newskoseli.Com

मन्थलीको मेयरमा नयाँ शक्तिका उम्मेदवार भन्छन् : जनता ठूला हुन्, दल साना–ठूला हुँदैनन्

नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य रामबहादुर तामाङ (बले) रामेछापको सदरमुकामस्थित मन्थली नगरपालिकामा मेयर पदको उम्मेदवार बनेर भोट माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । अहिलेको संसदमा मुख्य ठूला दल रहेका कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) बीच त्रिपक्षीय भिडन्त चलिरहेको मन्थलीमा नयाँ शक्ति, समाजवादी फोरम र वैद्य माओवादीको साझा उम्मेदवार बनेका रामबहादुरले चाहिँ आफूलाई कसरी प्रस्तुत गरिरहेका छन् त ? न्युजकोसेली प्रतिनिधिले उनीसँग गरेको संक्षिप्त वार्तालापको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक ।

तीन–तीन वटा ठूला पार्टीलाई छाडेर मन्थली नगरपालिकावासी मतदाताले नयाँ शक्ति वा तपाईंलाई नै किन भोट दिने ?

हेर्नोस्, कुनै राजनीतिक दल आफैंमा सानो वा ठूलो हुँदैन । दलले अँगाल्ने सिद्धान्त, विचार, राजनीति र व्यवहारका कारण कुनै बेला कोही ठूलो वा सानो हुन सक्दछ । जनताले पत्याइदिँदा जतिसुकै सानो राजनीतिक दल पनि ठूलो बन्न सक्दछ र जनविश्वास टुट्नासाथ जतिसुकै ठूलो दल पनि सानो हुँदै क्रमशः शून्यमा झर्न सक्दछ । निर्णायक कुरा जनविश्वास वा जनमत नै हो । इतिहासका निर्माता जनता हुन् र जनताको मत नै सधैं निर्णायक, शक्तिशाली र ठूलो हुन्छ । मेरो विचारमा कुनै राजनीतिक दलविशेष ठूला होइनन्, जनताले जत्रो बनाइदियो, उत्रै हुन्छन् ।

तपाईंको प्रश्न नयाँ शक्ति भर्खरै गठन भएको पार्टी भएकातिर लक्षित हो भने त्यो कुरा साँचो हो । तर, छोटो अवधिमै यो पार्टीलाई देशभरिकै जनताले यति धेरै पत्याएका छन्, त्यो कुरा बिस्तारै स्पष्ट हुँदै गएको छ । यो पार्टी देशमा गरिबीको अन्त्य गर्न खुलेको हो । हाम्रो पार्टी पुराना पार्टीहरूसँग प्रतिस्पर्धा गर्न होइन, विचार, सिद्धान्त र व्यवहार सबै क्षेत्रमा नयाँ, वैज्ञानिक र समाधानसहितको विकल्प दिन खुलेको शक्ति हो । नेपालका सबै पुराना दलहरू राजनीतिक परिवर्तनका लागि खुलेका थिए, उनीहरूको कार्यभार सकिएको छ । अबको निकास भनेको आर्थिक विकास हो, त्यसको नेतृत्व गर्न सक्ने नेता डा. बाबुराम भट्टराई मात्रै हुनुहुन्छ । उहाँको विकल्प छैन भन्ने कुरा जनताले बुझ्नुभएको छ । पुराना दलले यतिका समय देशलाई लुटेर खानेबाहेक अरु काम केही गर्न सकेनन् । अब जनताले आफ्नो र देशको समृद्धि चाहेका छन्, त्यसैले नयाँ शक्तिलाई भोट दिएर जिताउँछन् भन्ने कुरा स्पष्ट हुँदै गएको छ । हाम्रो नारा नै छ– ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा ।’

Pratibaddhatta_Baburamराष्ट्रको समृद्धिका लागि हाम्रो पार्टीले लागि ‘५–स’ को सूत्र अगाडि सारेको छ । तिनै सूत्रको आधारमा रहेर हामीले मन्थली नगर र नगरवासीको समृद्धिका निम्ति हामीसँग स्पष्ट नीति, योजना र कार्यक्रम छन् । त्यसकारण मतदाताले हामीलाई विजयी गराएर मन्थली नगरपालिकालाई एउटा उदारहरणीय नमूना नगरमा रुपान्तरण गर्ने कार्यभार हामीलाई सुम्पनु हुनेछ । यसर्थ, एक हातले समातेको मशाल चिह्नमा मतदान गरी मलाई विजयी गराउनुहुन म मन्थली नगरपालिकाका समस्त मतदाता दिदीबहिनी–दाजुभाइ–बा–आमासँग विनम्र अनुरोध गरिरहेको छु । साथसाथै नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र मोहन वैद्य ‘किरण’ ज्यूको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) समेतको साझा उम्मेदवारका रुपमा खडा भएकाले पनि म आफ्नो विजयप्रति ढुक्क छु ।

आजसम्मको चुनावी प्रचारका क्रममा आफूप्रति मन्थलीका मतदाताको आकर्षण कस्तो पाउनुभएको छ त ?

यस क्रममा हामीले डा. बाबुराम भट्टराई र नयाँ शक्तिमाथि मन्थली नगरपालिकाका मतदाताले निकै ठूला आशा र भरोसा गरेको पाएका छौं । उनीहरूको आक्रोश छ– पुराना दलले आफ्नै भुँडी भर्नेबाहेक आजसम्म केही गरेनन् । भर्खरै मात्र म जनतासँग छलफल गर्न सुनारपानीका बस्यालहरूको वस्तीमा गएको थिएँ, त्यहाँका दुई सय घर–परिवारले नयाँ शक्तिलाई मतदान गर्ने बचन दिएका छन् । उहाँहरूले भन्नुभयो– हामीलाई अब बाबुराममाथि मात्रै आशा छ । यही अनुपातमा मन्थली नगरपालिकाका चौध वटै वडाका जनताको समर्थन र साथ नयाँ शक्तिले पाएको छ ।

आफूले जितेमा मन्थलीको मुहार फेर्ने योजना छन् भन्नुभयो, खासमा के–के छन् त तपाईंसँग त्यस्ता योजना ?

मेरो मुख्य जोड शिक्षामा छ । सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिन सकियो भने मात्र नगरको समृद्धि र विकास सम्भव हुन्छ । हामी विशेष गरी दलित र विपन्न समुदायका शतप्रतिशत बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपर्ने स्थितिको ग्यारेन्टी गर्नेछौं । पाँच वर्षभित्र चौध वटै वडामा पिच सडक र ढल निकासको व्यवस्था गरिसक्ने कुरामा म अहिल्यै ग्यारेन्टी गर्दछु । नगरमा विभिन्न खाले उद्योग सञ्चालन गरेर यस नगरका कम्तिमा पनि हजार युवालाई रोजगारीको ग्यारेन्टी गर्दछु । करको दायरा फराकिलो बनाउन घरबहाललाई कानुनी दायरामा ल्याउनेछु ।

तीन–चार लाख मात्रै खर्चमा भूकम्प प्रतिरोधात्मक घर बनाउन सबैलाई आवश्यक प्राविधिक तथा भौतिक सहयोग गर्ने स्पष्ट खाका छ मसँग । नगरभित्रै इँट्टालगायतका कच्चा पदार्थ उत्पादन गर्ने र सस्तो मूल्यमा उपलब्ध गराउने योजना छ । भूकम्पपीडितलाई सरकारले अहिलेसम्म पनि महशुस हुनेगरी राहत प्रदान गरेको छैन, सबैलाई एकमुष्ट राहत उपलब्ध गराउन विशेष र सार्थक पहल गर्दैछौं । राज्यले दिने भनेको रकमले भूकम्प प्रतिरोधात्मक घर बन्न सकेन भने जनतालाई आवश्यकताअनुसार रकम बढाइनेछ । तामाकोशीको पानी तानेर सबै गाउँमा । सिंचाइ र खानेपानीको पर्याप्त व्यवस्था गरिनेछ । सबै वडामा सभाहल, हेलिप्याड र एम्बुलेन्सको व्यवस्था गर्नुका साथै व्यवस्थित र सुविधासम्पन्न स्वास्थ्यचौकीको स्थापना गरिनेछ ।

खेलकुदको विकासका लागि नगरमा एउटा राष्ट्रिय रंगशाला निर्माण गरिनेछ । ‘हरियो वन नेपालको धन’ भन्ने नारा दिँदै जंगल फडानी भैरहेको छ, त्यसलाई रोक्नुका साथै व्यापक मात्रामा वृक्षारोपण गरिनेछ । पर्यटकीय सम्भावनाको अध्ययन गरी यस क्षेत्रलाई पर्यटनस्थल बनाउन विशेष ध्यान दिइनेछ ।

जित्नुअघि सबैले गुलिया कुरा नै गर्छन् नि होइन ? जितेपछि उस्तै त होला नि ?

नयाँ शक्ति पार्टी नेपाल र मेरा अहिलेका प्रतिबद्धताहरुलाई सबैले रेकर्डमा राख्नुभए हुन्छ । प्रतिबद्धता–पत्र सार्वजनिकीकरण कार्यक्रममा हाम्रा केन्द्रीय संयोजकज्यूले चुनावपछि निरन्तर रुपमा चुनावी प्रतिबद्धता पालना भए–नभएको अनुगमन गर्न सार्वजनिक अपिल नै गर्नुभएको छ । मेरो क्षेत्रको जिम्मा म नै लिनेछु, जितपछि मेरो निरन्तर अनुगमन गरिरहन म आदरणीय मतदातासमक्ष अपिल गर्दछु । मबाट प्रतिबद्धता पालना हुन नसके त्यसवापत जनताले गर्ने फैसला र कारबाही शिरोपर गर्न सधैं तत्पर छु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर