newskoseli.Com

एउटै जिल्लाबाट ४ अर्ब ३५ करोडको तरकारी बिक्री

बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा ४ अर्ब ३५ करोड रूपैयाँको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मुला, आलु, गोलभेंडा, अकबरे खुर्सानी, घीउसिमीलगायतका तरकारी उत्पादन भएको छ ।

जिल्लामा अघिल्लो वर्षको तुलनामा ३० करोड रूपैयाँभन्दा बढीको तरकारी उत्पादन बिक्री भएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरत विडारीले जानकारी दिए ।

बजारको समस्या नहुनु र गत वर्षको तुलनामा तरकारी खेतीमा किसानको सङ्ख्या थपिनु तथा तरकारी उत्पादन गर्ने जमिनको क्षेत्र समेत विस्तार हुनुले नतिजा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाह्रै महिना तरकारी उत्पादन हुने जिल्लामा गत वर्ष सबैभन्दा बढी १ अर्ब २९ लाख ५५ हजार रूपैयाँको गोलभेंडा उत्पादन भएको थियो ।

कूल १ हजार ४ सय ५८ हेक्टरमा ५१ हजार ९ सय ७८ मेट्रिक टन गोलभेंडा उत्पादन भएको थियो । तरकारी उत्पादन र व्यापारमा भएकाे वृद्धिसँगै बाँझिएको जग्गा समेत प्रयोगमा आउन थालेको विडारीले बताए ।

जग्गा भाडामा लिएर समेत किसानले खेती गर्न थालेका जोरपाटी गाउँपालिकाका मेघराज खतिवडाले बताए । यहाँ उत्पादित तरकारी सुनसरीको धरान, मोरङको विराटनगर, झापाको विभिन्न बजार तथा भारतमा लगेर समेत बिक्री गरिँदै आएको छ । जिल्लामा ४० हजार ८ सय २३ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर