
मेरो घरमा हुलाकी भर्खर आएको छ
कसैबाट मेरो नाममा खबर आएको छ ।।
म यता मृत्युको मुखमा पुग्न लाग्दै गर्दा
बोल्दै नबोली बैगुनी सहर आएको छ ।।
कदर गरुँ या बदर प्रेम म दोधारमा छु
फूलको सट्टा उपहार पत्थर आएको छ ।।
तिमिले छोडेर गएको दिनदेखि मेरो
कोमल हृदयमा निकै निडर आएको छ ।।
जब मैले वसन्त हरियाली खोजी गर्दा
जताततै मरभुमी अनि बगर आएको छ ।।
– सपना घिमिरे
दर्बुङ, गोरखा