newskoseli.Com

म बालकृष्ण ढुङ्गेल !

 

 

 

 

 

 

आफ्नै सेनापतिद्वारा कैद हुनुपर्ने
मेरो सुप्रिम कमान्डरको अति प्रिय लालसैनिक
म बालकृष्ण ढुङ्गेल ।

जसको आदेशमा मैले घनघोर युद्ध लडें
कयौं मोर्चा जितें, कयौं मोर्चा हारें
जेल र नेल बेहोरें,
प्रतिक्रियावादी सत्ताले बलात्कारी र दुराचारी करार गरेका
अपराधीहरुको लात्ती र भकुन्डो खाएर
कालकोठरीमा वर्षौं गुजारें
कमरेड,
मलाई चिन्नुहुन्छ ?
म बालकृष्ण ढुङ्गेल ।

तिनका यातनागृहमा
निर्मम यातनाद्वारा प्रताडित भएर
बारम्बार मर्दै–बाँच्दै
अन्तत: जीर्ण भएको
आफ्नै शरीरको भारी बोकेर
२–४ दिन खुला आकाशमुनि छोडिएको
म त्यही हजुरको अब्बल रातो सैनिक ।

मेरा कति हिसाबकिताब त्यत्तिकै छन्
अधूरै–अपूरै
लिनु मेरो पनि कम्ति थिएन तिनीहरुसँग
मैले कोसँग मागौं ?
हिजो अरुको ठाउँमा आज हजुर हुनुहुन्छ
उनीहरु हजुरलाई देखाउँछन्
हजुर अरुलाई देखाउनुहुन्छ
अनि भन्नुहुन्छ– भो छोडिदेऊ
कयौं साल छोडें पनि मैले
तर उनीहरुले छोडेनन्
आज
मलाई खुला हावामा सास फेर्न
मलाई स्वतन्त्र भएर बाँच्न अनि मर्न पनि
प्रतिबन्ध छ
तपाईंले बिर्सिए पनि
तपाईंलाई सम्झिरहने
म हजुरको प्रिय सिपाही बालकृष्ण ढुङ्गेल ।

विचाराधीन हजारौं मुद्धा अलपत्र पार्दै
हामीले हाम्रा अदालत विघटन गर्‍यौं
उही थोत्रा जुत्ता–चप्पल भिर्न
हामीले आफ्ना मेहनतले निर्माण गरेको
त्यो महान् विकल्प खारेज गर्‍यौं
कयौं आफ्नै सपनाहरुको रेटी–रेटी हत्या गर्‍यौं
हजारौं कुशल र अब्बल कमान्डरहरुलाई
कयौंलाई सित्तैंमा बेच्यौं
कयौंलाई अरबका मरुभूमि खेद्यौं

मेरो प्रिय सुप्रिम कमान्डर !
के म एउटा प्रश्न सोध्न सक्छु ?
अरुबाट लखेटिँदा–लखेटिँदा
थकित–गलित यो शरीरले
हजुरको लखेटाई कसरी सहन गर्छ ?
एउटा जवाफ फेरि चाहिएको छ–
विघटित हाम्रा अदालत
फेरि पुनर्स्थापित गरौं या लम्पसार परौं ?

मेरो प्रिय सुप्रिमो
भन्नाेस् अब
म बालकृष्ण ढुङ्गेल के गरौं ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर