newskoseli.Com

यस्तो छ हास्यकलाकार टोलीको चलचित्र ‘छक्कापन्जा’ ?

वैदेशिक रोजगारीको विषयमा यसअघि बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका जस्ता विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर, शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ भने यी विषयभन्दा थोरै भिन्न विषयवस्तुमा केन्द्रित छ ।

पूर्ण हास्यरसमा बनाइएको चलचित्रमा वैदेशिक रोजगारीपछि गाउँघरमा उत्पन्न हुने विकृतिलाई देखाइएको छ । कथा मूलतः सुदूरपश्चिम क्षेत्रको एउटा गाउँमा केन्द्रित छ । सोही क्षेत्रको भाषाशैलीलाई संवादमा अपनाइएको छ ।

कथा यस्तो छ– रजौटा खानदानमा हुर्किएको ‘भगवान्’ आफूलाई अझै राजा नै मान्छ । उसका उरन्ठेउला साथीहरुले उसलाई राजा नै भनेर बोलाउँछन् । द्वन्द्वका बेला उसले बाबु गुमाउनुपरेको छ । विधवा आमा एक्ली छिन् । तर उसलाई त्यसको केही पर्वाह छैन । ऊ केही काम गर्दैन । जागिर पनि खान मन गर्दैन । पुर्खौली सम्पत्ति प्रशस्त भएको ऊ साथीहरुका लागि रक्सी र गाँजामा जति पनि पैसा खर्च गर्छ र आफ्नो पछि–पछि उनीहरुलाई लगाउन बाध्य गराउँछ ।

आफू पनि बिहे नगर्ने र साथीहरुलाई पनि गर्न नदिने ऊ केही साथीको भएको घरबार पनि भाँड्ने खालको हुन्छ । बिहे नगरे पनि ऊ ‘छक्कापन्जा’मा भने रमाउने खालको हुन्छ । जिन्दगीभर औपचारिक बिहे विरोधी भगवान् अन्ततः कसरी बिहेको चङ्गुलमा फस्छ र त्यसपछि उसले कस्ता उतार–चढाव भोग्छ, त्यो चलचित्रले बताउँछ ।

चलचित्रको मूल सन्देश अरूको जीवनमा छक्कापन्जा गर्दा आफ्नो जीवनमा पनि छक्कापन्जा आइलाग्छ भन्ने हो । त्योबाहेक गरिबी र बेरोजगारी तथा समाजमा बढेको देखासिकीका कारण बाध्य भएर विदेसिनु परेका युवाका पीडा पनि यसमा छन् ।

निर्देशक निरौला वैदेशिक रोजगारीको कथा नै खोज्ने क्रममा यस्तो चलचित्र बनेको बताउँछिन् । उनी भन्छिन्– “नेपाली युवा विदेश जाने क्रम बढेसँगै देशमा रेमिट्यान्स त भित्रिएको होला तर त्योभन्दा धेरै क्षति समाजलाई पुगेको छ, यस्तै वास्तविकता देखाउन खोजिएको हो यस चलचित्रमा ।”

दुई घन्टा १५ मिनेट लामो यो चलचित्रको अवधिभर दर्शक प्रायः हरेक संवादमा खित्का छोड्न बाध्य हुन्छन् । कथा, पटकथा, अभिनय, सङ्गीत आदि धेरै पक्षमा अब्बल भए पनि चलचित्रको सबैभन्दा सबल पक्ष संवाद नै हो ।

चलचित्र चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले निर्माण गरेका भएर पनि होला, यो चलचित्र हाँसोमय बनेको छ । चलचित्र गिरी, निरौला र निर्मल शर्मासहितका हास्यकलाकारको टोलीले निर्माण गरेको हो ।

चलचित्रमा गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले पनि अभिनय गरेका छन् । आर्यन सिग्देलले अतिथि कलाकारको भूमिका निर्वाह गर्दा निर्देशक निरौला समेत छोटो दृश्यमा देख्न सकिन्छ ।

चलचित्रका हरेक संवादमा दर्शक खित्का छाडेरै हाँस्छन् । निरौलाले पहिलोपटक निर्देशन गरेको चलचित्र हो यो तर निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् । संवादमा पनि सफल हास्य टेलिशृङ्खला ‘तीतो सत्य’ र त्यसका निर्देशक गिरीको झल्को प्रशस्त आउँछ । ‘यसमा निरौलालाई गिरीको सहयोग पक्कै भएको छ’ चलचित्र समीक्षकहरु भन्छन् ।

आइतबार साँझ राजधानीको सिटी सेन्टरमा भएको विशेष प्रदर्शनीमा राजनीतिज्ञ, व्यवसायी, चलचित्रकर्मी, समीक्षक, पत्रकार गरी सबै क्षेत्रका व्यक्ति चलचित्र हेर्न पुगेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिँदै भने– “फुर्सद मिलेमा म त फेरि दोहोर्याएर हेर्न आउँछु ।”

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भने– “धेरैपछि चलचित्र हेर्न हलमा आएको, पेट मिचीमिची हाँसें ।” यसअघि यही टोलीले बनाएका चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ ले सफलता पाइसकेकाले यो पनि सफल हुने अनुमान चलचित्र समीक्षकले गरेका छन् ।

चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, विपीन मल्लको सम्पादन तथा दीपक शर्मा र राजनराज शिवाकोटीको सङ्गीत छ । यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै चर्चित बनिसकेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर