‘ओई ! के गर्दैछेस् ?’
‘हजुर !’
अपरिचित केटाको आवाजले म झसङ्ग भएँ ।
‘हजुर को बोल्नुभयो ?’ मैले हतार–हतार सोधें– ‘हजुरले कसलाई खोज्नुभ’को ?’
उताबाट जवाफ आयो– ‘मैले… !’
उत्तर फर्काएँ– ‘सरी, रङ नम्बर पर्यो होला ।’
उसले पनि जवाफ फर्कायो र फोन काटिदियो । तर, मलाई भने उसको ओजिलो आवाज निकै सुमधुर लागेको थियो । सुनिरहुँ लागेको थियो ।
पहिलो पटकमै उसको बोलीमा म निकै लठ्ठ परेकी थिएँ । किन–किन ऊ मेरो नजिकको हो भन्ने आभाष भएको थियो । र, बारम्बार उसलाई फोन गरिरहुँ र उसको आवाज सुनिरहुँजस्तो लाग्यो । तर, ऊ अपरिचित मान्छे थियो । मन हुँदाहुँदै पनि मैले उसलाई फोन गरिनँ ।
पहिलो संवाद भएको भोलिपल्ट मलाई उसैले फोन गर्यो र मेरो परिचय लियो । तर, मैले चाहिँ उसका बारे केही सोधिनँ । अर्को दिन पनि उसले फोन गर्यो र मेरो बारेमा धेरै जानकारी लियो । मैले पनि उसको सामान्य जानकारी लिएँ ।
अथवा भनुम्, हाम्रो फोन–संवादमा औपचारिक परिचय त्यही दिन भयो ।
‘आदिती ! आज पनि ‘रङ नम्बर’ डायल गरेर अर्को नयाँ मान्छेसँग साथी बन्ने कि ?’
ऊ मलाई बारम्बार जिस्काइरहन्थ्यो । तर, मलाई चाहिँ उसले जे भने पनि अलिकति पनि रिस उठ्दैनथ्यो । म सोच्थें– ‘पक्कै पनि आभाष मेरो जीवनमा आउनु निकै अर्थपूर्ण हुनेछ ।’
र, बारबार उसकै कल्पनामा डुबिरहन्थें । उसको ओजपूर्ण सुमधुर आवाजले मेरो मानसपटलको क्यानभासमा उसको रुप रङ र व्यक्तित्वको छुट्टै चित्र कोरिएको थियो । र, त्यो एकदम अटल भएर बसेको थियो ।
जब आभासले फोन गर्थ्यो, म ऊसँग बोल्नुभन्दा बढ्ता सुनिरहन्थें । ऊ के–के भन्थ्यो तर म चाहिँ सुनी मात्र रहन्थें ।
हरेक सवालहरुको जवाफ नपाउँदा ऊ मसँग रिसाउँथ्यो र फोन राखिदिन्थ्यो । यस्तै गरी दिनहरु बित्दै गए ।
म नबोलेका कारण वा अन्य कारणले, केही समय उसको र मेरो फोन–संवाद बन्द भयो । ‘किन उसले फोन गरेन ?’ मलाई एकदम छटपटी हुन्थ्यो ।
‘किन ऊ मसँग रिसायो ?’ हरेक समय उसको यादले मलाई सताउँथ्यो । उसको त्यो आवाज मेरो मन–मस्तिष्कमा गुञ्जिरहन्थ्यो । उसलाई फोन गरुँ अनि आफ्ना सारा व्यथाहरु पोखुँ नभएको हैन मलाई ।
निकै पटक नम्बर डायल गरे पनि फोन गर्न सकिनँ उसलाई । किन यस्तो भएको छ, मलाई नै थाहा थिएन । उसको अभावले म निकै बेचैन थिएँ ।
करिव एक महिनापछि उसको नम्बरबाट फोन आयो । मैले हतार–हतार फोन उठाएँ किनकि मलाई ऊसँग कहिले बोल्नु जस्तो भएको थियो ।
बिस्तारै हाम्रो सम्बन्ध अघि बढ्दै गयो । अब त हामीबीचको संवाद फोनमा मात्र सीमित रहेन । फेसबुक र भाइबरमा पनि कुराकानी हुन थाल्योे । हामीबीच आत्मीयता पनि बढ्दै गयो । परिवारका केही सदस्य, केही आफन्त र केही साथीहरु बाहेक मसँग बोल्ने ऊ मात्रै थियो । अथवा भनुँ, संवादहरुमा ऊ नै मेरो एउटा घनिष्ट साथी थियो । अथवा, ऊ त मेरा लागि मेरो कल्पनाको साथीभन्दा पनि माथि थियो । मैले अधिकतम समय उसलाई नै दिन्थें ।
आभाषसँग मेरा फोन, फेसबुक र भाइबरमा निकै समय व्यतित भइरहेको थियो । म एकान्त मन पराउँथें र ऊसँग कुरा गर्न मात्रै बढ्ता रुचि राख्थें । यो देखेर घरमा पनि ममाथि शंका उब्जन थालेछ ।
बाबा–ममीले बेला–बेलामा गाली गरिरहनु हुन्थ्यो । म कुनै जवाफ फर्काउँदैनथें, चुपचाप सुनिरहन्थें । ‘धेरैतिर मन नडुला, पढाई बिग्रन्छ’ भनेर बाबा–ममीले सम्झाउनु हुन्थ्यो ।
त्यसैले अब धेरै कुरा नगरौं भनेर आभाषसँग सल्लाह गरें । उसले पनि ‘हुन्छ’ भन्यो । हामीबीच कुराकानी पातलो हुँदै गयो ।
आभाष र मबीचको संवाद बिस्तारै पातलिने क्रम बढ्यो । फेरि मलाई छटपटी बढ्न थाल्यो । मलाई हरसमय ऊसँग कुरा गरिरहुँ झैं लाग्थ्यो । तर, ऊ भने मैले गरेको फोन मुस्किलले उठाउँथ्यो । मेसेजहरुको रिप्लाई पनि दिँदै दिँदैनथ्यो ।
फेरि म तड्पिन थालें । शायद, ऊ मबाट टाढियो भन्ने कुराले निकै सतायो ।
‘आभाष मसँग किन टाढियो ? के गल्ती भयो मबाट ?’ मैले सोच्नै सकिनँ । मलाई उसकै मात्र सम्झनाले सताइरह्यो । यो समय म उसलाई सम्झेर कति तड्पिएँ– तड्पिएँ, पत्तै भएन ।
बिस्तारै म सामान्य हुँदै थिएँ । एक दिन अचानक एउटा नयाँ नम्बरबाट फोन आयो । त्यो उसकै फोन थियो । पहिलो बोलीमै मैले उसको आवाजलाई चिनिसकेकी थिएँ ।
‘आभाष ! तिमी हराउँदै र झुल्किँदै किन मलाई सताउँछौ ?’ सोध्ने मन थियो । तर, यो कुरा उसलाई भन्नै सकिनँ । उसले फोन गरेकोमा मलाई निकै खुशी लागेको थियो ।
हामीबीच कुराकानी सुरु भएको करिव चार महिनापछि भेट्ने प्रस्ताव राख्यो आभाषले । कसरी ‘नाइँ’ भन्न सक्थें र म ! उसलाई भेटेर नजिकबाट उसको अनुभूति गर्ने मन थियो मलाई पनि ।
पुसको चिसो शनिबारका दिन, दिउँसो एक बजे बानेश्वरको योङ्गहार्ट क्याफेमा हाम्रो पहिलो भेट भयो ।
पहिलो भेटमा नै हामी निकै परिचित लागेका थियौं । जति सुमधुर आवाज थियो आभाषको, उसको व्यक्तित्व पनि त्यस्तै थियो ।
जब हामी एउटै टेबलको आमने–सामने बस्यौं, अचम्म लाग्छ– उसको आकर्षणको हावा मेरो प्रत्येक सासभित्र यसरी फैलियो कि सम्पूर्ण शरीर नै उसको सुगन्धले भरिएको आभाष भयो ।
उसको सौन्दर्यपान गरेर मेरा आँखाका लेन्स नै अघाएनन् । अनि मेरो मनले उसको आजीवन साथको कल्पना गरेको पनि पत्तै भएन ।
वेटरको आवाजले मलाई झस्काइदियो । त्यस दिन ब्ल्याक कफी पिएर हामी छुट्टियौं । म घर पुग्दा साँझ परिसकेको थियो ।
खाना खाएर परिवारमा सबैजना सुत्ने तरखरमा हुनुहुन्थ्यो तर मलाई भने निद्राले छुँदैछोएन । मेरा आँखाका अगाडि उसको अनुहार मात्रै झल्झली आइरह्यो ।
म सोच्दै गएँ –‘किन यस्तो हुन्छ ?’ मेरो मनले भन्यो– ‘म आभाषलाई प्रेम गर्छु ।’ मेरो मस्तिष्कले भन्न थाल्यो –‘तिमीलाई आभाषको प्रेमले छोयो ।’
न मेरो मन–मस्तिष्क र ढुकढुकीलाई नै नकार्न सकें न त मेरा यी आँखालाई बन्द नै गर्न सकें ।
साँच्चै नै म आभाषलाई माया गर्छु । पवित्र एवं निःस्वार्थ प्रेम । तर, म उसलाई भन्न सक्दिनँ । ममा त्यो सामर्थ्य नै आएन ।
हुन त प्रेममा पनि केही स्वार्थ पक्कै होला । तर, मलाई लाग्छ उसलाई चाहनु नै मेरो ठूलो स्वार्थ थियो किनकि बगैंचामा स्वतन्त्र रुपमा फुलिरहेको एउटा फूलमा भमराले छड्के आँखा लगाउनु, उसको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थभन्दा परको कुरा त नहोला ।
मेरो एक्लो जीवनमा आफ्नो सुख–दुःख बाँड्न खोज्नु मेरो स्वार्थ होइन भनेर भन्न सक्दिनँ । तर, मेरो स्वार्थ अरु प्रेमरोगीहरुको जस्तो हैन, उनीहरुको भन्दा पृथक् छ, अनौठो छ र उच्च छ जस्तो लाग्छ ।
मलाई लाग्छ– मेरो प्रेम शरीरिक आकर्षण होइन, अन्तरआत्मादेखि उब्जिएको भावनात्मक उपज हो । ‘के प्रेममा पनि प्रमाण चाहिन्छ र ?’ मेरो प्रेम त भौतिक प्रमाणभन्दा टाढा छ बरु आत्मासँग चाहिँ नजिक छ ।
आभाष र मेरो पहिलो भेटपछि उसको र मेरो संवाद, सम्पर्क, भेटघाट निकै बाक्लिन थाल्यो । लाग्थ्यो, उसले पनि मलाई निकै मन पराउँछ, माया गर्छ । म आभाषको प्रेममा चुर्लुम्म डुबेकी थिएँ ।
निरन्तर संवाद, भेटघाट, उसले गरेको रेखदेख, उसले दिएका उपहारहरुले म मख्ख थिएँ । उसले नै मलाई फिल्म हल र थियटरहरुमा जाने बानी बसाल्यो । बानेश्वरका अधिकांश क्याफेहरुमा हामी नगएका थिएनौं । शनिबार र छुट्टीका दिनहरुमा काठमाडौं वरपरका रमणीय ठाउँहरु पनि खुब घुम्थौं ।
उसलाई नभेटेको दिन मेरा लागि निकै खल्लो हुन्थ्यो । म घरबाट अनेक बहाना बनाउँदै उसलाई भेट्न पुगेकै हुन्थें । यसरी हिँडेको घरमा राम्रो मान्नुहुन्नथ्यो । तर, मलाई घरको गालीको कुनै पर्वाह थिएन ।
पहिले–पहिले घर, कलेज, अफिसबाहेक कहिँ नजाने म आभाषको संगतले काठमाडौंका निकै ठाउँहरुसँग परिचित भएकी थिएँ । कति दिन त म कलेज नगई आभाषलाई भेट्न जान्थें । ऊ पनि कलेज छाडेरै भए पनि भेट्न आउन कर गर्थ्यो किनकि मेरा लागि आभाष नै संसार थियो, सबथोक थियो । लाग्थ्यो, म ऊविना अपूरो छु, अधुरो छु ।
म आभाषको प्रेममा छु भन्ने कुरा घरमा थाहा पाएपछि निकै कडा व्यवहार गरियो । तर, मलाई त्यसले छेकेन । पछि बिहेको कुरा पनि आउन थाल्यो । बिहे गर भनेर निकै करकर हुँदै थियो घरमा । यी सबै कुराहरुलाई मैले नकारें ।
‘तेरै केटो लिएर आइज, त्यहीसँग बिहेको कुरा गरौं’ भनियो घरमा । त्यसैले मैले आभाषसँग कुरा गरें ।
‘आभाष ! घरमा मेरो बिहेको कुरा हुँदैछ… तिमीलाई लिएर आउनू भन्नु भएको छ घरमा… ।’
‘के रे ? बिहे !’ ऊ एकछिन मौन रह्यो ।
‘अहिले नै बिहे ! … अहिले नगरौं भन्देऊ न ।’
‘म के भनूँ त आभाष घरमा ? मेरो घरमा त जाऊँ, बाबा–ममीसँग कुरा त गर… ।’
‘के कुरा गर्नु मैले ? तिमी आफैं कुरा गर न… ।’
विवाहको कुरालाई यसरी टार्यो उसले ।
‘आभाष त एक वर्षपछि मात्रै बिहे गर्ने रे’… भनेर टारें मैले पनि घरमा ।
घरमा अनेक बहाना बनाएर ऊसँग भेट भएको करिव सात महिनापछि आभाषसँग घुम्न जिरी गएँ । ती तीन दिन मेरा लागि जीवनका सबभन्दा रोमाञ्चक र स्मरणीय दिनहरु थिए ।
मैले कहिल्यै सोचेकी पनि थिइनँ, जीवनमा कुनै दिनहरु यस्ता पनि आउँछन् भनेर । आभाषसँगको रोमाञ्चक यात्रा कहिल्यै नटुंगियोस् भन्ने लागेको थियो ।
जिरीबाट फर्केको एक महिना पछिसम्म पनि आभाष र मेरो सम्बन्ध पूर्ववत् नै थियो । त्यसपछि मेरो स्वास्थमा केही अस्वाभाविक गड्बडीहरु देखिन थाले । एक–दुई दिन त के भएको हो, मैले बुझ्नै सकिनँ ।
मेरी एक मिल्ले बहिनी, सानीमाकी छोरी नर्स थिई । उसको सहयोगमा हस्पिटल गएर चेकअप गर्दा पो थाहा भयो– ‘म प्रेग्नेन्ट छु ।’
छागाँबाट खसेजस्तो भयो । यस्तो अवस्थामा आउँछ भन्ने त मैले कुनै ख्याल नै गरिनँ । ‘अब के गर्ने ?’ मैले केही सोच्नै सकिनँ ।
यो कुरा आभाषलाई कतिबेला भनुँ भन्ने लागेको थियो । त्यही भएर हस्पिटलबाट निस्कनासाथ आभाषलाई फोन गरें र भेट्न बोलाएँ ।
ग्रिन क्याफे, बानेश्वरमा म आभाषलाई कुरिरहेकी थिएँ । मेरो हड्बढाएको आवाजले हो वा अन्य कुनै कारणले, ऊ पनि हतारिँदै म भएको ठाउँमा आइपुग्यो ।
मैले आफूलाई रोक्नै सकिनँ, आभाष आइपुग्ने बित्तिकै उसलाई अँगालेर रुन पुगेछु । यसरी म अधैर्य भई रोएको शायद उसले पहिलो पटक देखेको थियो ।
‘आदिती ! किन यसरी रोएकी ?… के भयो, भन न…’
भन्ने आँट नै ममा आइरहेको थिएन । आफैंमा निकै साहस जुटाएर भनें– ‘आभाष ! म प्रेग्नेट छु… ।’
यति भन्न पनि मलाई निकै गाह्रो लागिरहेको थियो ।
‘के रे ? … हैन यो के भन्दैछ्यौ तिमी ?’
उसका हात–खुट्टा गलेजस्तै भए । शरीर नै सिरिङ्ग गरेजस्तो गरी आत्तियो ऊ ।
‘हो आभाष, म प्रेग्नेट छु, मैले आज हस्पिटल गएर चेकअप गराएँ… ।’
आफ्नो व्यथा एकैचोटि सुनाउँदै मैले हस्पिटलका रिपोर्टहरु उसका अगाडि राखिदिएँ ।
चुपचाप, ती रिपोर्टहरु पनि नहेरी एकोहोरो घोरिइरह्यो ऊ ।
‘अब के गर्ने… ?’
‘घरमा थाहा पाउनुभयो भने…. अब हामी बिहे गरौं… ढिलो नगरौं ।’
चुपचाप सुनी मात्र रह्यो ऊ ।
‘तिमी पनि बोल न आभाष… अब के गर्ने… अब बिहे गर्नुपर्छ… ।’
अझै केही बोलेन ऊ । म पनि चुप लागें । तर, सहनै नसक्ने गरी मनमा व्यथा मडारिइरहेका थिए ।
लामो मौनता तोड्दै ऊ बोल्यो– ‘अब सिरियसली सोच्नुपर्छ, के गर्ने भनेर… ।’
म उसको कुममा टाउको राखेर फेरि रोएँ । एक छिनसम्म उसले मेरो टाउको सुम्सुम्याइरह्यो ।
आफ्नो कुमबाट मेरो टाउको हटाउँदै भन्यो– ‘आदिती ! अब एबोर्सन गराऊ… ।’
जुरुक्क उठेर ऊ क्याफेको बिल तिर्न गयो ।
त्यसपछि छुट्ने इशारा गर्दै मलाई बोलायो । म पनि निस्कें । क्याफे बाहिर पार्किङमा रहेको ट्याक्सी बोलायो । अब घर जाऊ भनेर मलाई पठायो ।
++++++++
त्यसपछि…
आभाषको एकदमै आवश्यकता बढ्दै थियो मलाई । त्यसैबेला ऊ भने मेरो फोन उठाउन गाह्रो मान्दै थियो । भेट्न पनि बोलाउनै छाड्यो । मेरा मेसेजहरुको रिप्लाई समेत दिन छाड्यो ।
हुँदा–हुँदा उसले बोक्ने फोन नम्बर समेत सधैं ‘अफ’ हुन थाल्यो । फेसबुक पनि डिएक्टिभेट गरेको थियो । अनि मैले देखेको उसको कोठा समेत छाडेर ऊ अन्तै सरिसकेछ ।
‘मसँग किन यस्तो गर्दैछ आभाष ? के उसले दुई–चार दिन ‘रोमान्स’ गर्न मात्रै प्रयोग गरेको हो त मलाई ? के म आभाषको दुई–चार दिनकी खेलौना मात्र रहेछु त ? यस्तै हो भने यी सब नाटक किन ग¥यो ?’
यस्तै–यस्तै कुराले दिनदिनै डिप्रेसनको शिकार हुँदै गएँ म ।
मैले त आभाषविनाको संसारको कल्पनै गरेकी थिइनँ । लाग्यो, अब बाँच्नुको कुनै अर्थ छैन । आफ्नै ठानेको मान्छेले यसरी धोका दिन्छ भने अब कसका लागि बाँच्नु ?
बाँकी जीवन एकदमै अन्धकारै अन्धकार मात्र देखें मैले । म उसका लागि कति तड्पिएँ, कति रोएँ, कति चिच्याएँ । दुई पटक त ‘सुसाइड’ गर्ने प्रयास पनि गरें । तर, सकिनँ ।
आभाषलाई एकचोटि भेट्न पाए एबोर्सन नै गराउँछु र फेरि हामीबीच पहिलेजस्तै राम्रो सम्बन्ध हुन्छ भन्ने लाग्थ्यो । तर, ऊ भने मलाई बिचल्लीमा छाडेर भाग्यो ।
थाहा छैन, उसले मलाई प्रेम गर्थ्यो या गर्दैनथ्यो । तर, मलाई जीवित भएको आभाष दिलाउने मेरो मुटु थियो ऊ । मेरो जीवनको महत्त्वपूर्ण मान्छे थियो ऊ । मैले प्रेम केवल शब्दहरुका लागि मात्र गरेकी थिइनँ । मैले त उसलाई मेरो प्राण ठानेकी थिएँ । जसले मलाई प्रेम गर्न सिकायो, म उसलाई आजीवन प्रेम गरिरहन्छु ।
थाहा छैन, ऊ कहाँ छ ? कस्तो अवस्थामा छ ? के गर्दैछ ? तर, म अरुको हुन सक्दिनँ । म ऊ बाहेक अरुलाई प्रेम गर्न सक्दिनँ ।
अब फर्केर ऊ मेरो जिन्दगीमा कहिल्यै आउनेछैन शायद । तर, अलिकति सास रहुन्जेल, थोरै भए पनि आश राखेकी छु । म आभाषलाई कहिल्यै पराई सोच्न सक्दिनँ ।
खै कस्तो भाग्य कोरिदिएछ दैवले ! तर, मैले जुनसुकै परिस्थिति सहनु परे पनि मेरो पेटमा हुर्किरहेको आभाषको नासोलाई जन्माउने र हुर्काउने प्रण गरेकी छु ।
२७ पुस, २०७४, पाटन, ललितपुर