newskoseli.Com

क्युबाली नायक क्यास्ट्रोको निधनपछिको विश्वव्यापी प्रतिक्रिया

क्युबाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति ९० वर्षको उमेरमा निधन भएको खबर उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युबाको राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गर्दै भने– “क्युबाको क्रान्तिका सर्वोच्च कमान्डर तथा पूर्वराष्ट्रपति क्यास्ट्रोको शुक्रबार राति ११ बजेर २९ मिनेटमा निधन भयो ।”

क्यास्ट्रोको निधन भएको यस खबरले विश्वका कम्युनिस्ट विचार मन पराउने करोडौं मानिसलाई दुःखी मात्र तुल्याएन, उनको अनुपस्थितिमा क्यास्ट्राेले उठाएका मुद्दाहरु कसरी अघि बढनेछन् भनी चिन्तित बनाउने पक्कै छ । फिडेल क्यास्ट्रो संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यवादविरुद्धको विश्वआन्दोलनका नायक रहेर बीसौं शताब्दीमा कुनै न कुनै रुपमा चर्चाको शिखरमा रही दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक बनेका थिए ।

सहकार्यबाट असम्भव हुने विषय पनि सङ्घर्षमार्फत पाउन सकिन्छ भन्ने विश्वास राख्ने क्युबाली जनताका सर्वोच्च नेता क्यास्ट्रोले करिव ५० वर्षसम्म अविराम सत्तामा रहँदा उनले आजीवन अमेरिकी प्रशासनको दादागिरीलाई क्युबामा लल्कारे । क्युबाली जनताले आफू चरम गरिबी सहेर पनि क्यास्ट्रोलाई आजीवन सहयोग गरे ।

सन् १२२६ मा क्युबाका दक्षिणपूर्वी ओरिएन्टे प्रान्तमा जन्मेका क्यास्ट्रो सानैदेखि समाज परिवर्तन कसरी गर्न सकिन्छ र गरिब तथा बेसहारा मानिसलाई कसरी आर्थिक रुपमा माथि उकास्न सकिन्छ भनेर लागे । धनी परिवारमा जन्मे पनि उनी गरिबको साथमा जीवनपर्यन्त रहेको क्युबाली बहुसङ्ख्यक नागरिकको बुझाइ छ ।

यसै सिलसिलामा उनले बटिस्टा शासनविरुद्ध विद्रोह गरे यद्यपि उक्त विद्रोहमा उनले सफलता भने पाउन सकेनन् । फलतः करिव दुई वर्षका लागि जेल जानुपर्यो । सन् १९५५ मा उनलाई बाँकी जेलजीवनबाट माफी दिने सरकारी समझदारीअनुसार जेलमुक्त गरियो । उनको नेतृत्व क्षमता देखेर हुनुपर्छ, तत्कालीन क्युबाली सत्ता सधैं उनीबाट भयभीत रहिरह्याे ।

जेलबाट मुक्त भएपछि उनले चे ग्वेभारासँग मिलेर सरकारविरुद्ध गुरिल्ला निर्माण गरी सङ्घर्ष सुरु गरे । सङ्घर्षले उनलाई बटिस्टा शासनमाथि विजयी गरायो, सन् १९५९ मा उनी प्रधानमन्त्री बने ।

सन् १९६१ मा अमेरिकी गुप्तचर निकाय सीआर्इएको उक्साहटमा क्युबाबाट अमेरिका गई निर्वासन जीवन बिताइरहेका क्युबालीहरुको ‘वे अफ पिग’ द्वारा सञ्चालित आक्रमणको सफलतासाथ प्रतिकार गरेका क्यास्ट्रो सन् १९७६ मा क्युबाको सर्वोच्च प्रशासनिक पद राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

fidel-castroसन् १९९२ मा क्युबाली शरणार्थीबार अमेरिकासँग सम्झौता गरी आफ्नो राष्ट्रवादी विचारलाई थप उज्ज्वलित गर्दै सन् २००८ सम्म सत्तामा रहेका उनले स्वास्थ्यका कारण आफ्ना भाइ राहुल क्यास्ट्रोलाई जिम्मेवारी सुम्पेका थियो । उनी आफ्ना समर्थकमाझ ‘जनताका नेता’ का रुपमा चिनिन्छन् भने विरोधीहरुले उनलाई क्युबामा आफ्नो वर्चश्व कायम राख्न व्यापक दमनकारी नीति लिएका भनी आलोचना गर्छन् । सङ्घर्ष, अडान, राष्ट्रप्रेम र निरन्तरता क्यास्ट्रोबाट सिक्नलायक गुणहरू भएको उनलाई नजिकबाट चिन्ने राजनीतिज्ञहरु बताउँछन् ।

क्यास्ट्रोको जीवन अमेरिकी प्रशासनका लागि सधैं तगारो बन्यो । धेरै अमेरिकी राष्ट्रपतिहरूले क्यास्ट्राेलाई पदबाट अपदस्त गराउने कसरत त गरे तर क्यास्ट्रोले दस अमेरिकी राष्ट्रपतिलाई सामना गरे र क्युबालाई अमेरिकी प्रशासनसँग कहिल्यै झुकेको देख्न चाहेनन् । उनले गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युबामा गएर दिएको ‘सुझाव’ प्रति व्यङ्ग्य गर्दै लामो पत्र लेखी अमेरिकी राष्ट्रपति ओबामालाई पठाए ।

पत्रमा क्यास्ट्राेले अमेरिका क्युबाको खुशी हेर्न चाहन्छ भने उसले क्युबामाथि कुनै दबाव नदेअाेस्, विनाअवरोध क्युबाको स्वतन्त्रताका लागि काम गर्न मात्रै देअाेस्, त्यति नै काफी हुनेछ भनी उल्लेख गरे । क्युबाली जनतालाई फरक सोच र विचारका साथ अघि बढ्न अमेरिकी राष्ट्रपतिले गरेको आग्रहप्रति आक्रोश व्यक्त गर्दै लेखिएकाे १५ पेज लामो उक्त पत्रमा अमेरिकाले क्युबालाई कुनै ‘पाठ सिकाउनु नपर्ने’ चेतावनी दिएका थिए ।

शनिबार रसियाली प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्ति प्रकाशित गरी रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले फिडेल क्यास्ट्रोको जीवनको प्रशंसा गर्दै ‘क्युबाली समाजवादी प्रतिमूर्ति’ को ९० वर्षको उमेरमा मृत्यु भएकोमा दुःख व्यक्त गरेको जनाएको छ । पुटिनले आफ्ना क्युबाली समकक्षी राहुल क्यास्ट्रोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पठाएको शोक–सन्देशमा फिडेल क्यास्ट्रो रसियाका इमानदार र विश्वसनीय मित्र भएको बताइएको छ ।

फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले क्यास्ट्रो केही क्युबालीका आशाका केन्द्र भएको तथा केही भने उनले अमेरिका तथा युरोपलाई हेर्ने नीतिका कारण उनीप्रति खुशी नरहेका देखिने गरेकाे बताएका छन् । त्यसैगरी पूर्वसोभियत सङ्घका नेता मिखाइल गोर्भाचेभले क्युबालाई बलियो शक्तिका रुपमा खडा गर्ने क्यास्ट्रो एक निडर एवम् अतुलनीय व्यक्तित्व भएको प्रतिक्रिया दिएका छन् ।

भेनेजुयलाका राष्ट्रपति निकोलास माधुरोले फिडेल क्यास्ट्रोलाई क्युबाको धरोहरका रुपमा लिने गरिएको जनाउदै उनको निधनले आफूलाई दुःखी तुल्याएको बताए । नेपालका पुराना एवं वरिष्ठ माओवादी नेता मोहन वैद्यले पनि क्यास्ट्रोको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त क्युबाली जनताप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्वराष्ट्रपति क्यास्ट्रोको निधनमा क्युबाले दस दिनसम्म शोक मनाउने निर्णय गरेको छ । क्यास्ट्रोको अन्त्येष्टी डिसेम्बर ४ मा गरिने क्युबाले जनाएको छ ।

(रासस तथा विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीमा उपलव्ध सामग्रीकाे अाधारमा)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर