newskoseli.Com

टेलिकमले सुरु गर्‍यो फोरजी सेवा

१ जनवरी, २०१७ अर्थात् अाजदेखि नेपाल टेलिकमले नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोरजी) सुरु गरेको छ । अंग्रेजी वर्ष सन् २०१७ सुरूआतको अवसरमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको हो ।

फोरजी सेवा सुरु भएपछि थ्रीजीको भन्दा द्रुत गतिको मोबाइल डाटा इन्टरनेट सुविधा उपलव्ध भएको टेलिकमले जनाएको छ । थ्रीजीमा मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेन्ड थियाे भने फोरजीको न्यूनतम स्पिड नै ३५ एमबी प्रतिसेकेन्ड हुने नेपाल टेलिकमले उल्लेख गरेको दाबी छ ।

राजधानीमा आयोजित एक समारोहका बीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले 4G/LTE सेवाको लोगो अनावरण गरी यो सेवाको शुभारम्भ गरे । साे अवसरमा मन्त्री कार्कीले सूचना प्रविधिमा भएको विकासमार्फत सूचनाक्रान्तिका लागि तयार रहनुपर्ने आवश्यकतामा जोड दिँदै यसका लागि 4G/LTE सेवाले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । मन्त्री कार्कीले गाउँगाउँमा ब्रोडब्यान्डमार्फत सेवा दिन नेपाल टेलिकम मात्र सक्षम भएको बताउँदै यसले दैनिक जीवनलाई सहज बनाउन समेत सघाउ पुर्‍याउने बताए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिस्पर्धी बजारमा प्रविधिमैत्री बन्नु आवश्यक भएको बताउँदै 4G/LTE सेवाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री बनाउन समेत सहयोग पुग्ने बताए । सरकारले सूचना प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्न थालेको र यसलाई 4G/LTE सेवाले सघाउने विश्वास उनले व्यक्त गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सेवा सुरुअात गर्न ३ महिनाको समयसीमा दिइएकोमा नेपाल टेलिकमले समयमै यो कार्य सम्पन्न गरेकोमा बधाई दिँदै आगामी दिनमा समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा 4G/LTE को कभरेजलाई बढाउन सकेमा Digital Divide कम हुने र ग्रामीण क्षेत्रमा समेत विभिन्न क्रियाकलाप गर्न सघाउ पुग्ने भएकाले प्राधिकरणले यसका लागि ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी विभिन्न कार्य गर्ने योजना बनाएको झाले बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले 4G/LTE को विश्वमानचित्रमा समावेश हुने अवसर पाएकोमा गौरव महसुस भएको बताउँदै यसबाट नेपाल टेलिकमले सेवाग्राहीको मन जित्न सफल हुने विश्वास ब्यक्त गरिन् । उनले प्रथम चरणमा काठमाडौं र पोखरा उपत्यकाका सेवाग्राहीहरुका लागि Peak Data Rate 32.4 Mbps डाउनलोड स्पिड प्रदान गर्न सक्ने नेटवर्क सञ्चालनमा ल्याएको र  देशको सम्पूर्ण भूभागमा यो सेवा क्रमिक रुपमा थप High Speed Data Service का रुपमा पुर्‍याउने लक्ष्यका साथ गृहकार्य अघि बढिसकेको जानकारी गराइन् । नेपाल टेलिकमको 4G/LTE सेवा पनि अन्य सेवाजस्तै ग्राहकको पहिलो रोजाई बन्ने र नेपाली जनताको अपार माया प्राप्त गर्न सफल हुने विश्वास राजभण्डारीले व्यक्त गरिन् ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक अशोककुमार थापाले काठमाडौं उपत्यका तथा पोखरामा 4G/LTE सेवा सञ्चालन गर्न विद्यमान Site तथा Network मा केही Upgrade गरी छोटो समयभित्र सेवा सञ्चालनका लागि आपूर्तिकर्ता कम्पनी Huawei Technologies सँग सम्झौता सम्पन्न भई आयोजना कार्यान्वयन भएको बताए । हाल एक पटकमा झन्डै ३ लाख ५० हजार ग्राहक समेट्न सकिने जानकारी दिँदै उनले आगामी दिनमा कम्पनीको सवल वित्तीय अवस्था सुनिश्चित गराउन समेत 4G सेवा नै प्रमुख आधार बन्ने विश्वास व्यक्त गरे ।

हाललाई GSM पोस्टपेड मोबाइलमा मात्र यो सेवा उपलब्ध छ र यसका लागि *444# डायल गरी Registration गर्न सकिन्छ । सन् २०१७ जनवरीभित्रमा 4G सेवाका लागि Registration गर्ने GSM पोस्टपेड सेवाग्राहीहरुलाई 4GB Promotional Package को रुपमा प्रतिदिन 1GB डाटाका दरले ४ दिनका लागि 4GB निःशुल्क प्रदान गरिने टेलिकमले जनाएकाे छ ।

उक्त सुविधा उपभोग गरिसकेपछि अन्य विभिन्न डाटा प्याकेज खरिद नगरेको अवस्थामा विद्यमान डाटा महसुल दर प्रतिएमबी १ रूपैयाँ लाग्नेछ । हाल जीएसएम पोस्पेड मोबाइल सेवाग्राहीहरुलाई उपलब्ध रहेका विभिन्न डाटा प्याकेजहरु लिई 4G सेवा उपभोग गर्न सकिन्छ । भविष्यमा पनि डाटा सेवालाई थप विविधिकरण गरी अझ आकर्षक बनाइने टेलिकमकाे भनाइ छ ।

नेपाल टेलिकमको GSM mobile मार्फत नेपाल टेलिकमको वेबसाइट (www.ntc.net.np), रिचार्ज गर्ने वेबसाइट (webrecharge.ntc.net.np) र Meet (www.meet.net.np) browse गर्दा शुल्क नलाग्ने व्यवस्था कम्पनीले मिलाएको छ ।

पोखरामा समेत एक कार्यक्रमका बीच नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक सिद्धप्रताप भारतीले काठमाडौंमा गरिएको शुभारम्भ समारोहलाई 4G/LTE नेटवर्कमार्फत YouTube भिडियो देखाएर यो सेवाको शुभारम्भ शुभारम्भ गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर