newskoseli.Com

विश्वका सुखी र दुःखी १०–१० राष्ट्र कुन–कुन हुन् ?

तपार्इं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भए पुग्छ । त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमानदारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटी) आफ्नो जीवनलाई सुखमय तुल्याउन सकिन्छ ।

सुख कहाँ छ ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिजलगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै एक अनुसन्धानात्मक प्रतिवेदनः “वर्ल्ड ह्याप्पिनेस रिपोर्ट” प्रकाशन गरी विश्वका १ सय ५५ राष्ट्रलाई सामान्यतया दुई भागमा वर्गीकरण गरी सुखी तथा दुःखी राष्ट्रहरुको सूची नै निकालेका छन् ।

“सुखका लागि अनुसन्धान” नामक यस अनुसन्धान परियोजनामा औसत वैयक्तिक आय, स्वस्थ रही बाँचिने प्रतिव्यक्ति औसत आयु (लाइफ एक्सपेक्टेन्सी), एक–आपसमा सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त आर्थिक वा अन्य प्रकृतिका भ्रष्टाचार, वैयक्तिक दया तथा क्षमाशीलताजस्ता मूल्य–मान्यतालाई निरुपण गरी यसैमा आधारित भई मापदण्ड निर्धारण गरिएको थियो ।

यी सबै मूल तत्वहरुलाई समग्रमा मूल्याङ्कन गर्न १ देखि १० अङ्कसम्म प्रदान गरी सुखी तथा दुःखी राष्ट्रको पहिचान वा आँकलन गरिएको थियो । तीमध्ये १०–१० वटा प्रमुख सुखी तथा दुःखी देशको छोटो झलक यहाँ पनि दिइएको छ ।

प्रकाशित सूचीअनुसार यस धर्तीमा अत्यन्त सुखी मानिने राष्ट्रको बरियताक्रममा नर्वेले ७ दसमलव ९० अङ्क प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको छ । यस अघिसम्म नर्वे सो क्रमको चाैथो स्थानमा रहेकोमा यस वर्ष छलाङ मारी प्रथम स्थानमा पुगेको हो ।

विश्वकै सर्वाधिक शक्तिशाली मानिनुका साथै आर्थिक हिसाबमा पनि तुलनात्मक रुपले अरू बहुसङ्ख्यक राष्ट्रभन्दा धनी कहलाइने अमेरिका भने बरियताक्रमको चाैधौं स्थानमा परेको छ । वितेको दशकमा प्रतिव्यक्ति आयमा मनग्य वृद्धि गराउन सफल अमेरिकीहरु गत वर्षसम्म यसै वरिष्ठताक्रमको तेह्रौं स्थानमा रहेकामा बिस्तारै सुखप्राप्तिबाट विमुख भई यस वर्ष चौधौं स्थानमा खस्किन पुगे ।

अत्यन्त दुःखी मानिने राष्ट्रको बरियताक्रममा २ दशमलब ६९ अङ्क प्राप्त गरी केन्द्रीय अफ्रिकी गणतन्त्र (सेन्ट्रल अफ्रिकन रिपब्लिक) प्रथम स्थान (सबभन्दा निम्न स्थान) मा परेको छ । सुखी मानिने राष्ट्रको वरियता क्रममा ७.५२ अङ्क प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा रहेको छ । यस अघिसम्म डेनमार्क प्रथम स्थानमा थियो ।

“राम्रै भयो, सधैंभरि सुखी राष्ट्रको इज्जत कमाउने नाममा एकाधिकार त जमाउन पाइँदैन नि” डेनमार्कको राजधानी कोपेन0हेगनस्थित ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत मिएक वाइकिङले टिप्पणी गरे ।

सुखी राष्ट्रहरुको वरिष्ठताक्रममा ७.५० अङ्क प्राप्त गरी आइसल्यान्ड तेस्रो स्थानमा पर्‍यो । स्विट्जरल्यान्ड– ७.४९ (चाैथो), फिनल्यान्ड– ७.४७ (पाँचौं), नेदरल्याण्ड– ७.३८ (छैटाैं), क्यानडा– ७.३२ (सातौं), न्युजिल्यान्ड– ७.३१ (आठौं), अस्ट्रिया– ७.२८ (नवौं) र स्विडेन– ७.२७ (दशौं) स्थानमा रहेका छन् ।

त्यस्तै, दुःखी राष्ट्रहरुको वरिष्ठताक्रममा २.९१ अङ्क प्राप्त गरी बुरुन्डी दोस्रो स्थानमा छ भने ३.३५ अङ्क प्राप्त गरी तान्जानिया तेस्रो स्थानमा छ । त्यसैगरी, सिरिया– ३.४६ (चाैथो), रुवान्डा– ३.४९ (पाँचौं), टोगो– ३.५० (छैटाैं), गिनी– ३.५१ (सातौं), लाइबेरिया– ३.५३ (आठौं), दक्षिणी सुडान– ३.५९ (नवौं) र येमन– ३.६० (दशौं) स्थानमा रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर