newskoseli.Com

पशुपालन गर्न एकै जिल्लामा ४ अर्ब रूपैयाँ लगानी !

म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि ३ अर्बभन्दा बढी लगानी गरेका छन् । किसानले व्यावसायिक रुपमा गाईभैंसी र भेडाबाख्रापालन गर्न ३ अर्ब ६८ करोड ४१ लाख ६६ हजार रूपैयाँ लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैंसी र २ सय ८७ वटा भेडाबाख्रा फार्म छन् । कार्यालय र सेवा केन्द्रका प्रविधिज्ञले स्थलगत रुपमा सङ्कलन गरेको विवरणअनुसार पशुधन र पूर्वाधारतर्फ उक्त लगानी भएको पशु सेवा प्रविधिज्ञ डिल्लीराम रेग्मीले जानकारी दिए । ३ अर्ब ४४ करोड ८६ लाख ६६ हजार रूपैयाँ पशुधन रहेका व्यावसायिक फार्म सञ्चालनका लागि पूर्वाधार तयार गर्न न्यूनतम २३ करोड ५५ लाख रूपैयाँ लगानी भएको हो ।

व्यावसायिक र व्यवस्थित बन्दै गएको म्याग्दीको पशुपालन क्षेत्रमा उद्योग–व्यवसायको तुलनामा धेरै पुँजी लगानी भएको रेग्मीले बताए । व्यावसायिक पशुपालनको माध्यमबाट १ हजार ५ सय जनाले रोजगारी पाएका छन् । म्याग्दीमा दूध उत्पादनका लागि २ सय ९६ भैंसी, ५ सय ७२ गाई तथा ८ हजार ४ सय ८६ बाख्रा र १२ हजार ४ सय ८० भेडा मासु उत्पादनका लागि व्यावसायिक रुपमा पालिएका छन् ।

जिल्लाभर १ सय ५९ वटा व्यावसायिक बाख्रा फार्म छन् । ६० वटा भेडाबाख्राका संयुक्त फार्म छन् । दूध उत्पादनका लागि स्थानीय लिमे, पारकोट, उन्नत मुर्रा तथा वर्णशङ्कर जातका भैंसी पालिएको छ । किसानले स्थानीय, जर्सी र होलस्ट्यान जातका गाईपालन गरेका छन् ।

खरी, जमुनापारि, बोयर, बारबरी, सिनाललगायत बाख्रा र भ्याङ्लुङ तथा बरुवाल जातका भेडा मासु उत्पादनका लागि पालिएका छन् । सदरमुकाम आसपासका क्षेत्रमा दुग्ध उत्पादनका लागि गाईभैंसी तथा ग्रामीण र लेकाली क्षेत्रमा भेडाबाख्रापालन भएको छ । २० भन्दा बढी भेडाबाख्रा पाल्ने र ५ भन्दा बढी गाईभैंसी पाल्ने किसानलाई व्यावसायिक मान्ने गरिएको छ ।

बजारको राम्रो सम्भावना, छिटो आम्दानी गर्न सकिने, परम्परागत सीपमा आधारित, घाँस तथा आहाराको आपूर्ति राम्रो, पर्याप्त वनजङ्गल र चरन क्षेत्र भएकाले म्याग्दीमा व्यावसायिक पशुपालनको राम्रो सम्भावना रहेको वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर