newskoseli.Com

‘प्रसाद’ शीर्षकमै अस्पतालमा २ लाख खर्च !

गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च चाहिँ प्रशस्त भएको पाइएको छ । अस्पतालले दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै १ लाख ९५ हजार ५ सय ७७ रूपैयाँ खर्च गरेको देखिएको छ ।

अस्पतालभित्र रहेको प्रहरी बिटले गरेको पूजा खर्चको बिल भने अझै आउन बाँकी रहेको अस्पतालको लेखा शाखाले जनाएको छ । अस्पताल परिसरमा जलदेवीको मन्दिर छ । मन्दिरमा पूजा गर्न सुरक्षागार्ड, कर्मचारी, सवारी चालकलगायतलाई प्रसादका लागि अस्पतालले रकम बाँड्ने गर्दछ ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार, दसैँमा मन्दिरमा पूजा र प्रसाद शीर्षकमा कर्मचारीका लागि १ लाख २५ हजार, सुरक्षागार्डका लागि ३० हजार, सवारी पूजाका लागि २० हजार र विश्वकर्मा पूजा गर्न चालकलाई २० हजार ५ सय ७७ रूपैयाँ दिइएको देखिएको छ ।

गत वर्ष सोही पूजाका लागि ८७ हजार ५ सय खर्च गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशकको सोझोपनबाट फाइदा उठाउँदै कर्मचारी, सुरक्षागार्ड र चालकले मनोमानी रकम लगेको अस्पतालकै कर्मचारी बताउँछन् ।

अस्पतालका कर्मचारीले मैत्रीपूर्ण फुटबल खेल्ने भन्दै जुत्ता, टिसर्ट, मोजा, ट्रयाकसुटलगायतमा १ लाख रूपैयाँभन्दा बढी खर्च गरेको, धरानमा चिकित्सक सङ्घको कार्यक्रमका लागि भन्दै १ लाख रूपैयाँ लगेको, हरेक वर्षझैँ यस वर्ष पनि वृत्तचित्र बनाउने भन्दै बिनाप्रतिस्पर्धा १ लाख ५० हजार दिइएको, एपोलो अस्पतालका चिकित्सकहरुसँग दुई वर्षअघि अन्तर्क्रिया गर्दा होटल होलिडेजमा भएको खर्च विभिन्न शीर्षक बनाएर भुक्तानी गर्न थालिएको स्रोतले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले आफूकहाँ आएका बिलको कतिपयको भुक्तानी भएको र कतिपय भुक्तानी हुने क्रममा रहेको बताए । अनावश्यक खर्च भएको भए समिति बनाएर छानबिन गर्ने उनले बताए ।

पछिल्लो समय व्यवस्थापन चुस्त दुरुस्त नहुँदा एसियाकै नमूना अस्पतालका रुपमा चीन सरकारले निर्माण गरिदिएको क्यान्सर अस्पताल अस्तव्यस्त हुन थालेको सर्वत्र चिन्ता गर्न थालिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर