newskoseli.Com

कलाकारले उठाए बजारको फोहर

बुधबार बिहानै कलाकार मनोज गजुरेल सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा भेटिए। मुखमा माक्स र हातमा पन्जा लगाएका गजुरेललाई कुचोसहित एक्कासी शिवालय चोकमा भेटिँदा बजारवासी दङ्ग परे ।

सधैँजसो जिल्लाकै कर्मचारी र स्थानीयवासीको हुलमुलमा चर्चित कलाकार देखिँदा कहाँ, किन र कसरी आए भन्ने कुतुहलता बढ्न थाल्यो र स्थानीयवासी एकापसमा कानेखुसी गर्न थाले । उहाँ सरसफाइ कार्यक्रममै सहभागी हुन राजधानीदेखि पर्वत आइपुगेका रहेछन् ।

उनलाईलाई उक्त सरसफाइ अभियानमा सहभागी हुने अवसर जुटाएको थियो पर्वत जेसिजले । सदरमुकाम कुश्मा बजारको सरसफाइका लागि थालिएको अभियान २० औँ हप्ता पुगेका अवसरमा स्थानीयवासीलाई हौसला प्रदान गर्न उनीहरुलाई पनि सहभागी गराइएको हो । बिहानभर जिल्ला प्रशासन कार्यालयबाट सुरु गरेर सदरमुकाम परिक्रमा गरी उनीहरु सरसफाइमा सरिक भए । वातावरण सरसफाइमा यो, ऊ नभनिकन सबै एकजुट हुनुपर्छ भन्ने मान्यता बोकेर आफूहरु पनि सरसफाइ अभियानमा ती कलाकारले बताए ।

सो अवसरमा चर्चित हास्य कलाकार गजुरेलले नागरिक र सरकारको साझेदारीमा गरिएका जुनसुकै काम दिगो र प्रभावकारी हुने बताए।

सानोतिनो कामका लागि पनि राज्यकै मुख ताक्नुभन्दा नागरिक आफैँ सक्रिय हुँदा सबैका निम्ति राम्रो हुने जानकारी उनको भनाइ थियो । उनले आफू पनि यस्तो महाअभियानमा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे ।

त्यस्तै, गायिका मिलन अमात्य र नायिका जानुवी बोहोराले पनि सरसफाइमा अभियानको उत्साह देखेर आफूहरु दङ्ग परेको प्रतिक्रिया दिए । यस्तो अभियान नेपालभरका सहरमा सुरु गर्नुपर्ने उनिहरुको भनाइ थियो ।

पछिल्लो समय पर्वत सदरमुकाम कुश्मा बजारको सरसफाइ कार्यमा स्थानीय जनताको सहभागिता उल्लेख्य मात्रामा बढ्दै गएको छ । विगत २० सातादेखि सुरु भएको सरसफाइ अभियानमा स्थानीय बजारवासी स्वतःस्फूर्त रुपमा निस्किन थालेका छन् । कुश्मा बजारलाई स्वच्छ सफा, सुन्दर नमुना सहर बनाउने उद्देश्यले थालिएको अभियान प्रभावकारी बन्दै गएको छ । प्रत्येक हप्ताको बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म हुने उक्त सरसफाइमा कुश्मा बजारवासी आ–आफ्नो व्यक्तिगत वा कार्यालयको काम छाडेर भए पनि सहभागी हुने गरेका छन् ।

सरसफाइलाई प्रभावकारी बनाउने उद्देश्ले जेसिजले आर्थिक सङ्कलन अभियान पनि सुरु गरेको छ । यसअन्तर्गत आज ब्लु डाइमण्ड हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ ।

कार्यक्रममा रु. दुई लाखभन्दा बढी रकम सङ्कलन भएको बताइएको छ । उक्त रकम खर्चे सदरमुकाम कुश्मा बजारका चोकचोकमा स्थायी खालका डस्टबिन राखिने भएको छ । हास्यव्यङ्ग्य कार्यक्रममा नेपालकै होचा व्यक्ति दिपेन शाह, नायिका जानुवी बोहोरा, जादुगर कलाकार महादेव त्रिपाठी, गायिका मिलन अमात्य, कलाकार सुरेन्द्र केसी र शिवशङ्कर रिजाललगायतको प्रस्तुति रहेको थियो ।

उक्त कार्यक्रम हेर्न पर्वत, बाग्लुङ र धौलागिरि जनताको घुइँचो लागेको थियो । झन्डै पाँच महिनाअघिदेखि सुरु भएको उक्त अभियानबाट दुर्गन्धित कुश्मा बजार क्षेत्रका नाली, सडक तथा घर वरिपरिको वातावरण अहिले सफा र चिटिक्क देखिएका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर