newskoseli.Com

रामेछापमा एमालेसँग कसैको प्रतिस्पर्धा हुँदैन : बद्री भण्डारी

तपाईं नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष हुनुहुन्छ, स्थानीय चुनाव संघारमै आइसकेको अवस्थामा हालसम्मको चुनावी तयारीबारे अलिकति बताइदिनोस् !

अहिलेसम्म रामेछाप जिल्लामा नेकपा एमालेको चुनावी तयारी सशक्त ढंगले अगाडि बढिरहेको छ । रामेछापमा ६ वटा गाउँपालिका र २ वटा नगरपालिका छन् । ती सबैमा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरिरहनु भएको छ । नगरपालिकामा मेयर, उपमेयर गाउँपालिकाहरुमा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, सदस्यहरुको टोलीहरु सबै वडाका टोलटोल र घरघरमा पुग्ने काम भइरहेको छ । वडाका उम्मेदवारहरु प्रत्येक मतदाताहरुको घर–घरमा पुगेर आफ्नो पक्षमा मतदात गर्न आब्हान गर्दै भावी कार्ययोजनासहितको प्रतिवद्धता समेत व्यक्त गरिरहेका छन् । समग्रमा भन्नुपर्दा निर्वाचनको तयारी तीव्र ढंगले भइरहेको छ ।

रामेछापमा एमालेको समग्र स्थिति कस्तो छ ? तपाईंहरु स्थानीय तहको निर्वाचनमा कुन शक्तिसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?

रामेछाप जिल्लामा नेकपा (एमाले) दुइवटै नगरपालिका र ६ वटै गाउँपालिकाहरुमा अग्रस्थानमा रहेको छ । अहिलेसम्मको अवस्था हेर्दा रामेछापका सबै स्थानीय निकायमा एमालेले एकलौटी विजय हासिल गर्ने अवस्था देखिएको छ । हामी जिल्लाभरी चुनावी गतिविधिमा क्रियाशील भइरहँदा जनताको आकर्षण हाम्रो पार्टीप्रति बढेको देखिरहेका छौं । त्यसो हुँदा जिल्लामा रहेका सबैजसो स्थानीय तहमा विजय हासिल गर्ने सन्दर्भमा हामी प्रतिस्पर्धी शक्तिभन्दा निकै नै अगाडि छौं । केही वडाहरुमा नेपाली कांग्रेस र केही वडाहरुमा माओवादी केन्द्र पनि हामीसँग प्रतिस्पर्धामा आउन सकिन्छ कि भनेर लागिरहेका छन् । रामेछापका झण्डै ६० प्रतिशत वडामा एमालेसँग प्रतिस्पर्धा गर्नसक्ने कुनै पनि राजनीतिक पार्टीहरु छैनन् । कांग्रेस र माओवादी केन्द्र दोस्रो हुनको लागि प्रतिस्पर्धा गर्ने हुन् । समग्रमा भन्नुपर्दा रामेछापमा एमालेसँग मूल रुपमा प्रतिस्पर्धा गर्ने शक्तिहरु निकै तल देखिएका छन् ।

तपाईंले रामेछापका सबैजसो स्थानीय तहमा विजय हासिल गर्ने कुरा गर्नुभयो, निर्वाचन आफ्नो पक्षमा पार्नको लागि के कस्तो तयारी गरिरहनु भएको छ ?

रामेछापमा एकछत्र रुपमा एमालेका सूर्य ध्वजाबाहक उम्मेदवारहरुलाई विजय गराउनको लागि सिंगो पार्टीपंक्ति केन्द्रीत भइरहेको बेला रामेछाप–काठमाडौं सम्पर्क मञ्चले पनि स्वभाविक रुपमा सशक्त भूमिका निर्वाह गर्ने योजनासहित सिंगो सम्पर्क मञ्च चुनावी माहोलमा होमिएको छ । सम्पर्क मञ्चले एक हजार १ सय ११ सदस्य चुनाव प्रचारप्रसार सहयोग समिति मञ्चको अध्यक्षतामा बनाएको छ । उक्त समितिमा रहनुभएका साथीहरु सबै क्रियाशील भएर आ–आफ्नो क्षेत्रमा खटिरहनु भएको छ । हामी बढीभन्दा बढी साथीहरु फिल्डमा नै खटिरहेका छौं । केही साथीहरु काठमाडौबाट गाउँसम्म मतदाताहरु लैजाने कार्यमा समेत क्रियाशील हुनुहुन्छ ।

Badri Bhandari2
स्थानीय मतदातासँग पार्टीका पक्षमा भोट माग्दै

चुनावी कार्यक्रममा जनताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

जनता २०५४ सालको स्थानीय निर्वाचनदेखि २० वर्षपछि हुन लागेको यो स्थानीय तहको निर्वाचनमा आफ्ना प्रत्यक्ष सरोकार राख्ने र जनताले आफूलाई अप्ठेरो परेको बेला भेट्न र आफ्ना समस्या राख्न सक्ने सरकारको रुपमा रहेको स्थानीय तह निर्वाचनमा आफ्नो अमूल्य मतबाट प्रतिनिधि छान्न आतुर छन् । त्यसमा पनि हिजोदेखि आफ्ना सबै समस्यासँग जानकार रहेको र स्थानीय सरकार शुन्यताको अवस्थामा पनि जनताको सेवामा निरन्तर रहेको पार्टी नेकपा एमालेका उम्मेदवारहरुलाई नै विजय गराउने योजना बनाइरहेको पाइयो । हामी र हाम्रो पार्टी नेकपा (एमाले) आफ्ना उम्मेद्वारसहित जनताको घरदैलो गर्न जाँदा घरघर, टोलटोल र वस्तीवस्तीबाट अविर, फुलमाला, दहीलगायतले स्वागत गरिरहनु भएको छ । उहाँहरुले हाम्रो दुःखसुखको साथी भनेकै एमाले हो भन्दै एमालेले हाम्रो एजेन्डा बोकेको छ, त्यसैले हामी यो निर्वाचनमा एमालेलाई नै सघाउँछौं भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । जसले गर्दा जनताको प्रतिक्रिया सन्तोषजनक नै छ ।

मञ्चमा आबद्ध कार्यकर्ताहरुलाई निर्वाचनमा कसरी परिचालन गरिरहनु भएको छ ?

सम्पर्क मञ्चले चुनावलाई आफ्नो पक्षमा विजय सुनिश्चित पार्न आफ्नो कमिटीमा रहेका सबै सदस्यहरु, क्षेत्रीय सम्पर्क मञ्चहरु, पालिकास्तरीय सम्पर्क मञ्चहरु र वडा सम्पर्क मञ्चहरुलाई पूर्ण रुपले सम्बन्धित भूगोलमा चुनावसम्मको लागि जिम्मेवारी तोकिएको छ । काठमाडौंमा रहेका मतदाताहरुलाई आफ्नो सम्बन्धित वडासम्म ल्याउनको लागि आवश्यक व्यवस्था मिलाउने र भोट खसाल्न गाउँ जान प्रेरित गर्नेजस्ता कार्ययोजना सम्पर्क मञ्चले तय गरेको छ । स्थानीय मतदाताहरुलाई सूर्य चिन्हमा मतदान गर्न प्रेरित गर्ने र मतदाता शिक्षा दिने साथै निर्वाचनको दिन प्रत्येक बुथहरुमा स्वयंसेवकको रुपमा खटाउने र मतपेटिकाको रक्षा गर्नेसम्मको काम सम्पर्क मञ्चले गर्नेछ । यी सबै कामलाई कुशलतापूर्वक सफल पार्न आफ्ना विभिन्न भेला, जनसभा, प्रशिक्षण र बैठकहरुबाट तत् जिम्मेवारी दिइसकिएको छ ।

एमालेलाई नै मतदात गर्नुपर्ने कारण के ? के–कस्ता छन् तपार्इंहरूका एजेन्डा ?

यो मुलुकमा एमाले यस्तो राजनीतिक शक्ति हो, जो जनताको मनमनमा बस्न सफल भएको छ । एमालेले जनपक्षीय कामहरु सबैभन्दा बढी गर्दै आएको छ । राष्ट्रियताको सवाल होस् वा विकास निर्माणको सवाल होस् ती सबै एजेन्डामा एमाले नै स्पष्ट भिजन र दृष्टिकोण भएको पार्टी हो । त्यसैले एमालेलाई नै मतदान गर्नुपर्ने एजेन्डाहरु छन् । ती एजेन्डाहरु बुँदागत रुपमा भन्नुपर्दा–

– यो देशको सार्वभौम सत्ता, अखण्डता, राष्ट्रियता, विधिको शासन स्थापित गर्न ।
– रामेछाप जिल्लाको विकास निर्माणका कामलाइ तीव्रता दिन ।
– स्थानीय तहको हक अधिकारलाई सुनिश्चित गर्न ।
– सुखी नेपाल र समृद्ध नेपाल राष्ट्र निर्माण गर्नको लागि ।
– रामेछापका सबै स्थानीय तहहरुमा स्रोत साधन सम्पन्न गराउनको लागि ।
– कृषिलाई व्यवसायीकरण गर्दै स्वरोजगारमुलक कृषि प्रणालीमा विकास गर्नको लागि ।
– शिक्षालाई व्यवहारिक, व्यवसायिक र वैज्ञानिककरण गर्न ।
– एक घर एक रोजगार नीतिलाई लागू गर्न ।
– तीन वर्षभित्रमा गरिवी उन्मूलन गर्न ।
– पाँच वर्षभित्रमा सबै १८ वर्ष पूरा भएका युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्ने लगायतका एजेन्डाहरु छन् । यिनै मुख्य एजेन्डा पूरा गर्नका लागि नै एमालेलाई भोट दिनुहुन आम जनतामा आब्हान समेत गर्दछौं ।

अन्त्यमा, आम मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

हामी रामेछापवासी आम मतदाताहरुलाई मात्रै होइन, यो मुलुकलाई स्वाधिन, स्वतन्त्र र आत्मनिर्भर बनाउने अभियानमा साथ दिन सूर्य ध्वजाबाहक उम्मेदवारहरुको पक्षमा मतदान गरी विजयी गराउनु हुन सबै देशवासीसँग हार्दिक अपिल गर्दछौं । साथै, तपाईंहरुको मतको पूर्ण सम्मान गर्ने विश्वास समेत समस्त मतदातामा दिलाउन चाहन्छौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर