newskoseli.Com

गाडी नै छैन त केको भाडा, कहाँको ड्राइभर ?

नेकपा (माओवादी केन्द्र) का तर्फबाट धनुषाबाट प्रतिनिधित्व गर्ने सांसद हुन्– प्रतिक्षा तिवारी । देउवा नेतृत्वको सरकारमा उनी पनि मन्त्री बन्ने चर्चा बढ्दै गएको छ । यो चर्चासँगै जोडिएर सञ्चार माध्यममा विभिन्न किसिमका समाचार आइरहेका छन् । राजधानीबाट प्रकाशित एक साप्ताहिकमा तिवारी र उनका श्रीमानबीच सम्बन्ध–विच्छेद भइसक्यो भनेर पनि समाचार आयो । न्युजकोसेलीसँग कुराकानी गर्न सांसद तिवारी उनका श्रीमान् (श्रीचन्द मुखिया) सँगै उपस्थित भइन् । प्रस्तुत छ, उनीसँग  गरिएको सोही कुराकानीको मुख्य अंंश ।

तपाईंको पारिवारिक र राजनीतिक सम्बन्धबारे मिडियामा नकारात्मक खबर आइरहेका छन् नि, सत्यता के हो ?

मेरो पारिवारिक सम्बन्ध र राजनीतिक भविष्यलाई प्रभाव पार्नेगरी मिडियाबाजी भइरहेको छ । यी समाचारहरुमा कुनै सत्यता छैन, ती सरासर झुटा र कपोलकल्पित हुन् । मिडियाबाजी गरेर मेरो चरित्रहत्या गर्न खोजिएको छ । कहाँसम्म भने व्यवस्थापिका–संसदजस्तो गरिमामय संस्थाले गर्दै नगरेको कारबाही समेत भयो भनिएको छ । संसदमा मलाई कुनै कारबाही नै भएको छैन, कारबाहीमा पर्नुपर्ने गरी कुनै काम मैले गरेकी छैन । यस्ता समाचार आउँदा म आफैं आश्चर्यमा परेकी छु ।

श्रीमान्–श्रीमतीबीच समेत सम्बन्ध–विच्छेद भयो रे नि ?

यो सरासर निराधार र गलत हो प्रचारवाजी हो । हामी अहिले पनि सँगै छौं । सम्बन्ध–विच्छेद गर्नेबारे हामीबीच कहिल्यै कुनै चर्चा समेत भएको छैन । श्रीमान्–श्रीमती सँगै हुँदाहुँदै ‘ल यिनीहरुको त सम्बन्ध–विच्छेद भइसक्यो’ भनेर समाचार आउँदा हामीलाई बडो आश्चर्य लागिरहेको छ । मेरा श्रीमान् यहीं नै उपस्थित हुनुहुन्छ । हामी मिलेर बसिरहेका छौं । यस्तो अवस्थामा सपनामा पनि नसोचेको समाचार आउँछ, मैले थप के भन्नुपर्‍यो र ?

भनेपछि, हुँदै नभएको ‘सम्बन्ध–विच्छेद’ को समाचार छापियो त ?

हामी सँगै छौं, यी यहाँ पनि सँगसँगै नै आएका छौ, कसरी हुन्छ हामीबीच सम्बन्ध–विच्छेद ? अझ समाचारमा त उहाँ (श्रीमान् श्रीचन्द मुखियातिर हेर्दै) ले कुटेर मलाई लडाउनुभएको कुरा लेखिएको छ । अचम्म लाग्छ, कसरी आयो यस्तो समाचार ? ती सब हुँदै नभएका कुरा हुन् । पूरै काल्पनिक, सरासर भ्रम छर्ने र मेरो चरित्रहत्या गर्ने प्रयास मात्रै हुन् ती प्रचारवाजी ।

सुविधाको गाडी लिएर दुरुपयोग गरेकाले संसदको कारबाहीमा परेको भन्नेजस्ता खबरहरु पनि गलत हुन् त ?

मैले अहिलेसम्म कुनै गाडी भाडामा लिएकी पनि छैन, संसदबाट सुविधामा गाडी प्रयोग गरेकी पनि छैन । मेरो नाममा न गाडी छ न त स्कुटर नै । गाडी नै नभएपछि ड्राइभर, गाडी भाडाजस्ता सवाल कसरी उठाइएका हुन् ? यही त अचम्म छ । कम से कम मैले गाडी प्रयोग गरेकी भए, त्यस प्रकारका सुविधा लिएकी भए यस्ता प्रश्न उठाउन पनि मिल्थ्यो होला । तर, प्रश्न उठाउनेसम्म पनि कुनै आधारै नभएका विषयमा समाचार आए । मविरुद्ध उजुरी परेको कुरा समेत पूरापूर गलत हो । मविरुद्ध कुनै उजुरी परेको छैन ।

मन्त्री छनोटको कसरत चलिरहेको छ र तपाईंको नाम पनि चर्चामा छ, मन्त्री बन्ने पक्का भएका हो ?

हाम्रा अध्यक्षले नेतृत्व गर्नुभएको सरकारले राजीनामा दिएपछि हाम्रै पार्टीको सहभागितामा नयाँ सरकार बनेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्रीहरु थप्ने क्रम जारी रहँदा स्वाभाविक रुपले मन्त्रालयहरुको बाँडफाँड, मन्त्री चयनलगायतका विषयमा छलफल चल्ने गर्दछन् । म मन्त्री बन्ने कि नबन्ने भन्ने कुरा त पार्टीमा निर्भर रहन्छ । निर्णय गर्ने पार्टीले हो । व्यक्तिगत रुपमा म नै मन्त्री बन्नु पर्दछ भनेर पार्टीमा दावी गरेकी छैन र मन्त्री बन्नका लागि लबिङ गरेकी पनि छैन ।

दावी र लबिङ नै नगरी कसरी चल्यो त मन्त्री बन्ने कुरा ? पार्टीले मन्त्री बनायो भने अस्वीकार गर्ने ?

अघि नै भनिसकें कि म मन्त्री बन्नुपर्छ भनेर दाबी गरेकी छैन । मलाई मन्त्री बनाउने पक्षमा बोलिदिनुपर्‍यो भनेर कसैसँग लबिङ पनि गरेकी छैन । यदि पार्टीले निर्णय गरेर मन्त्रालय सम्हाल्ने जिम्मेवारी दिन्छ भने म पन्छिने कुरा त आउँदैन । आजसम्म पार्टीले गरेका निर्णयको सधैं नै पालना गर्दै आएकी छु र आगामी दिनमा पनि पार्टीले दिने जिम्मेवारी, निर्देशन र निर्णयलाई पूर्णरुपले पालन गर्नेछु । पार्टीले खटाएको काममा नजाने या अस्वीकार गर्ने प्रश्न आउँदैन । पार्टीको नियर्णय र निर्देशनअनुसार जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।

तपाईंलाई मन्त्री बनाउने भनेर पैसा उठाउदै हिँडेका छन् रे नि ? कति उठ्यो त पैसा ?

मलाई मन्त्री बनाउने भनेर को–को हिँडेका छन्, थाहा छैन । मन्त्री बनाउने–नबनाउने निर्णय पार्टीले गर्दछ, कुनै व्यक्तिले होइन । यी र यस्ता कुराहरुमा मेरो नाम जोड्नु भनेको राजनीतिक र व्यक्तिगत ‘करिअर’ समाप्त पार्ने दुष्प्रयास हुन् । मलाई बदनाम गर्न जबर्जस्त रुपमा यस्ता प्रचारबाजी गरिएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर