर्दै–हेर्दै क्षति ।
भूकम्पले पहिरो लाग्यो कति भयो क्षति ।।
भोटेकोशी तीरैतीर आउनू दक्षिणतिर ।
इन्द्रावती–भोटेकोशी संगमघाटतिर ।।
दोलालको घाटनेर बोधीवृक्ष छेउ ।
दुई नदीको संगमलाई त्यहाँ ध्यान देऊ ।।
चाखोलाको तीरैतीर कुन्ताबेंसी पुग ।
अघि बढ्दै जाँदै गर, बाहुनेपाटी पुग ।।
मेलम्चीको बजार हुँदै शेराबेंसी कस्तो ।
खेत पनि कति सुन्दर हीरामोती जस्तो ।।
सङ्लो पानी ठूलो नदी गंगाजल मिठो ।
आमा–दिदी–बहिनीहरुको बोलीवचन मिठो ।।
बुबा–दाजु–भाइले सधैं मेहनत गर्ने ।
मेलम्चीको खोलाबाट वारि–पारि तर्ने ।।
खानेपानी योजनाको सुरुङभित्र पस्नू ।
धर्तीको गर्भभित्र तीन–चार घन्टा बस्नू ।।
मेलम्चीको सुरुङबाट कहिले आउँछ पानी ।
फर्की आउँदा सबै कुरा बेलिबिस्तार जानी ।।
यात्रा गर्नू हेलम्बुको दायाँ–बायाँ गर्दै ।
हिमालको फेदी–फेदी सयौं खोला तर्दै ।।
लेकलेकै यात्रा गर्दै पुग्नू सूर्यकुण्ड ।
जाँदाखेरि बाटाभरि जुकाहरुको झुन्ड ।।
जुका लाग्छन् सल्बलाउँदै रगत धेरै चुस्लान् ।
चिसो हुन्छ त्यता धेरै सर्दी–जुखाम घुस्लान् ।।
सूर्यकुण्ड–गणेशकुण्ड–गोसाइँकुण्ड पनि ।
नागकुण्ड–कुशकुण्ड धेरै कुण्ड अनि ।।
हिमालको खोंचभित्र धेरै सरोबर ।
यति सुन्दर पुण्यभूमि अन्त कहाँ छ र ।।
सरोबर सबै घुम्नू बादलजस्तै बनी ।
हिमाललाई चुम्बन गर्नू पवनजस्तै बनी ।।
अलि उता गएपछि पुग्नू लाङटाङ गाउँ ।
हिमालैको सेरोफेरो कति राम्रो नाउँ ।।
भूकम्पको बर्बादीलाई हेर्नू गाउँभरि ।
चित्रहरु खिँच्दै गर्नू सबै वरिपरि ।।
लाङटाङको गाउँमा बस्नू खानू उवा–सिस्नो ।
कल्पनामा ल्याइरहनू आकाश छुने लिस्नो ।।
नौलो–नयाँ विज्ञानको चिन्तन–मनन् गर्नू ।
मानव–कल्याण कहिले हुन्छ स्मृतिमा भर्नू ।।
गाउँभरि भनिदिनू आफ्नै दीप बाल ।
कालो–मैलो–अँध्यारोलाई सधैं–सधैं फाल ।।
बुद्धदेवको अमरवाणी आफैं दीप बन ।
विज्ञानको बिऊ रोप्न यो धर्तीलाई खन ।।
प्रकृतिको शौन्दर्यता झरनातिर प्रीति ।
नयाँ वर्ष गाउँभरि लाउनू माया–प्रीति ।।
आविष्कार गर्नू भन्नू नयाँ–नयाँ सृष्टि ।
हिमालतिर लगाइरहनू चम्किला ती दृष्टि ।।
लाङटाङ हिमाल, गणेश हिमाल तारा छुन्छन् राति ।
हिमाल–तराई एउटै आवाज नेपालीको जाति ।।
हिमालबाट बग्दै जान्छन् नदी तराईतिर ।
हाम्रो हिमाल धेरै माथि संसारैको शिर ।।
तल झर्नू स्याफ्रुबेंसी हुँदै लाङटाङ ।
बाटोभरि भेटिइरहन्छन् सयौं फूलका झाङ ।।
उत्तरतिर सिधै लाग्नू रसुवाको गढी ।
गढीनजिक गई बस्नू दुई दिनभन्दा बढी ।।
पहाडको फेदी दोभान रसुवाको गढी ।
सधैंभरि हेरिरहनू समयको घडी ।।
रेल पनि आइपुग्ला त्यहाँ कुनै दिन ।
हाम्रो मित्र उत्तरचिर ठूलो महाचीन ।।
मितेरीको पुललाई नमन गर्दै फर्क ।
वारिपारि हेर्दै आऊ भेंडा चर्ने खर्क ।।
सुरुङबाट रेल आउने सर्वे गर्नू त्यहाँ ।
रेलमा चढ्ने सपना थियो कहिले आउला यहाँ ।।
रेल चढ्ने बाटो होला त्रिशुलीको तीर ।
एउटा युगमा पक्कै आउँछ किन गर्नु पीर ।।
त्रिशुलीको तीरैतीर आउनू झर्ना हेर्दै ।
विद्युत्शक्ति कति आउँछ गहिरिएर हेर्दै ।।
चिलिमेको चमत्कार इतिहासमा लेख ।
निर्माणाधीन अरु कति सबै–सबै लेख ।।
त्रिशुलीको प्रवाह हेर्दै विद्युत्गृह जाऊ ।
गाउँ पनि डुल्दै आऊ नजर त्यता लाऊ ।।
अघि बढ दक्षिणतिर बेत्रावती हेर्दै ।
सुन्दर पहाड गाउँ–बेंसी नयनले घेर्दै ।।
बेत्रावती लिखुवारि सुरुङमार्ग हुँदै ।
केरुङबाट रेल आउँछ नारायणथान हुँदै ।।
रेलको झ्यालमा बसी–बसी धुलिखेल जाउँला ।
खुशीयाली मनाउँदै सुन्दर गीत गाउँला ।।
लामो तुफान रेलको यात्रा जोगबनी जोड्ने ।
रेलको यात्रा धुलिखेलको घन्टा–घन्टा छोड्ने ।।
आउँदा–जाँदा गल्छीनेर खानीखोला संगम ।
मुग्निनेर पुग्दाखेरि मस्र्याङ्दीको संगम ।।
शक्तिकी स्वरुपा छिन् मनोकामना देवी ।
नयाँ तिमी रहेछौ अनन्तको सेवी ।।
सेती–काली गण्डकीका संगम हुँदै–हुँदै ।
देवघाट–नारायणघाट अमृतजल छुँदै ।।
भरतपुर–सौराहा हुँदै पुग्नू ठोरी जंगल ।
ठोरीदेखि सुस्ता पुग्नू अनि हुन्छ मंगल ।।
ठोरीदेखि रसुवागढी बने हुन्थ्यो बाटो ।
रेलै चले कति राम्रो मोटरको साटो ।।
दक्षिणको सीमैसीमा जानू ठोरीदेखि ।
सुस्तानजिक सीमानाको इतिहास लेखी ।।
त्रिवेणीमा नुहाउनू–धुवाउनू भजनमा नाच्नू ।
वरिपरि सेरोफेरो मायाप्रीति गाँस्नू ।।
यात्रा गर्नू गोर्खातिर राम शाहको गाउँमा ।
बीच बाटोमा फूल चढाउनू कविहरुको नाउँमा ।।
राष्ट्रकवि माधव हुन्, आदिकवि भानु ।
जनकवि गोकुल जोशी झुप्रो थियो सानु ।।
केवलपुरे किसान अनि धर्मराज थापा ।
कहिलेकाहीं गीत गाउन पुगिरहन्थे झापा ।।
लेखनाथ पौड्याल कास्कीका कवि शिरोमणि ।
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि ।।
पारिजात, झमक र अनि कृष्ण सेन ।
कहिल्यै पनि भुल्नुहुन्न कविहरुको देन ।।
अलिमियाँ लोककवि पोखराका शान ।
गीतको भाका समाजलाई दिइरहन्थे दान ।।
गीत गाउँदै ऐतिहासिक गोर्खा पुगीकन ।
वीरहरुको जन्मभूमि गौरव बढ्ने झन ।।
वीरांगना–वीरहरुको गोर्खाली हो नाउँ ।
संसारभरि नाउँ चल्यो ऐतिहासिक ठाउँ ।।
दरौंदीको प्रवाह पनि सुसाइरहन्छ सधैं ।
उत्तरतिर हिमाल पनि झुकिरहन्छ सधैं ।।
बूढी रहिछन् गण्डकी त दरौंदी चाहिँ सानु ।
त्यतातिर सबले भन्छन् लार्के भञ्ज्याङ रानु ।।
हिमनदीको किनार–किनार उत्तरतिर जानू ।
बाटोभरि भोक लाग्दा जौको सातू खानू ।।
बारपाक, लाप्राक र सामागाउँ हुँदै ।
गाउँवस्ती दुःखी किसान हृदयले छुँदै ।।
लार्केभञ्ज्याङ पुगेपछि ढोग्नू त्यहाँको जिमी ।
हिमालजस्तै उभिएर ज्योति बल्नू तिमी ।।
सूर्यकिरण हिमालमा तेजमय कस्तो ।
कविहरुले सधैं देख्ने सुन्दर सपनाजस्तो ।।
सीमापारि लालीगुराँस मुस्कान दिनू प्रेमको ।
लार्केभञ्ज्याङ गोर्खालीको मुटु रहेछ प्रेमको ।।
लार्केबाट तल झर्नू आइपुग्नू गोर्खा ।
तिम्रो यात्रा छिट्टै गर्नू नलाग्दैमा बर्खा ।।
सर्वे गर्नू, तस्बिर खिँच्नू सारा गाउँको पनि ।
छिटो–छिटो अघि बढ्नू पोखरामा अनि ।।
फेवाताल–बेगनास–रुपा पोखराका आँखा ।
उत्तरतिर देखिइरहन्छ हिमाली त्यो पाखा ।।
तालैतालमा हिमालको सुन्दर दर्पण–छायाँ ।
अन्नपूर्ण–माछापुच्छ्रे कस्तो–कस्तो माया ।।
मुस्ताङ जिल्ला लोमान्थाङ कोरलाको नाका ।
हिँड्दा–हिँड्दा देखिन्छन् नि भीरमौरीका चाका ।।
भीरैभीरमा शिलाजित कस्तो चट्टान होला ।
फर्की आउँदा औषधिले भरिल्याउनू झोला ।।
बाग्लुङ–बेनी–जोमसोम–लोमान्थाङ हुँदै जानू ।
प्रकृतिको प्रसाद भनी गुलियो मह खानू ।।
मुक्तिनाथ मन्दिर जानू फूलको गुच्छा लिई ।
मुक्तिनाथको मन्दिरबाट ज्ञानको अमृत पिई ।।
छिट्टै पुग्नू नयाँ वर्ष कोरलाको ठाउँमा ।
ज्ञानको प्रसाद बाँड्दै जानू विकट–विकट गाउँमा ।।
कोरलाको सेरोफेरो मुस्ताङको धर्ती ।
युरोनियमको ऊर्जा राख्ने मुक्तिनाथको धर्ती ।।
तस्बिर खिँच्नू दिल खोली योजनाको गुरु ।
के–के रहेछन् कामहरु गर्नुपर्ने सुरु ।।
धर्तीभित्र युरेनियम माथि सुन्दर पाखा ।
युरेनियमको खानीभित्र चम्किरहने आँखा ।।
हेर्दै फर्क शालिग्राम कालीकगण्डकीको ।
विद्युत्गृह कस्तो रहेछ कालीकगण्डकीको ।।
विद्युत्शक्ति कतिवटा कहाँ–कहाँ हुन्छन् ।
योजनाको चित्र कोर्नू, कहिलेसम्म हुन्छन् ।।
तानसेन–पाल्पा माडी हुँदै झर्नू बुटवल ।
सिद्धबाबा मन्दिरनेर पिउँनू अमृतजल ।।
भैरहवाको बाटो हुँदै सुनौलीको सीमा ।
जानू तिमी होसपूर्वक गर्दै–गर्दै बीमा ।।
सुनौलीको सीमादेखि रसुवाको गढी ।
रेलको लिक बन्यो भने भलो हुन्थ्यो बढी ।।
रसुवाको पहाड हुँदै रेल पोखरामा ।
पोखराको रफ्तार हुँदै पुगोस् लुम्बिनीमा ।।
गौतम बुद्ध विमानस्थल भैरहवाको मुटु ।
सिद्धार्थको जन्मभूमि एशियाको मुटु ।।
सीमाबाट फर्की आउनू छिट्टै कपिलवस्तु ।
अविनाशी ज्योति बल्यो धन्य कपिलवस्तु ।।
ज्योति बाल्ने गौतम बुद्ध भौतिकवादी कपिल ।
प्रकृतिमा दर्शन छाड्ने ऋषिमुनि कपिल ।।
अँध्यारोमा आफैं बली ज्ञान दिने बुद्ध ।
चेतनाको दियो बल्ने सधैं–सधैं शुद्ध ।।
यस्तो देशमा जन्म लिन भाग्यले पो पाइन्छ ।
संसारभरि चेतनाको नौलो गीत गाइन्छ ।।
आनन्दको फूलबारीमा रम्ने जाति हाम्रो ।
ज्ञानैज्ञानको उज्यालोलाई भुल्ने जाति हाम्रो ।।
शांख्यदर्शन जन्म्यो हाम्रो कपिलवस्तुबाट ।
दर्शनशास्त्र फैलिगयो कपिलमुनिबाट ।।
तिलौराको कोट हुँदै तौलीहवा जानू ।
जंगेखम्बा हुँदै–हुँदै कृष्णनगर जानू ।।
सीमैसीमा अघि बढ्नू कोइलावासतिर ।
वनैवन अघि बढ्नू दक्षिण कुसुमतिर ।।
विनौना र वैजापुर सोझा किसानवस्ती ।
छाप्रा–झुप्रा धेरै छन् त्यहाँ गरिबका वस्ती ।।
राप्ती नदी पार गर्नू गर्मी खाँदै–खाँदै ।
पसिनाको धारा लाग्छन् उता जाँदा–जाँदै ।।
जाँदा–जाँदा भेटिन्छन् जमुनाह गाउँ ।
भन्सार अड्डा त्यहीं नजिक रुपैडिया नाउँ ।।
इशा, कृष्ण, जयन, बुद्ध, नानक सबै एउटै ।
अल्लाह, ईश्वर, ओमकार, विज, ब्रह्म एउटै ।।
ग्रहहरु घुमिरहने नीलगगन एउटै ।
प्रकृतिको नियम पनि ब्रह्माण्डमा एउटै ।।
यो ज्ञानको मन्त्र जप्दै प्रेम फैलाऊ त्यहाँ ।
जाति–पाति, भेद–भाव सबै मेटाऊ त्यहाँ ।।
राप्तीनदी मुहान हुँदै नहर–कुलो पनि ।
सिँचाई हुन्छ सुख्खा भूमि हेर्दै जानू अनि ।।
खस–आर्य–मुशलमान–मंगोल सबै मानव ।
सबैले मारिदिनू मनभित्रको दानव ।।
तेरो–मेरो निजी स्वार्थ छाड भन्नू त्यहाँ ।
दुःखी कोही हुनुहुन्न धर्तीभरि यहाँ ।।
भूपू सैनिक वस्ती हुँदै सीमैसीमा जानू ।
ताराताल हुँदै–हुँदै सानोसिरी जानू ।।
दक्षिणी त्यो वर्दियाको ठूलो, लामो पुल ।
बास बस्दा मच्छड लाग्ला, सँगै लानू झुल ।।
कर्णालीको पुलबाट ठाकुरद्वारा हुँदै ।
उत्तरतिर अघि बढ्नू भुरीगाउँ हुँदै ।।
निकुञ्जको सुन्दर वन हेर्दै जानू माथि ।
जंगली ती जनावर मिलिजान्छन् साथी ।।
सुर्खेतको मैदान हुँदै जानू कर्णालीमा ।
कति स्वच्छ पानी त्यहाँ निहाउनू कर्णालीमा ।।
जुम्ला जाने बाटो त्यही हो दैलेख मान्मा हुँदै ।
जुम्लाकोटा सिनियाखोला, गमगढी हुँदै ।।
कर्णालीको खोलैखोला मुगु गाउँको बाटो ।
पाएसम्म फलफूल खानू भात–रोटीको साटो ।।
मुगु जिल्ला उत्तर सीमा नग्चा भन्ने ठाउँ ।
हिउँदभरि हिउँ पर्छ अति विकट गाउँ ।।
नप्चाबाट फर्किएर आउनू रारा ताल ।
सपना चाहिँ सजाइरहनू गतिशील चाल ।।
सूर्यको किरणसँगै पश्चिम हुम्लातिर ।
हेर्दै–हेर्दै अघि बढ्नू हिमगिरिको शिर ।।
उठाई ल्याउनू मुगुबाट सञ्जीवनीको पहाड ।
बिऊ रोप्नू, हुर्काउनू र भर्नू सबै पहाड ।।
बगैंचामा सञ्जीवनी हिमालमा ज्योति ।
सञ्जीवनी दिउँला उता साटी ल्याउँला मोती ।।
सञ्जीवनी उम्रिरहने विशाल हिमगिरि ।
हिमताल, सुन्दर दृश्य झरना बग्ने गिरि ।।
हिमालको फेदी–फेदी जानू सिमीकोट ।
हुम्ला जिल्ला उत्तरतिर विकसित भोट ।।
लामागाउँ हुँदै–हुँदै पुगिन्छ नि हिल्सा ।
तल–माथि तस्बिर खिँच्नू दुई दिन बस्नू हिल्सा ।।
खानू त्यहाँ जौको सातू अनि लेकको आलु ।
टोपी लाउनू उनको त्यहाँ चिसो होला तालु ।।
अझ जानू पश्चिमतिर ताक्लाकोट नजिक ।
आँखा लाउनू उत्तरतिर कैलाश पर्वत नजिक ।।
कैलाश पर्वत फेदीमा छ मानसरोवस ।
राक्षसतालमा सधैं चल्छ हावा सररर ।।
कैलाश पर्वत माथितिर सेतो कुहिरो देख्ने ।
सेता हाँस कुण्डभित्र स्मृतिमा लेख्ने ।।
चेतनाको नीलकमल फुलिरह्यो त्यहाँ ।
नयाँ वर्ष भमरा झैं भुलिरह्यो त्यहाँ ।।
हिल्सावारि केही छैन, पारि पीच बाटो ।
प्रकाशसरि यता पनि नयाँ–नयाँ बाटो ।।
योजनाको ठूलो पुस्तक बनाऊ नयाँ वर्ष ।
कार्यनयन द्रुत गति अनि हुन्छ हर्ष ।।
दामिलीगोठ, गोम्बा हुँदै झर्नू डडेल्धुरा ।
गौरीफन्टा पुगेपछि हुन्छ यात्रा पूरा ।।
डडेल्धुरा वनबाटिका प्रकृतिको मोती ।
फैलाउँदै आउनू तिमी अमर प्रेमको ज्योति ।।
दिपायल र साँफेबगर दक्षिण कञ्चनपुर ।
समृद्धिको दिन आउन छैन अब दूर ।।
टनकपुर–पञ्चेश्वर योजनाको बत्ती ।
दीर्घकालीन असर पर्ला नबिग्रियोस् मति ।।
मेचीपश्चिम हेर्दै–हेर्दै बेलबाससम्म ।
ओलाङचुङ्गोलाबाट ताक्लाकोटसम्म ।।
प्रकृतिको वसन्तमा हरेक वर्ष आउनू ।
सुन्दर गीत हिमालमा लाखौं वर्ष गाउनू ।।
शंखधर साख्वा अनि गौतम बुद्ध पनि ।
जन्मिरहून् यो धर्तीमा अरनिको पनि ।।
पारिजात, पासाङ ल्हामु अनि युगमाया ।
आइरहून् सन्देश दिन घाम–पानी र छायाँ ।।
म्याडम क्युरी, आइन्स्टाइनका औतार जन्माइदिनू ।
सुदर्शन चक्र सधैंभरि साथमै राखिलिनू ।।
अन्वेषण र आविष्कारको बढ्दै गरोस् गति ।
जन्म लिऊन् यही धर्तीमा वैज्ञानिक जति ।।
प्रकृतिको चक्रजस्तै घुमी–घुमी आउनू ।
आँशु बग्ने गालाहरुमा प्रकाश भई छाउनू ।।
प्रत्येक वर्ष वसन्तमा उनीराख्छौं माला ।
स्वागत गर्दै, गीत गाउँदै शिरमा तिम्रो माला ।।
नयाँ–नयाँ चेतनाको पवन भई आउनू ।
वैज्ञानिक खोजी गर्ने प्रज्ञा भर्दै आउनू ।।
स्वर्णिम युग लिई आउनू घुम्नू धर्तीमाथि ।
सूर्यजस्तै उदाइरहनू हिमालहरुमाथि ।।