विश्वका करिव २ सय देशहरु भूगोलले कोही साना छन्, कोही ठूला । कुनै देशमा समस्या धेरै होलान् र कहीं थोरै । कोही विकासमा दुई पाइला अगाडि छन् त कोही पछाडि ।
र, कतिका स्वभाव, समस्या र मुद्धाहरुमा केही समानता हुन सक्लान् । भूमण्डलीकरणको वर्तमान युगमा कतिपय भूराजनीतिक प्राथमिकता र स्वार्थहरु पनि मिल्न सक्छन् । तर, विश्वमा नमिल्ने एउटै मुद्धा हो– राष्ट्रियता र सार्वभौमिकता । यही भिन्नताले संसारका सबै राष्ट्रलाई अलग राष्ट्रका रुपमा पहिचान दिएको छ । सबैले स्वीकारेको वास्तविकता पनि यही हो ।
वर्तमान विश्वमा यी विविध राष्ट्रियता र सार्वभौमिकता भएका राष्ट्रहरुका भूगोल र भावनालाई मिचेर कसैले सामिप्यता नाप्न खोज्यो वा सम्बन्धलाई अभिभाज्य बनाउन चाह्यो भने त्यो धृष्टता र द्वन्द्वको विजारोपणसिवाय केही हुन सक्दैन ।
यो कुरा विश्वका हरेक नागरिकहरुलाई थाहा छ । र, विश्व शक्तिराष्ट्र बन्ने दिवासपना देखिरहेको भारत, त्यहाँका नागरिकहरुलाई अझ बढी थाहा हुनुपर्छ । विश्वमै ‘एउटा शक्ति’ को रुपमा स्थापित भइसकेको पत्रकारिता (मिडिया पावर) र त्यसका अभ्यासकर्ताहरुलाई त अझ बढी थाहा हुनुपर्छ, किनकि जसले अरु शक्तिकेन्द्रहरु, राजनीतिक शक्ति (पोलिटिकल पावर) र व्यापारिक शक्ति (मार्केट पावर) ले समेत नदेखेका, नबुझेका वा नजरअन्दाज गरेका कुराहरुलाई पनि वस्तुनिष्ठ भएर बुझ्ने र बुझाउनुपर्ने अपेक्षा गरिन्छ ।
समाजमा विचार निर्माणका लागि सञ्चार माध्यमले अरु माध्यमभन्दा बढी सामर्थ्य राख्दछन् । बिग्रेको सम्बन्ध सुधार्न र सुध्रेको सम्बन्ध बिगार्नमा यिनको भूमिका अझ बढी शक्तिशाली र प्रभावकारी हुन्छ । यो पनि भारतीय पत्रकारिताका अभ्यासकर्ताहरुले अझ बढी बुझेको हुनुपर्थ्यो ।
जहाँसम्म नेपाल र भारतको सम्बन्धको कुरा छ, यसमा भारतीय सञ्चारकर्मीलाई राम्ररी थाहा हुनुपर्ने हो कि भारतलगायतका देशहरु ब्रिटिस साम्राज्यको उपनिवेशमा बाँच्दै गर्दा नेपाल मात्र एक स्वतन्त्र र सार्वभौम राज्य थियो । जतिबेला भारत उपनिवेशको बर्बरताबाट मुक्ति पाउनका लागि छट्पटाइरहेको थियो, साम्राज्यवादीहरुले भारतीय भूमिमा रगतको होली खेल्दै सीमा नाघेर नेपालमा बक्रदृष्टि गाडेका थिए, त्यस्तो बेला एक वर्षसम्म युद्ध लडेर उपनिवेश बन्नु नपर्ने इतिहास रच्ने वीर गोर्खाको देश हो नेपाल भनेर त्यहाँका पत्रकारहरुलाई जानकारी हुनुपर्थ्यो ।
हाम्रा आन्तरिक समस्या र असमानताहरु होलान् तर हामीले कहिल्यै पनि उसको जस्तो राष्ट्रियता धरापमा परेको अवस्था भोगेनौं । भारत केवल ‘रोटी र बेटी’ को नाममा नेपालमाथि गुन लगाएको आत्मरतिमा रमाइरहेको छ तर हामी नेपालीहरुले हिजो आफ्ना नेता विश्वेश्वरप्रसाद कोइराला र मनमोहन अधिकारीलगायतले भारतीय स्वतन्त्रता संग्रामका लागि जेलनेल खाएर र आज जम्मुकास्मिरको रक्षार्थ गोर्खा सैनिकको नाममा ज्यान गुमाइरहेका छौं । यो पनि भारतीय सञ्चारकर्मीहरुलाई राम्ररी थाहा हुनुपर्ने हो ।
नेपालमा अभूतपूर्व परिवर्तन भयो । एकैपटक राजतन्त्रको बिदाई, संविधानसभाबाट संविधान, धर्मनिरपेक्षता, गणतन्त्रात्मक व्यवस्था स्थापित गरियो । जसका लागि संसारका कतिपय राष्ट्रहरु विघटन भए, द्वन्द्व र असफलताको भुमरीमा गए । तर, नेपाल असफल हुनु परेन । यस्तो अवस्थामा पनि पूर्व, पश्चिम र दक्षिणमा करिव भूभाग जोडिएको देश भारतका मिडियाहरु जानीजानी बेखबरजस्तै छन् । तिनले भारतीय संस्थापनको अवैज्ञानिक ‘अडान’ र अप्रजातान्त्रिक बुझाइलाई चिर्न सकेनन् । बरु तिनलाई जम्मुकस्मिरको चीत्कार सामान्य र नेपालको मधेशी भूभागमा देखिएका असन्तुष्टि पहाडजस्तै लागे । तिनलाई बहुसंख्यक हिन्दू भएको हिन्दूस्तानको धर्मको सवाल कम र नेपालको धर्मनिरपेक्षताको सवाल बढी महत्वको लागिरहेको छ ।
तिनलाई गोर्खाल्यान्डको नाममा वर्षौंदेखिको आन्दोलन र त्यसमा ज्यान गुमाएका भारतीयहरुको रगतको मूल्य सस्तो र ‘एक मधेश एक प्रदेश’ को अव्यावहारिक मागको नाममा गुमाएको रगत बढी मूल्यवान र त्यहाँ उठेको आवाज बढी अर्थपूर्ण लागिरहेको छ । त्यसैले त भारतीय जनतामा नेपाली संविधानको विशेषताबारे सही सूचना सम्प्रेषण गर्ने हिम्मत गरिरहेका छैनन् उनीहरु । भारतीय संस्थापनले जस्तै उनीहरुको प्रधानमन्त्री बन्न अंगीकृत नागरिकताधारी सोनियाहरुलाई रोक्नु जायज र नेपाली अंगीकृत नागरिकताधारीहरुलाई त्यसका लागि रोक्नु नाजायज लागिरहेको छ ।
यही मानसिकताको प्रत्यक्ष छायाँ आइतबार (मंसिर ५ मा) राजधानीमा आयोजित ‘भारत–नेपाल सम्बन्ध र मिडियाको भूमिका’ नामक कार्यक्रममा समेत प्रष्ट देख्न पाइयो । पत्रकारको कार्यक्रम, त्यसमा पनि शक्तिराष्ट्र बन्ने दाउमा रहेको भारतीय पत्रकारको कार्यक्रम भनेपछि पंक्तिकार पनि त्यहाँ पुग्यो । धेरै अपेक्षा थिए– ठूलो देशका पत्रकारहरुका गहन अनुभव, पत्रकारिताको विकासको अवस्था, वर्तमान विश्वमा स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रतिको दृष्टिकोण, वस्तुनिष्ठ वास्तविकता, सन्तुलित र प्रभावकारी पत्रकारिताको अभ्यास, नेपाल–भारत सम्बन्धका नयाँ आयाम एवं सम्भावनाहरुका लागि पक्कै पनि केही खुराक पाइन्छ भन्ने अपेक्षा थियो ।
तर, नेपालको राजधानी काठमाडौंको मुटुमा रहेको राष्ट्रिय सभागृह, जसको केही पर जनताका छोरा कार्यकारी प्रमुखका रुपमा बस्ने सिंहदरबार छ । जुन देशमा सनातन धर्मको संरक्षण, विविध धर्म–संस्कृतिको स्वतन्त्रतासहितको धर्मनिरपेक्षता छ । जुन देशले कहिल्यै सार्वभौमसत्ता र राष्ट्रियताका लागि कसैको ‘गुलाम’ बन्नु परेन, त्यही देशको राजधानीमा दिनदहाडै सुनियो– ‘नेपाल विश्वको एक मात्र हिन्दू अधिराज्य हो !’, ‘अखण्ड भारतको एक हिस्सा हो नेपाल !!’, ‘भारतवर्षका सबै राष्ट्रहरुसहितको युनाइटेड नेशन हो भारत !!!’
पूर्वराजदूत, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राध्यापक, गन्यमान्य व्यक्तित्व, राष्ट्रको उपप्रधानमन्त्री, वरिष्ठ पत्रकारहरु र केही थान राजनीतिक दल तथा तिनका भ्रातृसंगठनका नेताहरुलाई साक्षी राखेर यस्तो उद्घोष गरे डा. आर.बी. सिंह नामका व्यक्तिले भारतीय पत्रकारहरुको कार्यक्रममा ।
लाग्यो– तिनले यस्तै ‘शंखघोष’ पाकिस्तान, श्रीलंका, अफगानिस्तान, म्यान्मार, बर्मा इतयादि देशमा गएर गर्दा हुन् त अवस्था के हुँदो हो ? शायद यही देश होला, जहाँ सार्वभौम राष्ट्रलाई भारतको हिस्सा भनेर ‘घोषणा’ गर्दा, संविधानमा भएको व्यवस्थालाई चुनौती दिँदा, सार्वभाैम राष्ट्रलाई दोहोर्याइ–तेहेर्याई ‘अखण्ड भारत’ मा गाभ्ने रहर छ भनेर दिनदहाडै ‘उद्घोष’ गर्दा पनि कसैले प्रतिकार गर्दैनन् ।
भारतीय संस्थापनको चाहनाअनुरुप मिडियाको आवरणमा ‘अखण्ड भारत’ अभियानको प्रचारप्रसार भइरहेको छ । भारतीय शासकवर्गले ‘नेसनल मिडिया फाउन्डेसन, नयाँ दिल्ली’ को ब्यानरमा नेपालजस्ता देशहरुको राष्ट्रियताप्रतिको निष्ठालाई मापन गर्न जानीजानी यस्तो अभिव्यक्ति दिएका हुन । त्यसैले त नेपालबाट घोषणा गरियो– यस्तै खालको अर्को कार्यक्रम अब भूटानमा हुनेछ ।
यसले निकै झस्काएको छ । र, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले केही महिनाअघि भारत–पाक सम्बन्धलाई जोडेर आफूलाई ‘नेपाल र भूटानजस्तो नठान’ भनेर दिएको अभिव्यक्तिले अहिलेसम्म गिजोलिरहेको छ ।
तर, हाम्रा नेता, बुद्धिजीवी, पत्रकारहरुलाई साक्षी राखेर ‘दुई पैसा’ को बुद्धि नभएका झोले पत्रकारहरु त यसरी हेप्छन् भने अरुले के गर्छन् होला ? भारतीयहरुले पनि भूगोलको आकार, पर्चाकारिताको आवरणमा भइरहेको पत्रकारितारुपी दरिद्र मानसिकताले कसरी सम्बन्ध प्रगाढ बनाउला ? धन्य हो हनुमानजी ।
र, यो पनि पढ्नोस्–
अझै नेपाल ‘एक मात्र हिन्दू अधिराज्य’ अनि ‘अखण्ड भारतको अभिन्न अंग’ हो ?