newskoseli.Com

उद्योग क्षेत्रमा भित्रियो १५ अर्ब वैदेशिक लगानी

नेपालको उद्योग क्षेत्रमा १५ अर्ब १ करोड ७२ लाख वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारी अनुसार ३ सय ९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३ सय ७०, मझौला १६ र ठूला ९ वटा रहेका छन् ।

संविधान निर्माणसँगै नेपाली उद्योग क्षेत्रमा विदेशी लगानी भित्रिने क्रम बढेको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल बताउँछन् । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको सक्रियतामा आएको विशेष आर्थिक क्षेत्र (सेज) ऐन र आौद्योगिक व्यवसाय ऐनसँगै उद्योग क्षेत्रमा लगानी बढेको उनको भनाइ छ ।

ठूला उद्योगमा ६ अर्ब २२ करोड ७० लाख रूपैयाँ, मझौलामा १ अर्ब १७ करोड ४९ लाख रूपैयाँ र साना उद्योगमा ७ अर्ब ६१ करोड ५३ लाख रूपैयाँ लगानी भएको छ । सबैभन्दा बढी चिनियाँ लगानीकर्ता छन् । चीनले ठूला ६, मझौला ७ र साना १ सय ७० वटा उद्योगमा ६ अर्ब २४ करोड ६७ लाख रूपैयाँ लगानी गरेको छ ।

भारतले १ ठूलो, ३ मझौला र ३६ साना उद्योगमा १ अर्ब ९९ करोड ७० लाख रूपैयाँ लगानी गरेको छ । मझौला तथा साना उद्योगमा लगानी गर्ने धेरै मुलुक छन् । संयुक्त राज्य अमेरिका ३८, दक्षिण कोरिया १५, जापान १२, बेलायत र नेदरल्याण्ड ९–९, फ्रान्स ८, बंगलादेश र स्वीट्जरल्यान्ड ७–७, जर्मनी ६ तथा बेल्जियम र क्यानडाले ५–५ वटा उद्योगमा लगानी गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मी विदेशी लगानीलाई बढीभन्दा बढी भित्र्याउन सरल नीति बनाउनुपर्नेमा जोड दिन्छन् । “स्वदेशमा भएका स्रोत–साधनलाई अधिकतम उपयोग गरी देशको आर्थिक मेरुदण्ड बलियो बनाउन विदेशी लगानी आवश्यक छ”– उनले भने ।

वैदेशिक लगानीमध्ये सबैभन्दा बढी पर्यटन, कृषि र वनजंगल, ऊर्जा तथा सेवामूलक र उत्पादनमूलक व्यवसायमा लगानी भएको छ । उद्योग दर्तालाई सहज बनाउन विभागले माघ २ देखि अनलाइन दर्ता प्रक्रिया सुरु गरेको छ । स्वदेशी लगानीका साना उद्योग दर्ता लघु, घरेलु तथा साना उद्योग विभाग र समितिबाट हुँदै आएको छ ।

ठूला र मझौला स्वदेशी तथा विदेशी लगानीका उद्योग उद्योग विभागबाट दर्ता हुँदै आएका छन् । गत आ.व. मा उद्योग क्षेत्रमा १५ अर्ब २५ करोड ८५ लाख रूपैयाँ वैदेशिक लगानी भएको थियो । ठूला ९, मझौला १८ र साना ३ सय २१ उद्योग दर्ता भएका थिए । विभागले विदेशी १० करोड रूपैयाँभन्दा कम लगानीका साना उद्योग, १० करोडदेखि २५ करोड रूपैयाँ लगानी रहेका मझौला तथा २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ ।

ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरद्वारा कामका साथै संस्थागत सुधारले गर्दा उद्योग क्षेत्रमा वैदेशिक लगानी बढ्दै गएको विभागले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर