
संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि उपप्रमुख राम्जी ऐजेलदिन राम्जीले बिहीबार सिरियामा करिब एक हप्ता लामो युद्धबिरामपछि अचानक सुरु भएको युद्ध अन्त्यका लागि केही हप्ताभित्र पुनः वार्ता सुरु हुने विश्वास व्यक्त गर्नुभएको छ ।
द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गराउने प्रयास सिरियाका लागि राष्ट्रसङ्घ प्रमुख स्टेफेन डे मिस्टुराले जारी राख्नुभएको र केही हप्तामा वार्ताको वातावरण हुनेमा आफू विश्वस्त रहेको उहाँका भनाई थियोे ।
गत हप्ता संयुक्त राज्य अमेरिका तथा रसियाको पहलमा भएको युद्धबिराम दुई देशबीचको असझदारीका कारण मङ्गलबारदेखि भङ्ग भएको भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपनि राष्ट्रसङ्घ प्रतिनिधि राम्जीले भने यसको खण्डन गर्दै दुवै देश शान्ति वार्ताका लागि दृढ रहेको बताउनुभयो ।
पछिल्ला दिनमा जे जस्ता घटना विकसित भए पनि राष्ट्रसङ्घले द्वन्द्व अन्त्य गर्ने राजनीतिक प्रयासलाई जारी राख्दै छिट्टै सिरियामा शान्ति सम्झौता गराउने उपप्रमुख राम्जीले बताउनुभयो । रासस/एएफपी