newskoseli.Com

महानगर मेयरमा वैद्यका उम्मेदवार : यस्ता छन् उनका एजेन्डा

कुम्भेश्वर– २२,  ललितपुर निवासी विजय खड्गी २०४५ देखि मशालको सदस्य हुँदै माओवादी आन्दोलनमा क्रियाशील भएका हुन् । अहिले उनी वैद्य माओवादीको राज्य समिति सदस्यका रूपमा राजनीतिकर्ममा तल्लिन छन् । पहिलो संविधानसभा निर्वाचनमा अनेकौं रणनीतिक भूमिका निभाएर नेकपा (माओवादी) बाट उम्मेदवारी दिने ललितपुरका सबै उम्मेदवारहरूलार्इ जिताउन महत्वपूर्ण भूमिका खेलेका खड्गी दोस्रो संविधानसभाको बहिष्कार गर्दै एकीकृत नेकपा (माओवादी) लाई हराउन लागिपरे । यतिबेला भने तिनै खड्गी वैद्य माओवादीको चुनावी मञ्च देशभक्त जनगणतान्त्रिक मोर्चाको उम्मेदवार बनेर ललितपुर महानगरपालिकाको मेयर पदमा चुनाव लड्दैछन् । प्रस्तुत छ, न्युजकोसेली संवाददाता विष्णु आले ‘विकिरण’ ले उनीसँग गरेको चुनावी वार्तालापको सम्पादित अंश ।

तपाईं किन उम्मेदवार बनेर अघि सर्नुभएको ? केका निम्ति हो तपाईंको उम्मेदवारी ?

मैले धेरै वर्ष राजनीति गरें । राष्ट्रघाती र जनघातीहरुले देश डुबाउन थाले, त्यसैका विरुद्ध स्थानीय स्तरमा चेतना जगाउँदै उनीहरुका खराब गतिविधिको भण्डाफोर गरेर अघि बढ्नुपर्ने भयो । भण्डाफोर अभियानको नेतृत्व लिन नगर, क्षेत्र हुँदै महानगरका जनताले मेरो आवश्यकता महशुस गरे, त्यसैले म मेयरको उम्मेदवारका रूपमा अघि सरेको हुँ ।Khadgi2 

वैद्य माओवादी वा त्यसको चुनावी मञ्चले चुनाव चिह्न नै पाएको छैन, यस्तो बेला तपाईंको उम्मेदवारी व्यर्थ हुन्न र ?

हामीले १० वर्षे जनयुद्ध लडेर प्राप्त गरेको चुनाव चिह्न दलालहरुको हातमा पर्‍यो, ठीकै छ । नेपाली राजनीतिमा मोहन वैद्य ‘किरण’ को नामै काफी छ, किन चिन्ता लिनु चुनाव चिह्नको ? यद्यपि देजमो दर्ता गरेर नै हामीले चुनावमा भाग लिएकाले ढुक्क छौं– चुनावअघि निर्वाचन आयोगले हामीलार्इ चिह्न प्रदान गर्छ । यदि गरेन नै भने पनि स्वतन्त्र उमेदवारका रुपमा चुनावमा गइन्छ । स्वतन्त्र उम्मेदवारीमा चुनाव चिह्नको त्यत्ति आवश्यकता म ठान्दिनँ, त्यहाँ व्यक्ति नै प्रधान हुन्छ । सारा नगर, क्षेत्रले चुनेर पठाएको उम्मेदवारी व्यर्थ हुँदैन, एकदमै अर्थपूर्ण हुन्छ ।

दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गर्नुभयो, त्यसले बनाएको संविधान समेत अस्वीकार गर्नुभयो, फेरि त्यही संविधानअन्तर्गत तपाईंहरूले चुनाव लड्ने कुरा कत्तिको उचित हो ?

देश दलाल तथा भ्रष्टहरुको हातमा गएको छ । नेपाली जनताले ज्यादै दुस्ख भोगिरहेका छन् । राष्ट्रियताको प्रश्न अत्यन्तै पेचिलो र संवेदनशील बनेको छ । जनजीविकाको सवाल अत्यन्तै पीडादायी छ । राज्यले बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुको सट्टा खाडी मुलुकका लेबर बनाएर हाम्रो देशको जनशक्ति बेचिरहेको छ । शिक्षा एकातिर, समाज अर्कैतिर पार्ने काम भइरहेको छ । देशमा शान्ति, विकास र रोजगारी दिन नसक्ने सरकारको भण्डाफोर गर्दै जनवादी क्रान्तिको पथमा होमिन सबैलाई आग्रह गरेका छौं । अहिले पनि जनताका समस्या ज्यूँकात्यूँ छन् । दसवर्षे जनयुद्धका घाइते–अपांग, पीडित तथा सहिद परिवारलाई सरकारले राहतको सट्टा पीडा दिने काम गरेको छ । अझ पार्टीलाई संसदीय भासमा लगेर फसाइएको छ । तसर्थ, सत्ताधारीहरुले छरेको भ्रममा नपर्न क्रान्तिकारी माओवादीले नेपाली जनतालाई आग्रह गर्न यतिबेला चुनावमार्फत मात्रै सक्ने हुँदा चुनावको क्रान्तिकारी उपयोग गर्न लागिएको हो ।

प्रतिस्पर्धीहरूलाई पछार्ने के–कस्ता छन् नि तपाईंका रणनीति ?

मेरा प्रतिस्पर्धीहरुसँग न भिजन छन् न कार्यदिशा नै । संसदको स्वाद चाखिसकेका अन्य दलहरूको भन्दा हाम्रो भिजन छ, कार्यदिशा र कार्ययोजना छ । हाम्रा अध्यक्ष मोहन वैद्य किरण नै हामीसँग हुनुहुन्छ । त्यसैले हामी सबैसँग सहजै प्रतिस्पर्धा गरेर आफ्नो विजय सुनिश्चित गर्न सक्छौं ।

के–के हुन् त तपाईंका विकासे तथा चुनावी नाराहरु ?

मैले जितिसकेपछि ललितपुरका सबै ढुंगेधारामा पानी खसाल्ने पहिलो काम हुनेछ । दलाली तथा ठेकेदारी प्रथाको हालीमुहाली निमिट्यान्न पारिनेछ । भौतिक एवम् प्राकृतिक संरचना बिग्रने गरी बनाइएका हाउजिङ र वैज्ञानिक मापदण्डविपरीतका महलहरुलार्इ कानुनको दायराभित्र ल्याइनेछ । निःशुल्क शिक्षा प्रदान गर्न सामुदायिक र संस्थागत विद्यालयबीचको विभेद हटाइनेछ । चारदलीय सिन्डिकेट तोड्दै लम्पसारवाद तथा अवसरवादका विरुद्ध लड्दै जनजीविकाका समस्याहरू समाधान गरिनेछ । ललितपुर जिल्लालाई शान्ति, विकास र रोजगारीको केन्द्रका रूपमा विकास गरिनेछ । यस्ता अनेकौं योजना र स्पष्ट भिजन छन् हामीसँग ।

चुनाव हारियो भनेचाहिँ जंगल वा सशस्त्र विद्रोहतिर जाने हो तपाईंहरू ?

हामी जंगल जाँदैनौं । सशस्त्र विद्रोहको वातावरण बनेमा त्यसको नेतृत्व गर्न हाम्रो पार्टी तत्पर छ । बरू हामी आफ्नै रगतको होली खेलौंला तर विस्तारवादका विरुद्ध अन्त्यसम्म निरन्तर लडी नै रहन्छौं । हामी जिते पनि वा हारे पनि दलालहरुले चाहेजसरी देश बेच्न कदापि दिनेछैनौं । चारदलीय सिन्डिकेट तोड्न र संसदवादीहरूको जंगली स्वभावको भण्डाफोर गर्न निरन्तर लागिरहन्छौं ।

Khadgi1ठूला दलहरुबाट टिकट माग्नुभएको भए हुन्थ्यो नि, वैद्य माओवादीकै उम्मेदवार किन बन्नुभएको ?

अरु दलहरूसँग पैसा छ, सत्ता छ तर तीसँग जनताका एजेन्डा छैनन्, क्रान्तिकारी विचार छैन, उनीहरु बेइमान र धोकेवाज छन् । आफूले २०४५ देखि नै निरन्तर काम गरेर आएको यही पार्टी नै वास्तवमा जनताको पार्टी हो भन्नेमा म विश्वस्त छु । हाम्रो पार्टीको मूल नेतृत्व र नेतृत्वपंक्तिसँग राजनीतिक विचार, कार्यदिशा र इमानदारिता छ । त्यसैले मैले आफूलार्इ सगौरव वैद्य माओवादीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आदरणीय जनतासमक्ष अपिल गर्न चाहेको हुँ ।

ललितपुरबाट जित्न कति मत ल्याउनुपर्छ ? हिसाबकिताब गर्नुभएको छ त ?

ललितपुरमा लगभग ९० हजार भोटर छन्, विजयी हुन कम्तिमा २०–२२ हजार मत ल्याउनुपर्छ, त्यति ल्याउन सक्छौं भन्नेमा म विश्वस्त छु ।

ललितपुर महानगरपालिका व्यापारिक क्षेत्र हो, उद्योग–व्यापार र तपार्इंले अँगालेको राजनीतिबीच कसरी तालमेल मिलाउनुहुन्छ ?

राजनीतिक विचार अरुमा सम्प्रेषण गर्नु पनि एक किसिमको व्यापार नै हो । अहिले पनि केही दलहरु एनजीओ र व्यापारिक संस्थामार्फत राजनीति गरिरहेछन् । कतिले त चुनावी लेनदेन पनि गर्छन् । आफ्ना उद्योग–व्यापार चलाउन समेत कतिपयले पनि राजनीति गर्छन् । हामी कदापि त्यसो गर्दैनौं । समाजविरुद्ध हुने भ्रामक विचारविरुद्ध लाग्दै सही विचार सम्प्रेषण गर्छौं । जहाँसम्म उद्योग–व्यवसाय र व्यापार प्रवर्द्धनको कुरा छ, त्यसमा हामी योजनाबद्ध रूपले अघि बढ्छौं । राष्ट्रिय पुँजी र राष्ट्रिय उद्योग–धन्दाको विकास तथा दलाल–नोकरशाही पुँजीवादको विरोध नै हाम्रो नीति हो ।

तपाईंले पटक–पटक वैद्यबाको नाम लिनुभयो, के हुन् उहाँका त्यस्ता उल्लेख्य योगदान वा चामत्कारिक क्षमता ?

मार्क्सवाद–लेनिनवाद–माओवाद तथा नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादसम्मको लक्ष्य प्राप्त गर्न निरन्तर अगाडि बढिरहेको हाम्रो पार्टी आफैंमा सही क्रान्तिकारी र वैज्ञानिक विचारधारामा आधारित छँदैछ । त्यसमा पनि हाम्रो पार्टीका आदरणीय अध्यक्ष मोहन वैद्य ‘किरण’ को अत्यन्तै इमानदार, दूरदर्शी र परिपक्व राजनीतिज्ञ, सौन्दर्यशास्त्री र दार्शनिक चेतले परिपूर्ण हुनुहुन्छ । हामी तथा नेपाली श्रमजीवी एवं सर्वहारा वर्ग उहाँकै नेतृत्व र मार्गनिर्देशनमा अगाडि बढिरहेका छौं । दोस्रो संविधानसभाको चुनावअघि किरण कमरेड र वैद्य माओवादीले निकै गम्भीरतापूर्वक तिमी यसरी र यतिबेला चुनावमा नजाऊ, सकिन्छौ भनेर प्रचण्डलाई भनेको कुरा यहाँ स्मरणीय छ । यो स्थितिमा तिमीले जित्ने जम्माजम्मी तीस सिट आसपास मात्रै हो भनेर किरण कमरेडले उनीहरूलार्इ भन्नुभएको थियो । उनीहरूले त्यो कुरा मानेनन् र जबर्जस्ती चुनावमा गए, नराम्ररी हारे ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर