newskoseli.Com

टुल्कीलार्इ धनी र उद्यमी बनायो बाख्रापालनले

दमेक– ८ कि किसान टुल्की थापा (सापकोटा) को दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले फेरिएको छ– उद्यमीका रुपमा । ५ वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेको छ ।

हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको परिवारमा नसोचेको परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैंचो बाख्राबाट उनले सुरु गरेको व्यावसायिक बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

“मुख्य पेसा बाख्रापालन हो, राँगो, कुखुरा पनि छ”–टुल्कीले भनिन्– “योसँगै तरकारी उब्जाएर पनि बेच्ने गरेकी छु, आम्दानी राम्रो छ ।” उनका अनुसार पशुपालन र कृषिबाट वार्षिक ४ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ । सहयोगी व्यवसायका रुपमा मौरीपालन पनि गर्दै आएको उनले बताइन् ।

खरले छाएको सानो घर, थोरै जग्गा–जमिन भएर पनि टुल्की र उनको परिवार मेहनत र परिश्रमबाट टिकेको छिमेकीहरु बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुर्व्यवहार सहनुपर्‍यो”– टुल्कीले भनिन्– “घरपरिवारले हामीलाई अलग्गै छुट्टयाए, ठूलो दुःख–पीडा झेल्यौं ।”

बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि उनका पति भैरवप्रसाद सापकोटा रोजगारीका लागि भारत पनि पुगे । तर, विदेशमा टिक्न नसकेपछि घरमै फर्केर मजदुरी गर्दै परिवार धानेको भैरवप्रसादले बताए । “श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्न, हलो जोत्न जान्थें”, भैरवप्रसादले भने– “बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन् समस्या थियो ।” पछि, दमेकमा हेफरको परियोजना आएपछि समूहमा आबद्ध भएर टुल्कीले आफ्नो परिवारको मुहार नै फेरेका हुन् ।

व्यवसायलाई उनका पति भैरवप्रसादले पनि पूर्ण रुपमा सघाउँदै आएका छन् । घरमा रहेका ५ छोरीहरु पनि परिश्रमी छन् । “छोरीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौं”, टुल्कीले भनिन् । स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा ५ लाख रूपैयाँ बचत पनि छ । अहिले उनीकहाँ ३० वटा बाख्रा छन्, जसमध्ये ८ वटा ब्याउने छन् ।

हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सिप, ज्ञान र प्रविधि सिकाएपछि टुल्कीजस्ता अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लबले दमेकमा उद्यमशीलता प्रवर्द्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर