
७१ जना सर्जकका मुुक्तक सङ्ग्रहित कृति ‘परिवर्तन संयुक्त मुक्तकसंग्रह’ सार्वजनिक भएको छ ।
परिवर्तन सर्गम साहित्य प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गजलकार डा. घनश्याम परिश्रमी, थारु भाषा–साहित्यका स्रष्टा पुनाराम कर्यावरिका, समालोचक जीके पोखरेल, गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसनका अध्यक्ष दामोदर ढकाल ‘दीपक’ र ‘परिवर्तन’ संयुक्त मुक्तक सङ्ग्रहका संयोजक गोविन्द लामिछानेले संयुक्त रूपमा मुक्तकसङ्ग्रहको विमोचन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमीले भने– ‘युवापुस्ताले पाका पुस्तासँग सिक्दै पुरानो पुस्तालाई सम्मानित गर्नुपर्छ । हामी सम्मानित हुन तपाईं युवाहरूको महत्वपूर्ण भूमिका हुन्छ र तपाईंहरु माथि उकासिन हामी पाका पुस्ताको भूमिका हुन्छ ।’
“गजलको पछिपछि मुक्तक दगुरिरहेको आजभोलिको समयमा नवप्रवेशीहरूले साहित्यमा प्रवेश गर्दा मुक्तक अँगाल्न थालेका छन्’, गजलकार परिश्रमीले थपे– ‘यो संयुक्त मुक्तकसङ्ग्रहले नेपाली मुक्तकको विकासमा भूमिका खेल्छ–खेल्ने सामर्थ्य राख्नुपर्छ ।’
थारु भाषा–साहित्यका स्रष्टा पुनाराम कर्यावरिकाले गजल सुनाएर उपस्थित साहित्यप्रेमीलाई मन्त्रमुग्ध पार्दै आफ्नो संक्षिप्त मन्तव्यमा भने– ‘परिवर्तन संयुक्त मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा एउटा इँट्टा थप्ने काम गरोस्, शुभकामना छ ।’
परिवर्तन मुक्तक सङ्ग्रहको संयोजन–सम्पादन गोविन्द लामिछानेले गरेका हुन् प्रकाशन तथा वितरण गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसनले गरेको हो । ७१ जना सर्जकका मुुक्तक सङ्ग्रहित पुस्तकको मूल्य १२५ रुपैयाँ छ ।