newskoseli.Com

लन्डनमा आक्रमण : ५ को मृत्यु, ४० घाइते

एक अपरिचित व्यक्तिले बुधबार राति बेलायको राजधानी लन्डनमा जथाभावी छुरा प्रहार गर्दा एक सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनुका साथै चालीस जना घाइते भएको बेलायती प्रहरीले पुष्टि गरेको छ ।

बुधवार अपरान्ह (नेपाली समय अनुसार बुधबार राति) केन्द्रीय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर सो आक्रमण र हताहतीको घटना भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् ।

सो आक्रमणको घटनामा परी कर्तव्य पालनका क्रममा खटिरहेका ४८ वर्षीय प्रहरी अधिकृत किथ पामरको मृत्यु भएको सहायक आयुक्त रोलेले समाचारदाताहरुलाई बताए । किथ पामरले बेलायती प्रहरीमा पन्ध्र वर्षसम्म सेवा पुर्‍याएका थिए । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कवादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख समेत हुन् ।

आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिक गरिसकेको छैन तर बेलायती प्रहरीलाई आक्रमणकारीको पहिचान भएको जनाइएको छ । प्रहरी अधिकृत पामरको हत्याको तत्कालै गोली हानी अन्य प्रहरीले आक्रमणकारीलाई घटनास्थलमै ढालिदिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार एक व्यक्ति एउटा अति तीब्र गतिको कारमा एक्लै आई संसद् भवन परिसर बाहिरको वेस्टमिन्स्टर ब्रिजको फुटपाथमा गाडीलाई जबर्जस्ती चढाएर संसद् भवन भित्र घुस्न खोजेको र सो कारले ठक्कर दिई तीन प्रहरीहरुलाई ठहरै पार्नुका साथै सडकमा हिँडिरहेका कम्तिमा बीस पदयात्रीलाई घाइते बनाएको थियो ।

फुटपाथमा उक्लिएपछि तीब्र गतिको सो कारको सन्तुलन बिग्रन गएर संसद् भवन– हाउस अफ कमन्स परिसर बाहिरको बार र पर्खालमा ठोक्किन पुगी उक्त कार दुर्घटनाग्रस्त भएको थियो तर भित्र बस्ने चालकलाई केही पनि भएको थिएन ।

उक्त कारको चालक अकस्मात् गाडीबाट बाहिर निस्केर लामो र धारिलो छुरा निकाली वरिपरि रहेका मानिसहरुमाथि जथाभावी आक्रमण गर्न थाल्यो । आक्रमणकारीको पहिलो निसानामा प्रहरी अधिकृत किथ पामर पर्न पुगे, छुराको प्रहारबाट तत्कालै ढली उनले ज्यान गुमाउन पुगेका थिए । घटनामा अरु कसैको संलग्नता छ–छैन, यसबारे पत्ता लगाउन बेलायती प्रहरी सूक्ष्मरुपले अनुसन्धानरत रहेको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर