newskoseli.Com

कागती बेचेर ५ वर्षमै करोडपति…

मेचीनगर नगरपालिका– ९, मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । ९ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेती आफ्नो डेढ बिगाहा जमिनमध्ये १ बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् ।

उनले अहिले वार्षिक २० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ देखि कागतीखेती सुरु गरेका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा पनि उत्पादन गर्न थालेका छन् ।

बिरुवा उत्पादनको नयाँ शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका उप्रेती अहिले मेहनती कृषकका रुपमा परिचत छन् । कृषि कर्मसँगै निजी वनको संरक्षण–सम्बर्द्धन र जैविक विविधतामा पुर्‍याएको योगदानस्वरुप उनले यस वर्षको निजी वन राष्ट्रिय पुरस्कार समेत प्राप्त गरे ।

डेढ लाख रूपैयाँको लगानीमा कृषिकर्म सुरु गरेका उप्रेतीले कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोबार करोडमाथि पुर्‍याएको बताएका छन् । उनले पाँच कट्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा लगाएका छन् ।

डेढ बिगाहा काँशघारी किनी कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन सुरु गरेका उप्रेतीले अहिले वार्षिक डेढदेखि २ लाख कागतीका दाना बिक्री गर्छन् । उनको आम्दानीको मुख्य स्रोत कागती नै हो । कागती बेचेरै आफू ५ वर्षमा करोडपति भएको उनले सुनाए ।

Lemon Trees

कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी– ५५ अादि नामकरण गरेका छन् । वार्षिक २५ देखि ३५ हजार बिरुवा उत्पादन र बिक्री गर्दै उनले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाएका छन् । उनका बगैंचामा कागतीका ३ सय बोट छन् । उनले कागती कलमी गरेर गमलामा समेत फलाएका छन् ।

कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा ५० देखि ८५ रूपैयाँसम्ममा बिक्री गर्ने गरेको उनका बुबा लक्ष्मीप्रसाद उप्रेती बताउँछन् । उनले भने– “छोराले मान्छे हेरेर बिरुवाको दाम लिन्छ, गरिब–दुःखीलाई निःशुल्क बिरुवा बाँड्छ भने व्यावसायिक कागतीखेती गर्न इच्छुकलाई ५० देखि ८५ रूपैयाँसम्ममा बिक्री गर्दै आएको छ ।”

होटल व्यवस्थापन अध्ययन गर्दागर्दै सीप नै नसिकी उप्रेती हतार गर्दै कतार पुगेका थिए । विदेशमा पाएको दुःख सम्झिएर उनले यहाँ मेहनत गरिरहेका छन् । “धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ”, उनले भने– “९ वर्ष विदेश बस्दा जति कमाएँ, त्योभन्दा दसाैं गुणा बढी मैले यहाँ त ५ वर्षमै कमाएँ ।”

कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन उनको आयस्रोतको अर्काे बाटो हो । उनी उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्रीवितरण गर्छन् । गड्यौंले मल बिक्रीबाट पनि उनको मनग्ये आम्दानी हुने गरेको छ । गड्यौंले मल उत्पादनका लागि उनले छुट्टै मलघर समेत बनाएका छन् ।

उनले आफ्नो कृषि फर्ममार्फत धेरैलाई रोजगारी पनि दिएका छन् । “हिजो रोजगारीको खोजीमा विदेश गएको थिएँ, आज म यहीं अरुलाई रोजगारी दिन सक्ने भएको छु”, उप्रेतीले भने– “माटोमा सुन फल्छ भन्ने उखान सुनेको थिएँ, आज चरितार्थ भयो ।” पाकेका कागतीको दाना देखाउँदै उनले भने– “सुनभन्दा कम छैन, यो कागतीको दाना ।”

“हिजो मैले व्यवसाय सुरु गर्दा कागतीको खेती गरेर के कमाइ होला र भनी खिस्याउनेहरु अहिले मसँगै कागतीखेतीका विषयमा बुझ्न आउँछन्, म उनीहरुलाई कागतीखेती मात्र नभई अन्य विषयमा पनि जानकारी दिन्छु”, उप्रेतीले भने– “कतिलाई त कागतीका बिरुवा दिएर बगान बनाउन पनि सहयोग गरेको छु ।”

उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलभरका जिल्लासहित अन्यत्र समेत बिक्री हुने गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर