newskoseli.Com

चिज बेचेर वर्षमै ३३ लाख !

घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले १ वर्षको अवधिमा ३३ लाख रूपैयाँको चिज बिक्री गरेको छ ।

हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघसम्म ४ हजार ४ सय किलो चिज बिक्री गरेको हो । प्रतिकिलो ७ सय ५० रूपैयाँका दरले चिज बिक्री गरेको सो संस्थाका अध्यक्ष नारायण बरुवालले बताए ।

सो अवधिमा उद्योगमा दूध बिक्री गर्ने कृषकले ३० लाख रूपैयाँ भुक्तानी पाएका छन् । २०७१ वैशाखदेखि सञ्चालित उक्त उद्योगले स्थानीय कृषकले उत्पादन गर्ने दूध खपत गर्दै आएको छ । हाल ४५ कृषकले दैनिक १ सय लिटर दूध उद्योगलाई बिक्री गर्दैआएका छन् ।

कृषकबाट गुणस्तर अनुसार प्रतिलिटर ५० देखि ५५ रूपैयाँका दरले दूध खरिद गरिन्छ । दूध बेचेर १ कृषकले मासिक ५ हजारदेखि २५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । सो उद्योगले मासिक ३० किलो घ्यू समेत उत्पादन गर्दै आएको छ ।

सो उद्योगमा उत्पादित चिज पर्यटकीयस्थल घोडेपानी, तातोपानी, कास्कीको टाडापानी, पोखरा र मुस्ताङको जोमसोममा खपत हुने गरेको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेकाले उत्पादित चिज नष्ट गर्नुपर्दा निराश भएका कृषक यस वर्ष माग बढेपछि उत्साहित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर