newskoseli.Com

मजदुर सङ्गठनको चेतावनीले रोकियो अन्तर्राष्ट्रिय ‘सेल्स मिसन’

मजदुर सङ्गठनहरूको दबाबले १० प्रतिशत सेवा शुल्कको विषय विवादित बनेको होटल सङ्घ नेपाल (हान) ले जनाएको छ । मजदुर सङ्गठनले विगतकाे सम्झौता विपरीत अल्टिमेटमसहित सबै रकम पाउनुपर्ने पाँचबुँदे दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै हानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मजदुर सङ्गठन र व्यवसायीबीच सुमधुर सम्बन्धका साथ गुणस्तरीय सेवा उपलब्ध गराउने सर्तमा १० वर्षअघि ५ वटा ट्रेड युनियन र हानबीच सम्झौता भएको थियो । उक्त सम्झौताअनुरुप होटल रेस्टुराँबाट उठाइँदै आएको १० प्रतिशत सेवा शुल्क मजदुरलाई ६८ र होटललाई ३२ प्रतिशत बाँड्ने व्यवस्था थियो ।

अहिले उक्त रकम सबै मजदुरलाई उपलब्ध गराइनुपर्ने माग मजदुर सङ्गठनले राखेकाले सम्झौतामाथि प्रश्न उठेको भन्दै हानले अाइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हाे ।

पर्यटनले सुधारोन्मूख गति लिने अपेक्षा गरिएको समयमा अर्को धक्काका रुपमा ट्रेड युनियनको माग अल्टिमेटम आउनु दुःखद् भएको हानले जनाएको छ ।

नेपालमा बढी पर्यटक भित्र्याउने उद्देश्यले फेब्रुअरी ९ देखि १५ सम्म दक्षिण भारतका मुख्य सहरमा आयोजना गर्ने गरी तय गरेको ‘बृहत् सेल्स मिसन’ कार्यक्रम ट्रेड युनियनको धम्कीपूर्ण आन्दोलनका कारणले बाध्य भएर स्थगन गर्नुपरेको हानले जनाएको छ ।

मजदुर सङ्गठनबाट सार्वजनिक भएका दबाबमूलक कार्यक्रमले ग्राहक असुरक्षित महसुस गरी बुकिङ रद्द गर्ने र आगामी दिनमा होटल व्यवसाय धरासायी बन्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

हानका अध्यक्ष अमरमान शाक्यले अन्तर्राष्ट्रिय जगतमा पनि सेवा शुल्क विवादित बनेको र नेपालका ग्राहकले महँगो भन्दै असन्तुष्टि प्रकट गरिरहेको सन्दर्भमा १० प्रतिशत शुल्क सबै आफूले पाउनुपर्ने मजदुरको मागले व्यवसाय सञ्चालनमै कठिनाइ हुने बताए ।

हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्यले मजदुर र होटलबीचको सम्बन्ध सुधार गरी गुणस्तरीय सेवाका लागि सेवा शुल्कको सामूहिक सौदाबाजीको व्यवस्था गरिए यसबाट ग्राहक र मजदुर दुबै खुसी नभएकाले यसको औचित्यमाथि प्रश्न उब्जिएको बताए ।

मजदुरको मागले हालको औद्योगिक सम्बन्ध र वातावरण बिग्रिने र उपरोक्त सम्झौतालाई एकतर्फी रुपमा पालना गर्न नसकिने व्यहोरा प्रधानमन्त्रीसहित सम्बन्ध निकायलाई जानकारी गराइएको हानले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटन होटल सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिले गत माघ ६ गते पाँचबुँदे मागसहित आन्दोलनको घोषणा गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर