newskoseli.Com

१७ प्रतिशत ग्राहक थप्दै नेपाल टेलिकम

मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

उपभोक्ता वर्गको अपेक्षा अनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आ.व. मा विभिन्न कार्यक्रममार्फत टेलिकमले आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिव २२ अर्ब पुँजीगत लगानी गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।

१७ प्रतिशत ग्राहक थप गर्ने उद्देश्य अनुरूप टेलिकमले चालु आ.व. मा मुलुकभर गुणस्तरीय जीएसएम सेवा उपलब्ध गराउने लक्ष्यसहित एक वर्षभित्र १ करोड जीएसएम प्रोजेक्ट अन्तर्गतका कार्य सम्पन्न गर्ने भएको छ । सो सेवाबाट मुलुकका अति विकट तथा दुर्गम स्थानमा समेत जीएसएम सेवा विस्तार हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

हालसम्म पुरानो प्रविधिमा आधारित ल्यान्डलाइन सेवाबाट सञ्चालित आधारभूत टेलिकम सेवा (पीएसटीएन) मध्ये काठमाडौंमा १४ वटा तथा काठमाडौं बाहिरका क्षेत्रमा १५ वटा एक्स्चेन्जमा जम्मा ३९ हजार ३ सय ३६ लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन गरी केही समयभित्रै कूल एक लाख ३४ हजार लाइन क्रमिक रूपमा प्रतिस्थापन गर्दै लैजाने टेलिकमले जनाएको छ ।

4G_Nepal Telecomटेलिकमले चालु आ.व. मा इन्टरनेट सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तार गर्न वायरलाइन तथा मोबाइल डाटा सेवालाई अझ बढी सुविधा र सहजताका लागि ग्राहक माझ प्रस्तुत गर्ने भएको छ । “ग्राहकको चाहना अनुरूप नयाँ–नयाँ डाटा प्याकेज बजारमा ल्याई डाटा सेवाबाट कम्पनीको आम्दानी बढाउन पहल हुनेछ,” राजभण्डारीले भने– “मोबाइल डाटा सेवातर्फ विभिन्न सेवा सुरु भइसकेको र भविष्यमा अन्य सेवा समेत सुरु गर्नुका साथै मोबाइल वित्तीय सेवा यथाशीघ्र सुरु गर्न गृहकार्य भइरहेको छ ।”

दूरसञ्चार पूर्वाधार निर्माणतर्फ भने ग्रामीण दूरसञ्चार कोषमार्फत पहाडी जिल्लामा अप्टिकल फाइबर परियोजना कार्यान्वयनका क्रममा रहेको छ । टेलिकमले वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा फ्री वाइफाई सञ्चालन गरेको छ । सबै सेवामा ग्राहकको गुनासो, इन्क्वारी, जानकारीलाई एकीकृत गरी छिटो तथा सरलरूपमा सेवा प्रदान गर्न अत्याधुनिक ग्राहक सम्पर्क कक्ष सञ्चालनलाई विस्तारित र प्रभावकारी बनाउने टेलिकमको योजना छ ।

आगामी ६ महिनाभित्रमा देशभरि दूरसञ्चारको सम्पूर्ण सेवालाई एकद्वारमुखी ग्राहक सेवा प्रणाली ग्राहक सम्बन्ध व्यवस्थापन मार्फत प्रदान गरिने राजभण्डारीको भनाइ छ । चालु आ.व. मा टेलिकमको आम्दानी ४४ अर्ब रूपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ भने करपछिको मुनाफा १५ अर्ब रूपैयाँभन्दा बढी हुने अपेक्षा गरिएको छ ।

२०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार १ करोड ७४ लाख ४२ हजार ९ सय २२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ ।

आ.व. २०७३/७४ मा कम्पनीको भ्वाइस सेवाका ग्राहक आधार १७ प्रतिशत वृद्धि भई टेलिघनत्व ६२ प्रतिशत पुगेको छ । डाटा सेवाका ग्राहक ११ प्रतिशतले वृद्धि भई डाटा घनत्व करिव ३० प्रतिशत पुगेको छ । टेलिकमले पछिल्लो पटक देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्‍याउनका लागि आइतबारदेखि मंगलबारसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस सेवा समेत उपलब्ध गराउने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर