newskoseli.Com

‘हिट एन्ड रन’ रोक्न प्रभावकारी बन्दै सीसी क्यामेरा

बजार चोकमा जडान गरिएका सीसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएका छन् । विभिन्न स्थानमा राखिएका सीसी क्यामेराबाट चौबीसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धान सहज भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माका अनुसार सीसी क्यामेरा जडानले जिल्लाका गतिविधिको निगरानीसँगै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको खोजी सहज भएको छ । सीसी क्यामेराले राजमार्गमा हुन सक्ने आपराधिक गतिविधिको निगरानी, कैदीबन्दीका क्रियाकलापको अध्ययनका साथै प्रहरी स्वयमका कामकारबाही समेतको निगरानी भएको प्रवक्ता शर्माले बताउँछन् ।

‘हिट एन्ड रन’ का घटनामा अपराधी समात्न सहज भएको जानकारी दिँदै उनले भने– “केही साताअघि राति पैदल यात्रुलाई जोगाउने क्रममा काँकरभिट्टामा एउटा कारले प्रहरीलाई नै ठक्कर दिएर फरार भए पनि सीसी क्यामेरको फुटेजकै आधारमा समात्न सफल भयौं ।”

प्रहरी पनि अमर्यादित क्रियाकलापमा संलग्न भएको जनगुनासो समाधान गर्न सीसी क्यामेरा प्रभावकारी बन्दै गएको प्रवक्ता शर्माले बताए । प्रहरी कार्यालय र मुद्दा शाखामा सीसी क्यामेरा जडान गरिएकाले कैदीबन्दीसँगै प्रहरीको गतिविधिमा पनि निगरानी भइरहेको छ । झापाको चन्द्रगढी, काँकरभिट्टा, धुलाबारी र बिर्तामोडमा राजमार्गसँग जोडिएका मुख्य चोकमा सीसी क्यामेरा जडान गरिएकाले राजमार्गमा हुने हरेक पलको गतिविधि भिडियाेका रूपमा कैद भइरहेको छ । पहिले राजमार्गमा ठाउँ–ठाउँमा प्रहरी ढाट राखेर गरिने जाँच अहिले सीसी क्यामेराले गरिरहेको छ ।

अनारमनीस्थित इलाका प्रहरी कार्यालयले थुनुवाको निगरानी र बाहिरी गतिविधि नियाल्न एक–एक थान क्यामेरा जडान गरेको छ । “सीसी क्यामराले मानसिक रुपमा पनि सबैलाई सचेत गराएको छ”, प्रहरी नायब निरीक्षक केशवबहादुर थेबेले भने– “थुनुवा भेट्न के–कस्ता व्यक्ति आउँछन्, त्यसको पनि रेडर्क गरिन्छ ।” आन्तरिक प्रयोगका लागि काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयले दुई थान क्यामेरा जडान गरेको छ ।

मुद्दा फाँट र केरकार गर्ने ठाँउमा एक–एक थान क्यामेरा जडान गरिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार क्यामेरा जडानले सेवाग्राही र प्रहरी दुवैलाई जवाफदेही बनाएको छ । धुलाबारी चोकमा बजार क्षेत्रको सुरक्षाका लागि क्यामेरा जडान गरिएको छ । त्यसको निगरानी भने प्रहरीले नै गरिरहेको छ ।

दमकस्थित इलाका प्रहरी कार्यालयमा कार्यालयको प्रयोजनका लागि १ थान र बजार क्षेत्रको निगरानी गर्न ८ थान क्यामेरा जडान गरिएका थिए । अहिले सबै क्यामेरा बिग्रिएको प्रहरी नायब निरीक्षक राजन लिम्बूले जानकारी दिए । बिर्तामोड मुक्तिचोकमा जडान गरिएको सीसी क्यामेरा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरिरहेको छ । सीसी क्यामेराले सुरक्षा संवेदनशीलता घटाउने ट्राफिक प्रमुख ढुण्डीराज गिरीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर