newskoseli.Com

कर नतिर्नेलाई एक ट्याक्टर फोहोर उपहार

वीरगन्ज उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई फोहोर उपहार पठाउन थालेको छ ।

वर्षौदेखि उपमहानगरपालिकाको घरजग्गालगायतका कर बक्यौता राख्ने ठूला करदाताको गेट अगाडि फोहोर थुपारेर साङ्केतिक विरोधको अभियान उपमहानगरपालिकाले थालेको हो ।

सोही क्रममा बुधबार वीरगन्जको श्रीपुरमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालयको मूल गेटमै नगरक्षेत्रबाट सङ्कलन गरिएको एक ट्याक्टर फोहोर थुपारेर उपमहानगरपालिकाले अभियानको सुरुवात गरेको छ ।

२०५२ सालदेखि कृषि सामाग्री कम्पनी लिमिटेडले उपमहानगरपालिकाको घरजग्गा कर र एकीकृत सम्पत्ति करबापतको रु ९१ लाख ३६ हजार ४५ बक्योता राखेको र पटक–पटक ताकेता गर्दासमेत तीर्न नमानेपछि कम्पनीको मूल गेटमा उपहार लेखिएको सूचनासहित एक ट्याक्टर फोहोर थुपारिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

मूलगेटमै फोहोर थुपारिदिएका कारण कार्यालयको काममा असर परेको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।

कर तीर्न आफूले माथिल्लो निकायमा पटक पटक ताकेता गरिरहेको बताउँदै कार्कीले यसबारेमा आवश्यक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।

वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले उपमहानगरपालिकामा रहेका ठूला करदाताले वर्षौदेखि कर नबुझाएको र पटक पटक ताकेदा गर्दा समेत अटेर गरी बसेकाले साङ्केतिक विरोधस्वरुप करदाताको गेटमा फोहोर उपहार पठाएको जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर