newskoseli.Com

एक नन्दको मार्मिक चिठी, नवागन्तुक भाउजूलाई

प्यारी भाउजू,

मेरो सभ्यताले त ‘तपाईं’ भनेर सम्बोधन गर्नुपर्छ मैले । तर, आत्मीयताले मैले ‘तिमी’ सम्बोधन गर्दैछु । तिमीले यसलाई अनादर नसम्झनु है।

भोलिबाट तिमी हाम्रो घरकी स्थायी सदस्यको रुपमा प्रवेश गर्दैछ्याै । म जहाँ जन्मेर हुर्कें, आजसम्म मेरो हो भनेर दाबी गरिरहेकी छु, अबदेखि त्यो घर मेरो हाेइन, तिम्रो हुनेछ । मैले हिलो खेलेर हुर्केको माटो तिम्रो हुनेछ, मैले गट्टी खेलेका प्रत्येक ढुङ्गाहरु अब तिम्रा हुनेछन् । आजसम्म मैले मेरो भनेर जे-जे सजाएँ, आफ्नो भागमा राखें ती तिम्रा हुनेछन् । र, म यी सबै-सबै तिमीलाई सुम्पन चाहन्छु । छोरी भएर मैले जे-जे पाएँ, पाइरहेकी छु, छोरी हुनुको हक- त्यो पनि सबै दिन चाहन्छु । तर तिमीले पनि आफूले एउटी छोरी हुनुको कर्तव्य भने निभाउनुपर्छ ।

हामीमा केही फरक छैन । आज तिमी मेरो घरमा जसरी आइरहेकी छ्याै, आफ्नो जिन्दगीको बाँकी हिस्सा यहीं बिताउँछु भनेर । भोलि म पनि त्यसरी नै जानेछु, अर्काको घरमा आफ्नो बाँकी जिन्दगीका सारा हिस्सा बिताउन । अब तिमीले सारा जिन्दगी यहीं बिताउँछु भनेर प्रण गरेर आएपछि सबै कुरालार्इ तिमीले आफ्नै ठान्नुपर्छ । बुबा आफ्नो ठान्नुपर्छ, आमा आफ्नो ठान्नुपर्छ, दाइ त तिम्रै जिन्दगीको आधा हिस्सा नै भइहाल्नुभयो ।

तिमी आफ्नो घरमा आएकी बुहारीले आफ्ना बुबा-आमालाई कस्तो व्यवहार गरून् भन्ने चाहन्छ्याै, त्यही गर्नुपर्छ तिमीले । म छोरी हुनुका मेरा सम्पूर्ण हकअधिकार तिमीलार्इ नै दिन चाहन्छु । बाबाले दिने माया, आमाले दिने माया-स्नेह ती सबै-सबै पनि । बरु आमा-बाबाले मलाई बिर्सिउन्, मेरो याद नगरुन् ।

हो, बाबा-आमाका लागि पनि तिमी अर्काकी छोरी हौ । आफ्नी छोरीले गरेका काम त कहिलेकहीं चित्त बुझ्दैन, अर्काकी छोरीले गरेको त्योभन्दा बढी चित्त नबुझ्न सक्छ । यतिबेला तिमीले बुझ्नु पर्दछ किनभने तिमी एक शिक्षित, सभ्य, आधुनिक नारी हौ ।

म चाहन्छु, तिमीले एउटी बुहारी हाेइन, छोरीको कर्तव्य निभाउ अनि हकअधिकार पनि छोरीकै लेउ । जसलाइ माया गर्छन्, उनैलाई गाली पनि गर्छन्, सम्झाउँछन् र उनीहरुले गरेका स–साना कुरामा पनि चित्त दुखाउँछन् । यदि परिवारका मान्छेले यस्तो गर्नुभयो भने सम्झिनु उहाँहरूले तिमीलाई धेरै नै माया गर्नुहुन्छ ।

मलाई एउटा नन्द सम्झेर टाढा नबनाउ, सधैं एउटै घरकी बहिनी सम्झ । चित्त नबुझेका, दुःख-सुखका कुराहरु जसरी घरकी बहिनीसँग बाँड्ने गर्थ्याै, त्यसरी नै बाँड्ने गर्नु मसँग पनि ।

दाइ त तिम्रै हुन् र दाइले माया गर्ने हरेक चिजहरु पनि तिम्रै हुन् । यदि तिमी दाइलाई माया गर्छ्याै भने पक्कै दाइले माया गर्ने, ख्याल राख्ने चिजहरुलाई तिमीले पनि माया गर्छ्याै, ख्याल राख्नेछ्याै ।

आज दाइलाई पाउनुमा तिमी आफ्नो भाग्य सम्झिन्छ्याै भने त्यसको श्रेय बाबा-आमालाई देउ किनभने उहाँहरुकै माया, आशिर्वाद, दुःख र मेहनतले नै त आज दाइलाई तिम्रो लायक बनाए ।

बाबा-आमाको गोडामा तेल हाल्नु पर्दैन, उहाँहरुलाई सम्झिदिए पुग्छ । नसकेको खण्डमा सहारा दिए पुग्छ, माया-स्नेह, आत्मीयता र मीठो मुस्कान दिए पुग्छ । र, सबैभन्दा ठूलो कुरा, तिमी आएर छोराले गर्ने माया र ख्यालमा कमी आएको महशुस गर्न नदिए पुग्छ ।

आफ्नो घरका कुरा पँधेरामा लगेर आफूलाई सस्तो नबनाउनू, बरु घरको मूल सिपाही बनेर रक्षा गर्नु । बाबा-आमाका एक्ला छोरा अनि तिमी एक्ली बुहारी । बाबा-आमाले बुहारीको धेरै नै सपनाहरु देख्नुभएको छ, सजाउनुभएको छ, त्यसलाई कहिल्यै पनि टुक्रन नदिनु है !

तिम्रो उपस्थितिका कारण मलाई आमाले भुलून्, बाबाले भुलून्, दाइले भुलून्, घरले भुलाेस्, छिमेकीले भुलून्, आफन्त-नातेदारले भुलून्, गाउँले भुलाेस् अनि सबै-सबै त्यहाँका ढुङ्गा, माटो, पानी, रुख-बिरुवा अनि हावाले भुलाेस्- ती सबैकाे मलार्इ कुनै परबाह छैन तर सबै कुरा तिम्रै अनुकूल हाेउन् ।

तिमी एउटी यस्ती उदाहरणीय बुहारी बन, जहाँ प्रत्येक छोराहरुका बुबा-आमाले तिमीजस्तै बुहारीको सपना देखून्, तिमीजस्तै बुहारी पाउन भगवानसँग प्रार्थना गरून् अनि प्रत्येक बुबा-आमाहरुले बुहारी आएपछि पराइघर गएका आफ्ना छोरीहरुकाे याद गरेर नरोउन् !

सामजिक सञ्जाल  फेसबुकबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर