newskoseli.Com

युक्रेनी विद्रोहीद्वारा एकतर्फीरुपमा युद्धबिराम घोषणा

पूर्वी युक्रेनमा द्वन्द्वरत विद्रोही नेता अलेक्जेन्डर जाखाचेन्कोले मङ्गलबार एक विज्ञप्ति जारी गरी बुधबार मध्यरातिबाट लागू हुनेगरी आफ्नो समूहले एकतर्फीरुपमा युद्धबिराम गरेको बताएका छन् ।

रसिया पक्षधर पृथकतावादी विद्रोही नेताबाट आएको यो घोषणा युक्रेनमा जारी दुई वर्ष लामो द्वन्द्व अन्त्य गर्दै सरकारी पक्ष तथा विद्रोहीबीच देखिएको मतभिन्नता समाधान गर्ने महत्वपूर्ण कदम हुनेछ ।

सन् २०१४ को अप्रिलमा सुरु भएको रसिया पक्षधर युक्रेनी विद्रोही तथा सरकारी सेनाबीच भएको द्वन्द्वका क्रममा नौ हजार ५०० युक्रेनी नागरिकको मृत्यु भएको छ ।

युक्रेन र पृथकतावादी समूहले गत वर्ष बेलारुसको राजधानी मिन्स्कमा शान्ति सम्झौता गरे पनि दुवै पक्षबाट यसको पालना हुनभने सकेको थिएन ।

सम्झौतापछि पनि दुवै पक्षबाट सहमतिको पालना गर्नुको सट्टा बेलाबेला भएका झडपमा सरकारी सुरक्षाकर्मी तथा विद्रोही पक्षधर युक्रेनी नागरिकको ज्यान गएको थियो ।

विद्रोही नेता जाखाचेन्कोद्वारा जारी गरेको एक रसियाली टेलिभिजनमार्फत प्रसारित वक्तव्यमा युक्रेनी अधिकारीले समस्यालाई शान्तिपूर्णरुपमा समाधान गर्न इच्छा नदेखाएकाले आफ्नो समूहले एकतर्फी रुपमै युद्धबिरामको घोषणा गरेको बताइएको छ ।

आफूले विद्रोही सेनालाई बुधबार रातिबाट लागू हुनेगरी युद्धबिराम गर्न आफ्नो पक्षलाई निर्देशन दिइसकेकोे भन्दै सरकारले पनि युद्धबिरामका लागि पहल थाल्नेमा विश्वास व्यक्त गरेका छन् ।

विद्रोही मिन्स्क सहमति पालना गर्न पूर्णतया तयार रहेको बताउँदै आफूले सहमति नै एकमात्र समाधान देखेको नेता जाखाचेन्कोले वक्तव्यमा भनिएकाे थियाे । विगत २४ घण्टाभित्र पूर्वी युक्रेनमा विद्रोही र सरकारी सेनाबीच भएको झडपमा ३ सरकारी सेनाको मृत्यु भएको छ भने १५ सैनिक घाइते भएका छन् ।

त्यसैगरी विद्रोहीले उक्त भिडन्तमा आफ्ना ३ सहकर्मी गुमाएको जनाएको छ । रासस/एपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर