newskoseli.Com

अनन्त असन्तोष

 

 

न तिम्रो मुहारसित सन्तुष्ट छु,
न त पहिचानसित
न तिम्रो आवाजसित सन्तुष्ट छु,
न त आत्मासित
न तिम्रो पद, प्रतिष्ठा र प्राप्तिसित सन्तुष्ट छु,
न त नाता, सम्बन्ध र मान्यतासित
न तिम्रो क्षितिजसित सन्तुष्ट छु,
न त धर्तीसित ।

तिम्रा आदर्श,  आस्था वा आवेग,
तिम्रा शास्त्र, सौन्दर्य वा उद्वेग,
तिम्राभावना, योजना वा कोराकल्पना,
तिम्रा सिर्जना, साधना वा सुन्दर सपना,
तिम्रा उद्भव, विकास वा विकार,
तिम्रा शान्ति, क्रान्ति वा भ्रान्तविचार,
तिम्रा यी यावत सबैसित म असन्तुष्ट छु ।

उष्ण सहवास वा शीतल शान्त वदन,
दिव्य मृदु मुस्कान वा कर्कश कण्ठ-दमन,
आत्मिक प्रिय मिलन वा उद्दण्ड उन्मादी मन,
अनुर्वर नैराश्य वा निर्झर उर्बर तन,
शुष्क औपचारिकता वा शान्त सजल नयन,
भावहीन मलिनता वा चञ्चल चालचलन,
तिम्रा यी सबै सबैसित म सधैँ सधैँ असन्तुष्ट छु ।

न तिम्रो वलिष्ठ अङ्कमालसित सन्तुष्ट छु,
न रुग्ण कङ्कालसित
न तिम्रो उर्ध्व छायासित सन्तुष्ट छु,
न तिम्रो कम्पित कायासित
न तिम्रो छनोट र बुनोटसित सन्तुष्ट छु,
न तिम्रो स्वाद र साथसित
न तिम्रो नाम, मान रज्ञानसित सन्तुष्ट छु,
न अपमान र गुमनामसित ।

तिम्रोविनोदी रसिकता वा कुण्ठित यौवन,
तिम्रोअविराम यात्रा,स्थीरता वा अन्यमनस्क मन,
तिम्रोविचार, अविचार वा अन्यथा कथन,
तिम्रोपेशा, पवित्रता वा पागल अडान,
तिम्रोउत्कण्ठा, उमङ्गवा निस्पृहलजव,
तिम्रोउदात्त उपकार, केन्द्रित निजत्व वा उदासीन मगज,
तिम्रा यी कुनै कुनैसित म कवै सन्तुष्ट हुन सकिनँ ।

न तिम्रो बनिबनाऊ पुरुषार्थसित सन्तुष्ट छु,
न त लिङ्गभेदी नपुंसकतासित
न तिम्रोयान्त्रिक व्यस्ततासित सन्तुष्ट छु,
न त बेगारी वा अस्तव्यस्ततासित
न निस्सार नीरवतासित सन्तुष्ट छु,
न त वैविध्यपूर्ण चमनसित
न तिम्रो कल्पनातीत साम्यवादी स्वर्गसित सहमत छु,
न त वर्तमान महासामन्ती बर्बर नर्कसित।

म विद्रोहीको उपद्रव र न्यासीको देहसित असन्तुष्ट छु,
म तमाम असन्तुष्टिहरूसि
पनि निरपेक्षत: असन्तुष्ट छु,
म साराका सारा तिम्रो उपभोग्य संसारसित असन्तुष्ट छु,
म तिम्रो समग्र जीवन र अस्तित्वसितै असन्तुष्ट छु,
म असन्तुष्ट छु,तिम्रो विनास र मृत्युसित पनि
त्यो मृत्यु,जसले मेरो असन्तुष्टिको मसानघाट नै हरण गरेको छ ।

Twitter: @BinodDhungel

आइतवार १९ मंसिर २०७३ मा प्रकाशित

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर