
मिडियाका भित्ताहरुमा देशको चिन्ता गाउँछौ धेरै
घर बसाउन नसकेर दुनियाँतिर धाउँछौ धेरै ।
घरको चिन्ता नहुनेलाई के पो होला देशको चिन्ता
सत्य–तथ्य नबुझुञ्जेल लोकप्रियता पाउँछौ धेरै ।
तिम्रो एउटै योजनामा देश स्वर्ग बन्नेजस्तो
फोस्रा भाषण सुनाएर फूलका माला लाउँछौ धेरै ।
सोचीहिँड्छौ आफ्नै विकास मस्तिष्क र मनभित्र
विकासका नाम गरी जनता ठग्न आउँछौ धेरै ।
दुनियाँले देखेको छ तिम्रै घर चुहिएको
आश्वासन र झुटा प्रेमले अरुको घर छाउँछौ धेरै।