newskoseli.Com

कालाबजारियाका गोदाम माओवादीले तोड्ने !

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले उपभोक्तालार्इ मार पार्दै अाएका कालाबजारियाहरूका गोदाम तोडिदिने कार्यक्रम तय गरेको खबर प्राप्त भएको छ ।

सो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले ‘गोदाम खोल’ अभियानका नाममा जनताका दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुलेर उपभोक्ताको ढाड सेक्ने कालाबजारियाहरू आदिका गोदाम, होलसेल र पसलहरूमाथि धावा बोल्ने निर्णय लिएको एक नेताले न्युजकोसेलीलार्इ बताएका छन् ।

धमाधम आइरहेका अनेकथरी चाडपर्व, जनसंख्याको ठूलो हिस्साले मनाउने दशैं, तिहार, छठ, ल्होछार, रमजानजस्ता चाडपर्वको अवसर छोप्दै उपभोक्तालार्इ ठग्नेहरूमाथि जनताकै व्यापक साथ र सहयोग लिएर ‘कारबाही’ गर्ने निर्णय लिइएको ती नेताले बताए ।

न्यूनतम बजारभाउ कायम गराउन सम्बद्ध उत्पादक, वितरक, व्यापारी  एवं सेवाप्रदायकलार्इ बाध्य पार्न, सरकार तथा सम्बद्ध सरकारी निकायको नालायकीपनलार्इ उदांगो पारेर जनहितमा सरिक गराउने प्रयास गर्न र उपभोक्ताका दैनिक जीवनको कठिनाइ कम गर्न देशव्यापीरूपमै यस्तो अभियान थालिने माओवादी नेताको दावी छ ।

वजारमा सर्वसुलभ रूपमै उपलव्ध हुने र हुनुपर्ने दैनिक उपभोग्य वस्तु लुकाएर राखेका गोदाम पहिचान गरी तोडेर उपभोक्तालाई सर्वसुलभ एवं सुपथ मूल्यमा वितरण गराउने अवस्था सिर्जना गर्नु नै आफ्नो नयाँ अभियानको उद्देश्य रहेको ती नेताले बताए ।

राज्यसंयन्त्रकै आडमा तथा गुन्डागर्दीको सहारामा लुकाइराखिएका गोदाम खोलेर जनजीवन सहज पार्ने अभियानमा बाधा पुर्याइए जनताका आधारभूत आवश्यकताका त्यस्ता वस्तुहरू कब्जामा लिर्इ वितरण गरिने माओवादी नेताको दावी छ ।

खाद्यन्न, लत्ताकपडा, ऊर्जाजन्य सामग्री, ढुवानी तथा यातायात इत्यादिमा न्यूनतम मूल्य निर्धारणको अवस्था पैदा गर्ने, उपभोग्य अवधि नाघेर एक्स्पायर भएका वस्तु बिक्रीवितरणमा रोक लगाउने आफ्नो अभियानको उद्धेश्य रहेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्–

के गर्दैछ विप्लव माओवादी ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर