newskoseli.Com

‘समथिङ’ का २२ कृति एकैसाथ विमोचित

साहित्यकार गुरुङ रामप्रकाश ‘समथिङ’ ले लेखेका २२ वटा कृति शनिबार एकैसाथ विमोचन गरिए । पाँचथर स्रष्टा मञ्चको आयोजनामा राजधानीमा भएको कार्यक्रममा साहित्यकार बासुदेव त्रिपाठी, डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, डा. राजेन्द्र सुवेदीलगायतले २२ वटा औपन्यासिक कृतिको संयुक्त रुपमा विमोचन गरे ।

कृति लोकार्पण गर्दै साहित्यकार त्रिपाठीले एकैसाथ २२ वटा कृति प्रकाशन गरेर लेखकले नेपालको साहित्य क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएको बताए । उनले कृतिहरु सामाजिक परिवेशमा लेखिएकाले समाजका लागि प्रेरणादायी हुने धारणा राखे । डा. गोविन्दराज भट्टराईले कृतिमाथि समीक्षा गर्दै लेखकले कसैले पनि गर्न नसकेको कार्य गरेको बताए । ‘समथिङ’ ले नेपाली साहित्यमा छुट्टै पहिचान बनाउन सकेको धारणा उनले राखे । मानिस समाजमा कसरी घुलमिल हुन सक्छ भन्ने कुरा कृतिमा दर्शाइएको उनले बताए ।

अाफ्ना कृतिहरु गाउँको परिवेशलाई आधार बनाएर सामाजिक र राजनीतिक विषयमा लेखिएको जानकारी लेखकले गराए । कृतिहरु अघिल्लो पुस्ताका मानिसले गरेका राम्रा काम पछिल्लो पुस्तालाई सिकाउन ऐतिहासिक दस्तावेज हुने उनले उल्लेख गरे । छ महिनामा ती २२ कृति लेखिएको जानकारी उनले गराए । एउटा कृतिलाई ७ देखि १२ दिनसम्म लगाइएको उनले बताए ।

२२ कृतिमा ‘भ्रष्टाचारको कमाल’, ‘सौतेनी आमा’, ‘धनीरामको दसैं’, ‘बेसहरा’, ‘दुर्दशा’, ‘जनयुद्धको उपहार’, ‘जवानीको ज्वालामुखी’, ‘जँड्याहाकी स्वास्नी’, ‘महलदेखि सडकसम्म’, ‘विचरा १ जङ्गे कमरेड’ अादि रहेका छन् ।

सोही कार्यक्रममा साहित्यकार तथा पत्रकार सचित राईलाई सहिद रत्नकुमार वान्तवा वाङ्मय पुरस्कार– २०७३ बाट पुरस्कृत गरियाे । रत्नकुमार वान्तवाबारे खोज–अनुसन्धान गरेबापत आँखा विकास पत्रिकाले राईलाई प्रदान गरेको नगद ५ हजार ५ रूपैयाँसहित डा. गोविन्दराज भट्टराईले उनलार्इ पुरस्कृत गरेका हुन् । राईले ‘माङ्खिम’ कृतिमा वान्तवाको जीवनीबारे खोज–अनुन्धानमूलक सामग्री लेखेका थिए ।

ओझेलमा परेका वान्तवाका बारेमा खोज अनुसन्धान गरेर आफ्नो कृतिमा राईले सबैलाई सुसूचित गराएको डा. गोविन्दराज भट्टराईले बताए । वान्तवाले नेपालको राजनीतिक आन्दोलनमा खेलेको भूमिकाबारे राईले आफ्नो कृतिमा उल्लेख गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर