
विभिन्न माओवादी घटकहरुले आ–आफ्नो सापेक्षता अनुरुप आज ‘बेथानको वीरता’ दिवस मनाइरहेका छन् ।
१९ पुस, २०५३ को मध्यरातमा रामेछापको बेथान, पानीघाटस्थित प्रहरी चौकीमाथि माओवादीहरुले सशस्त्र आक्रमण गरी सम्पूर्ण हातहतियार कब्जामा लिएका थिए । आक्रमणका क्रममा ३ जना माओवादी छापामार तथा २ जना प्रहरीको निधन भएको थियो । आक्रमणपछि ४ थान थ्री–नट–थ्री राइफल लिएर माओवादी छापामारहरु सकुशल उम्केका थिए ।
१ फागुन, २०५२ मा तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र जनयुद्धको थालनी गरेदेखि नै राज्यको सशस्त्र सुरक्षा शक्तिमाथि सशस्त्र आक्रमण गरी पूर्ण सफलता प्राप्त गरेको पहिलो दिनका रूपमा माओवादीहरुले ‘बेथानको वीरता’ दिवस मनाउँदै आइरहेका छन् । यस घटनालाई माओवादीहरुले ‘ऐतिहासिक बेथान मोर्चा’ का रुपमा चर्चा गर्ने गरेका छन् ।
‘बेथान मोर्चा’ का क्रममा माओवादी पार्टीका तत्कालीन काभ्रे–रामेछाप जिल्ला सेक्रेटरी रहेका चौंरीपोखरी, काभ्रे निवासी तिर्थबहादुर गौतम, लखनपुर (कामागाउँ), रामेछाप निवासी महिला छापामार दिलमाया लामा (बम्जन) र सिन्धुली निवासी छापामार फत्तबहादुर स्माली मगरले सहादत पाएका थिए ।
त्यसबेला माओवादी पार्टीले काभ्रपलाञ्चोक र रामेछाप दुवै जिल्लालाई जोडेर काभ्रे–रामेछाप जिल्ला समिति बनाएको थियो । पार्टीमा पनि अहिलेजस्तो इन्चार्ज र सेक्रेटरीको संयुक्त नेतृत्वमा नभई जिल्ला सेक्रेटरी नै जिल्ला समितिका सर्वोच्च नेता हुने संरचना थियो । र, जिल्ला सेक्रेटरी नै त्यस क्षेत्रको सैन्य प्रमुख समेत हुन्थे ।
सोही जिम्मेवारीमा र पार्टीको पूर्वी ब्युरो सदस्य समेत रहेका तीर्थ गौतमले ‘बेथान मोर्चा’ मा सहादत पाउँदा माओवादी पार्टीले ठूलो क्षतिका रुपमा लिएको थियो । यद्यपि इतिहासमै पहिलो पटक सशस्त्र सुरक्षा फौजमाथि विजय हासिल गर्दै हतियार समेत प्राप्त गर्नुलाई भने माओवादीले ‘ऐतिहासिक उपलब्धि’ का रुपमा दस्तावेजीकरण नै गरेको थियो ।