newskoseli.Com

दसैंका लागि असोज पहिलो साता मुस्ताङका च्याङ्ग्रा आइपुग्ने

नेपाल खाद्य संस्थानले दसैंलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो ।

संस्थानले ३ वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ । यसपाला असोज ५ देखि ६ सम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताए । च्याङ्ग्रा खरिदका लागि संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरिद केन्द्र समेत स्थापना गरेको छ ।

संस्थानको पोखरास्थित अञ्चल कार्यालयका प्रमुख अम्बिकाप्रसाद घिमिरेको नेतृत्वमा साेमबार कर्मचारीहरू मुस्ताङतर्फ प्रस्थान गर्ने र २९ गते पुग्ने जनाइएको छ । संस्थानले किसान वा व्यवसायीसँग च्याङ्ग्रा खरिद गरी हिँडाएर म्याग्दीको सदरमुकाम बेनीसम्म ल्याउँछ । बेनीबाट च्याङ्ग्रा ट्रकमा राखी असोज ५ देखि ६ भित्र राजधानी ल्याइसक्ने तयारी छ ।

गत वर्ष संस्थानले १ हजार ४ सय च्याङ्ग्रा र १ हजार ४ सय खसी–बोका गरी कूल २ हजार ८ सय च्याङ्ग्रा तथा खसी–बोका खरिद गरेकामा यसपाला भने १ हजार च्याङ्ग्रा र १ हजार ५ सय खसी–बोका खरिद गर्ने भएको छ । गत वर्ष बिक्री गर्न कठिन भएकाले यस वर्ष च्याङ्ग्रा खरिद कम गर्न लागिएको हो । संस्थानले यस वर्ष दाङको तुल्सीपुरबाट ५ सय र मकवानपुरबाट १ हजार खसी–बोका खरिद गरिने भएको छ ।

संस्थानको प्राथमिक खरिद समितिले तोकिदिएको आधारमा च्याङ्ग्रा खरिद गरिन्छ । समितिको अध्यक्ष सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ३ सदस्यीय समिति गठन हुने व्यवस्था छ । समितिमा सोही जिल्लाको पशुसेवा कार्यालयका प्रमुख र स्थानीय खाद्य संस्थानका कर्मचारी १–१ जना हुन्छन् ।

गत वर्ष समितिले मुस्ताङमा जिउँदो च्याङ्ग्राको प्रतिकेजी मूल्य ४ सय ८५ रूपैयाँ तोकेको थियो । तोकिएको मूल्यमा प्रतिकेजी १ सय ६५ रूपैयाँ ढुवानी तथा नाफा जोडी प्रति केजी ६ सय ५० रूपैयाँमा बिक्री गरेको थियो ।

खाद्य संस्थानले खसी–बोका बिक्री गर्दा बजारमूल्य अस्वाभाविक बढेको देखिँदैन । दसैंमा राजधानीमा झन्डै ५० हजारभन्दा बढी खसी–बोका बिक्री हुने अनुमान छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर