newskoseli.Com

निवृत्तिभरण क्याम्पले बढायो व्यापार

चाडवाड सकिएसँगै सुस्ताएको बजार केही दिनको लागि जुर्मुराएको छ । बिहीबारदेखि सुरु भएको निवृत्तिभरण क्याम्पका रकाण सदरमुकाममा चहलपहल बढेको छ ।

गाउँ–गाउँबाट दैनिक सयौं भूतपूर्व भारतीय सैनिक निवृत्तिभरण बुझन् आइरहेका छन् । १० दिन बस्ने क्याम्पबाट धवलागिरि क्षेत्रका करिब ८ हजार भूपू सैनिकले निवृत्तिभरण रकम बुझ्नेछन् । क्याम्पबाट  ६० करोड रुपैयाँ वितरण हुने जिल्ला सैनिक बोर्डले जनाएको छ ।

भूपू सैनिक र उनका आश्रित परिवारले प्रत्येक ६/६ महिनामा क्याम्पबाट निवृत्तिभरण बुझ्ने गरेका छन् । बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र गुल्मीका समेत भूपू सैनिकले क्याम्पबाट सेवा लिने गरेको जिल्ला सैनिक बोर्डका सचिव भीमबहादुर थापाले बताए । पछिल्लो समय बैंकबाट समेत निवृत्तिभरण बुझ्न सकिने व्यवस्था गरेपछि क्याम्पमा आउने भूपूको सङ्ख्या केही कम हुँदै गएको छ ।

१६ वर्षभन्दा बढी समय सेवा गरी अवकाश पाएका भूपू सैनिकलाई भारत सरकारले निवृत्तिभरण वितरण गर्दै आएको छ । समयक्रममा भूपूले पाउने निवृत्तिभरण रकम पनि वृद्धि हुने गरेको छ । भारत सरकारको सेवामा जीवनको महत्वपूर्ण समय खर्चेका भूपूलाई निवृत्तिभरण रकम बुढेसकालको सहारा बन्ने गरेको छ ।

अहिले घरमै बसीबसी पाएको निवृत्तिभरण रकमबाट उनीहरुले जीवन गुजारेका छन् । कतिपयको परिवार धान्ने उपाय पनि निवृत्तिभरण नै हुने गरेको छ । मल्म– ६ का भूपू सैनिक जङ्गबहादुर खड्का उमेर हुँदा गरेको दुःख र मेहनतको फल अहिले प्राप्त भएको बताउछन् ।

“क्याम्पमा आएर पैसा बुझ्दा खुसी र आनन्द महसुस हुन्छ,” उनले भने । १० दिनको अवधिमा हजारौं भूपू सैनिक सदरमुकाम आउँदा यहाँको व्यापार व्यवसायमा मद्यत पुगेको छ । होटल, रेस्टुराँमा यस अवधिमा पर्याप्त व्यापार हुने गरेको होटल ‘हिल भ्यूका’ सञ्चालक राज थापाले बताए । “होटल भरिभराउ हुन्छ, चाडवाडको समयपछि व्यापार हुने समय यही नै हो,” उनले भने ।

अहिले सदरमुकामका प्राय होटल भरिएका छन् । बजारमा लत्ताकपडा, खाद्यन्न लगायतका वस्तुको किनमेल ह्वात्तै बढेको छ । व्यापारीका अनुसार भूपू सैनिकले घरायसी सामान खरिद गरेर लैजाने गरेका छन् । शनिबार बन्द रहने बजार समेत निवृत्तिभरण क्याम्प अवधिभर खुल्ला रहने गरेको छ । बागलुङ नगरपालिका– ३ स्थित क्याम्प परिसरमा अस्थायी बजार नै लाग्ने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर