newskoseli.Com

नेपाल, धरावासी, सुवेदी र आचार्यले लोकार्पण गरे ‘हन्बेर्नो’

दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’ को शनिबार लोकार्पण गरिएको छ । भुटानी शरणार्थीहरुको जीवन–सङ्घर्षमा आधारित उपन्यासको वरिष्ठ पत्रकार किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले संयुक्त रुपमा विमोचन गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै नेपालले भुटान र नेपालकै लागि घाँडो भएका भुटानी शरणार्थीको जीवन मिहिन रुपमा उपन्यासमा आएको बताए । “परित्यक्त बनेका शरणार्थीहरुको बिजोगको कथा उपन्यासमा सजीव भएर आएको छ”, उनले भने– “भाषाशैली सरल बनेकाले उपन्यास सबैका लागि पठनीय बनेको छ ।”

धरावासीले भने– “मैले त शरणार्थीहरुको झलक मात्र दिएको छु, हन्बेर्नोमा सबै कुरा आएका छन् । भुटानी शरणार्थीमाथि अब पुस्तक नलेखे पनि हुन्छ ।” लेखक कार्कीले पुस्तक लेखनको पृष्ठभूमि जोड्दै झापाको शरणार्थी शिविरमा रहेका भुटानीसँगको सम्पर्कले उपन्यास तयार भएको जानकारी दिए ।

“२०५४ सालतिर फुपाजूलाई खोज्न मेघालयतिर गएको थिएँ,’ उनले रचनागर्भ जोड्दै भने– “त्यहाँ काम गर्ने भुटानीहरुको पीडालाई नजिकबाट नियाल्ने मौका पाएँ र त्यही कथालाई जोडेर हन्बेर्नो तयार भएको हो ।” भुटानबाट लखेटिएका र तेस्रो देश पुनर्वासको नाममा नेपाल छोड्न बाध्य शरणार्थीहरुको सङ्घर्ष–कथा बोकेको उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २ सय ९९ रूपैयाँ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर