newskoseli.Com

अर्थतन्त्रमा सकारात्मक सूचक : अर्थमन्त्री

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेको उल्लेख गर्दै सबै क्षेत्रबाट सहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन् ।

उनले भने– “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ, यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छौं । उद्योगी–व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी छ ।”

शुक्रबार राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १८औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको र अर्थतन्त्रको दायरा समेत फराकिलो हुँदै गएकाले थप लगानी गर्न सहज हुनेमा उनले जोड दिए ।

लगानी भित्र्याउनु र त्यसलाई सही रूपले परिचालन गर्नु जरुरी रहेको चर्चा गर्दै उनले भने– “सहरी र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउनु जरुरी छ जसले आर्थिक विकास मात्रै नभर्इ रोजगारीका अवसर समेत सिर्जना गर्दछ ।”

संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताउँदै प्रदेश र संघको निर्वाचनपछि मुलुक पूर्ण रुपमा राजनीतिक स्थिरताको चरणमा प्रवेश गर्ने र आर्थिक समृद्धिका मार्ग समेत प्रशस्त हुने उनले उल्लेख गरे ।

Sejonनेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले २३ वर्षयता मुलुकको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहेको र १३ वर्षपछि मुद्रास्फिति दर समेत ४ प्रतिशतको हाराहारीमा रहेकाले आर्थिक क्षेत्र थप सबल बन्दै गएको तथा लगानीका वातावरण समेत बनेको बताए । बैंक तथा वित्तीय संस्था ऐन र राष्ट्र बैंक ऐन निर्माणका क्रममा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको ठूलो सहयोग रहेको उल्लेख गर्दै त्यसले आफूहरुलाई काम गर्न समेत सहयोग पुर्‍याएको चर्चा उनले गरे ।

बैंक तथा वित्तीय संस्थाको क्षमतामा समेत बढोत्तरी भएको उल्लेख गर्दै उनले ८० प्रतिशत भन्दा बढी भू–भागमा वित्तीय संस्थाको पहुँच पुगेको र बाँकी २० प्रतिशत क्षेत्रमा समेत छिट्टै विस्तार गर्ने नीति रहेको बताए । बैंक तथा वित्तीय संस्थाको विस्तारले नै आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याएको उल्लेख गर्दै मुलुकको समग्र आर्थिक विकासमा उद्योगी–व्यवसायी, सरकार र सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेकोमा उनले जोड दिए ।

लगानीको वातावरण बनेकोमा निजी क्षेत्र खुशी

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले संविधान कार्यान्यवको प्रक्रियासँगै मुलुकमा लगानीको वातावरण बनेकामा खुशी व्यक्त गरे । दीर्घकालीन सुधारका लागि सबैको साथ र सहयोग जरुरी रहेको आवश्यता उनीहरूले औंल्याए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारको सकारात्मक पहलपछि मुलुकमा आर्थिक क्षेत्रको विस्तार भएको, लगानीको वातावरण बनेको र रोजगारीका थप अवसर सिर्जना भएको भन्दै खुशी व्यक्त गरे । सरकार, निजी क्षेत्र र सञ्चारजगतको सहकार्यले नै मुलुकमा आन्तरिक ताथ बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने उनको कथन छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधि बढ्दै गएको र निरन्तर विद्युत् आपूर्तिले उद्योगी–व्यवसायीलाई लगानीका लागि अभिप्रेरित गरेको उल्लेख गरे । आफूहरू आर्थिक पत्रकारसँग सहकार्य गरेर जान तयार रहेको उनले बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक क्षेत्रको विकास र विस्तारमा आफूहरु सबैसँग सहकार्य गरेर अगाडि जान तयार रहेको बताए ।

नयाँ कार्यसमितिका लागि चुनावी प्रक्रिया सुरु

नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य संयोजक रहेको निर्वाचन समितिले सेजनको नयाँ कार्यसमितिका लागि चुनावी प्रक्रिया सुरु भएको जनाएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा पुष्पराज आचार्य र मोदनाथ ढकालले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा रामराजा श्रेष्ठ र प्रभात भट्टराई, महासचिवमा भीम गौतम, अनुजराज ढुंगेल र जनार्दन बराल प्रतिस्पर्धामा उत्रिएका छन् । सचिवमा सुजन ओली र नवीन अर्याल, कोषाध्यक्षमा सरस्वती ढकाल र भागवत भट्टराईले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने र साँझसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर