newskoseli.Com

दुई कोरियाबीच मिलापको संकेत : उत्तर–दक्षिणबीच वार्ता सुरू

मङ्गलबार दक्षिण कोरियामा उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय अन्तरकोरियाली वार्ता सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले मङ्गलबार बिहान दिएको जानकारी अनुसार यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको दुई कोरियाली सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा सुरु भएको छ ।

आपसमा मित्रवत सम्बन्ध रहन नसकेको यी दुई कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गगलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता सुरु भएको हो ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले दिएको जानकारी अनुसार सो वार्ता टोलीमा दुवै देशका तर्फबाट पाँच–पाँच जना सदस्य रहेका छन् । सो वार्ता टोलीको नाम हालै स्थापित सिधा सञ्चार सम्पर्क (हटलाइन कम्युनिकेसन) मार्फतशनिबार र आइतबार पठाइएको हो । सो वार्तामा दक्षिण कोरियाका तर्फबाट यहाँका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारी सहभागी छन् ।

उत्तर कोरियाको तर्फबाट त्यहाँको एक एजेन्सी, शान्तिपूर्ण पुनर्एकीकरण समितिका अध्यक्ष रि सुन गाउनको नेतृत्वमा पाँच जना सदस्य रहेका छन् । उनीहरुको नाम गएको आइतबार उत्तरले सार्वजनिक गरेको हो । दुवै देशका तर्फबाट भएको यो सहभागिताका कारण यस वार्तालाई उच्चस्तरीय वार्ता भनिएको हो । दक्षिण कोरियाको प्रस्तावमा सुरु भएको यस वार्ता मङ्गलबार बिहान १० बजेबाट सुरु भएको बताइएको छ ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार मङ्गलबारका लागि दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको थियो । सोही बमोजिम मङ्गलबार बिहानबाट यो वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त नगरमा रहेको पिसफुल हाउस (शान्तिपूर्ण भवन) मा सुरु भएको सो वार्तामा बस्नुअघि उत्तर कोरियाको वार्ता टोलीका प्रमुख रिले भने– यो महत्त्वपूर्ण वार्ता हो र यसका माध्यमबाट आगामी दिनमा पनि यसरी नै द्विपक्षीय वार्ताहरु अघि बढ्न सकून् भनेर कामना गर्न सकिन्छ ।

सो वार्तामा बस्नुपूर्व दक्षिण कोरियाली वार्ता टोलीका प्रमुख मन्त्री चो ले यस वार्तामा आफूहरु बडो धैर्यतापूर्वक बस्ने र यस वार्ताबाट आगामी शीतकालीन ओलपम्पिक खेललाई एउटा शान्तिको पर्व कसरी बनाउने भन्ने बारेमा सोचेर काम गर्ने प्रतिक्रिया दिए । नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनपछि यसरी यो वार्ताको परिस्थिति निर्माण भएको हो । उनले सो सम्बोधनमार्फत दक्षिण कोरियाले गरेको उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने बताएका थिए ।

त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ । यस वार्तामा सो आलम्पिक खेलका बारेमा व्यापक मात्रामा छलफल हुने जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको स्वागत गर्दै वार्ताको तयारी व्यापक र द्रूत गतिमा गर्न निर्देशन दिएका थिए ।

वार्तामा आगामी ओलम्पिक खेलका साथै कोरियाको द्विपक्षीय कोरियाली विभिन्न मुद्दाहरुमा छलफल हुने बताइएको छ । तर, ती मुद्दा के हुन् भन्नेबारे भने केही सार्वजनिक गरिएको छैन । कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणहरुबाट उत्पन्न परिस्थितिका विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको भए पनि यस विषयमा दुवै पक्षबाट आधिकारिक रुपमा भने केही आएको छैन ।

महासचिव गुथ्रेस र अमेरिकी राष्ट्रपतिद्वारा स्वागत

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको विषयले आफू खुशी भएको धारणा  व्यक्त गरेका छन् ।

उनले सो प्रस्तावित उच्चस्तरीय वार्ताको स्वागत गर्दै यसले दुई कोरियाली देशबीच आगामी दिनमा पनि शान्ति र सौहार्दताको वातावरण निर्माण गर्न र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सहयोग पुगोस भनी कामना गरेका थिए ।

उत्तर कोरियाली नेताले दक्षिणको प्रस्तावमा हुने तय भएको शान्ति वार्तामा बस्न आफू तयार रहेको प्रतिक्रिया दिएपछि महासचिव गुथ्रेसले सो धारणा हालै मात्र सार्वजनिक गरेका थिए ।

त्यसैगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई कोरियाबीच हुन गइरहेको वार्ताको स्वागत गरेका छन् । उनले हालै संवाददाताहरुसँग भनेका थिए– ‘म त सधैं वार्ताकै पक्षमा छु, सबै समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्नेमा म विश्वास गर्छु ।’

दुई कोरियाबीच तय भएको सो वार्ताको स्वागत गर्दै उनले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस् भन्ने आफ्नो धारणा रहेको सुनाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर