
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलबीचको राष्ट्रिय एकताबाट नै संविधान कार्यान्वयन हुन सक्ने दृढता व्यक्त गरेका छन् ।
सामूहिक तमु ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्वारा शानिवार पाेखरामा आयोजित सामूहिक तमु ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दै उनले एकताबिना संविधान कार्यान्वयन असम्भव भएकाले एकताका लागि त्याग गर्न सबैसँग आग्रह गरे ।
“त्याग गर्दा केही पाउन र केही गुमाउन पनि सकिन्छ”, उनले भने – “संविधान कार्यान्वयनपछि देश आर्थिक समृद्धिको बाटोमा लाग्ने र सबै नेपाली जनताले सुख र शान्ति पाउने छन् ।” प्रधानमन्त्री दाहालले तमु (गुरुङ) हरुले प्रदर्शन गर्दै आएको वीरता र बलिदानप्रति सराहना गर्दै तमुहरुले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरे ।
तमुहरुको एकता प्रदर्शनले भाषा, संस्कृति र परम्पराको जगेर्ना हुने धारणा राख्दै उहाँंले तमु युवा–युवतीले अहिले देश तथा विदेशमा इन्जिनियरिङ तथा विज्ञानको क्षेत्रमा सबै जनजातिलाई उछिनेर अग्रणी भूमिका निभाएको विचार पनि व्यक्त गरे।
प्रधानमन्त्री दाहालले गुरुङ समुदायका छोराछोरीमध्येबाट प्रधानमन्त्रीको पदमा पुग्न अब धेरै टाढा नभएको विचार व्यक्त गरेका छन् ।
कार्यक्रममा प्र्रधानमन्त्री दाहालले १२ जना विशिष्ट व्यक्तिलाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा विद्युत्भार कटौती मुक्त गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, इन्जिनियर सन्दीप तमु, न्यायाधीश सत्यराज तमु, समाजसेवीहरु डण्ड तमु, क्याप्टेन रुपबहादुर तमु, क्या मनबहादुर तमु, दलबहादुर तमु, मीनप्रसाद तमु, माया तमु, पोलबहादुर तमु, युग तमु र सञ्चारकर्मी इन्दिरा तमु छन् ।
सामूहिक तमु ल्होछार मूल समारोह समितिका संयोजक कर्म तमुको अध्यक्षतामा भएको सो कार्यक्रममा बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह तमु, हितकाजी तमु र दलबहादुर तमुले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि कास्कीमा रहेका तमुहरुका १८ वटा सङ्घसंस्था पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गामा भेला भई आ–आफ्नो वेशभूषा, नाचगान, बाजागाजा र झाँकीका साथ निस्केको ल्होछार शुभकामना ¥याली नगर परिक्रमा गरी पोखरा प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।