प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ मुलुकभर औसतमा ५ दशमलव १८ प्रतिशत मत बदर भएको छ ।
हिमाली जिल्लाको तुलनामा मध्य तराई–मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको जानकारी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दिएका छन् । उनका अनुसार मनाङमा सबैभन्दा कम (शून्य दशमलव ३७ प्रतिशत मात्रै) मत बदर भएको छ भने २ नं. प्रदेशका जिल्लामा सबैभन्दा बढी (झन्डै ९ प्रतिशतसम्म) मत बदर भएको छ ।
काठमाडाैं उपत्यकाका जिल्लामा ३ दशमलव ८१ प्रतिशतभन्दा कम नै मत बदर भएको उनले बताए । निर्वाचन आयोगले ५ प्रतिशतभन्दा कम नै मत बदर हुने अपेक्षा गरेको थियो । ०६४ को संविधानसभा निर्वाचनमा ५ दशमलव १५ प्रतिशत मत बदर भएको थियो भने ०७० को दोस्रो संविधानसभा निर्वाचनमा ४ दशमलव ९४ प्रतिशत मत बदर भएको थियो ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले अबको ३ दिन (शनिबार) भित्रै समानुपातिकतर्फको सबै मतपरिणाम सार्वजनिक हुने समेत जानकारी दिएका छन् । संविधानले नै सुनिश्चित गरेको महिला र जातजातिको प्रतिनिधित्वको विषयमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएको बन्दसूचीमा समावेश गरिएका नाम प्राथमिकताका आधारमा राजनीतिक दलले पठाउनुपर्ने पक्षलाई आयोगबाट गहन ढंगले हेरिने पनि उनले बताए ।
विभिन्नखाले डर–त्रास र भयलाई पन्छाएर व्यापक जनसहभागितामा निर्वाचन हुनु भनेको मतदाताले निर्वाचनको स्वामित्व ग्रहण गर्नु हो भन्दै राष्ट्रियसभाको निर्वाचन सम्बन्धमा आयोगले नियमावली बनाउन सुरु गरिसकेको जानकारी प्रमुख निर्वाचन आयुक्त डा. यादवले दिए ।