पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ ।
मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेसन अफ नेपालले दिएको जानकारी अनुसार झन्डै वार्षिक २ करोड रूपैयाँ मूल्यको दाउरा पशुपतिस्थित आर्यघाटमा खपत हुँदै आएको छ ।
टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ । मासिक झन्डै १ लाख ७० हजारदेखि २ लाख केजीसम्म दाउरा खपत हुने बताउँछन् कर्पोरेसनका महाप्रबन्धक राजु लौडारी । “जाडो याममा मानिस धेरै मर्ने भएकाले त्यो समयमा धेरै दाउरा खपत हुन्छ”– उनले भने ।
कर्पोरेसनले दाहसंस्कारका लागि सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । धार्मिक र अन्य प्रयोजनका लागि प्रतिकिलो १३ रूपैयाँमा दाउरा उपलब्ध गराउँदै आएको कर्पोरेसनले दाहसंस्कारका लागि भने प्रतिकिलो १० रूपैयाँमा दाउरा उपलब्ध गराउँदै आएको छ ।
कर्पोरेसनले दिएको जानकारी अनुसार आ.व. २०७१/७२ मा २२ लाख ७२ हजार, आ.व. २०७२/७३ मा २८ लाख १५ हजार ४ सय र आ.व. २०७३/७४ मा १६ लाख ८८ हजार ४ सय केजी दाउरा खपत भएको छ ।
यो आ.व. को साउनमा १ लाख ८० हजार ८ सय ८२, भदौमा १ लाख ४५ हजार ८ सय ८३, असोजमा १ लाख ८१ हजार १ सय ३०, कात्तिकमा १ लाख ७९ हजार १ सय ८०, मंसिरमा २ लाख ४७ हजार ६ सय २० र पुसमा २ लाख २२ हजार २ सय ५० केजी दाउरा खपत भएको कर्पोरेसनले जनाएको छ ।
“विद्युतीय शवदाह गृहको प्रयोगका कारण पछिल्लो आ.व. मा पहिलेको तुलनामा कम दाउरा खपत भएको छ”– महाप्रबन्धक लौडारीले भने ।
दाहसंस्कारका लागि प्रयोग हुने दाउरा केही व्यक्तिले धार्मिक प्रयोजनका लागि समेत लाने गरेका छन् । एक मृतकको दाहसंस्कारका लागि सामान्यतः २ सय ५० देखि ३ सय केजीसम्म दाउरा खपत हुँदै आएको छ । मानिसको साइज अनुसार कसै–कसैलाई ३ सय ५० देखि ४ सय केजीसम्म पनि लाग्ने गरेको छ ।
पशुपतिको विशिष्ट दाहसंस्कार कक्षमा भने अनिवार्य रुपमा ३ सय केजी दाउरा प्रयोग गर्नुपर्ने व्यवस्था छ । पशुपतिमा मासिक ८ सयको हाराहारीमा लास दाहसंस्कारका लागि आउने गरेको पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजुकुमार रेग्मी बताउँछन् । “दाहसंस्कारका लागि आएका लासमध्ये आधाजसो विद्युतीय शवदाह गृहमा जलाइने गरेको छ”– उनले भने ।
२०७२ माघ १० देखि सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दैनिक १२ देखि १५ लास दाहसंस्कार हुने गरेको उपनिर्देशक रेग्मी बताउँछन् । विद्युतीय शवदाह गृहको प्रयोगसँगै मासिक १ लाख २० हजार केजी दाउरा बचत हुँदै आएको छ । दुईवटा शवदाह गृह रहेको वनकालीमा पालोपालो दाहसंस्कारको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
विद्युतीय शवदाह गृहमा एउटा लास पोल्न ४५ मिनेटदेखि १ घन्टासम्म लाग्छ तर दाउरामा भने २ देखि ३ घन्टासम्म् लाग्ने गरेको छ । विद्युतीय शवदाह गृहको माग बढेसँगै कोषले एक मेशिन थप गर्न लागेको उपनिर्देशक रेग्मीले बताए । (रासस)