कामदार (मजदुर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ । यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, ट्रिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ ।
ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठ ड्राइभर नभएका कारण ट्रिपर बिक्री गरेको बताउँछन् । उनीसँग झन्डै ४५ वटा ट्रिपर थिए । एक ड्राइभरलाई मासिक ५० हजारसम्म पारिश्रमिक दिने गरेको भए पनि उनको खानीमा ट्रिपर चलाउन एक जना पनि ड्राइभर छैनन् ।
अदक्ष व्यक्तिलाई काम सिकायो, दक्ष बनायो, सिप सिक्छन् त्यसपछि काम छाडेर विदेश गइहाल्छन्, त्यसैले व्यवसायलाई धरापमा पार्नुभन्दा ट्रिपर नै बिक्री गर्नु बालभक्तको रहर नभई बाध्यता हो । खलासीबाट ड्राइभर बन्ने चलन घट्दै गएपछि यातायात व्यवसायमा कामदारको अभाव देखिन थालेको हो ।
पहिले गाउँबाट कामको खोजीमा सहर छिर्ने युवा जमात अहिले कामको खोजीमा विदेश जाने भएकाले यहाँ खलासी बस्न रुचाउँदैनन् । खलासी काम खासै गाह्रो मानिँदैन । तर पनि पेशाको सम्मान नगर्ने बानीका कारण यातायात मजदुरको अभाव बढ्दै गएको हो ।
उमेर नपुगेका बालबालिकालाई खलासी राख्न कान्रनले दिँदैन । पढेलेखेका मानिस खलासीको जागिर खान मान्दैनन् । महिला कामदारले खलासी पेशा गर्न रुचाएको पाइँदैन । त्यसैले यातायात व्यवसाय धर्मसंकटमा पर्दै गएको छ ।
माध्यमिक शिक्षा पढ्न छाडेका विद्यार्थी र घरबाट भागेर कामको खोजीमा शहर छिरेका युवा यातायात क्षेत्रका कामदार हुन् । तर, उनीहरु शहर नभई विदेश जान थालेपछि कामदार पाउन छाडेको यातायात व्यावसायी अर्जुन शाहीले बताए ।
उच्च माविका प्रधानाध्यापक रवि श्रेष्ठ विद्यालयमा रोजगारी माग्न आउनेको संख्या पर्याप्त भएको र उनीहरुले थोरै पारिश्रमिकमा पनि काम गर्न स्वीकार गर्ने तर पढेलेखेका व्यक्ति सिप सिकेर अन्य वैकल्पिक पेशा गर्न नमान्ने बताउँछन् । बनेपाका कमल तामाङले डोजर चलाउने ड्राइभरलाई मासिक तलब ५० हजार रूपैयाँ र भत्ता १ एक हजार रूपैयाँ दिने गरेको भए पनि टिकेर काम गर्ने ड्राइभरको खाँचो रहेको बताए ।
एकतिर स्वदेशमा पेशालाई इज्जत नगर्ने, सिप सिक्न नचाहने, अदक्ष र अर्धदक्ष युवा विदेश जान रुचाउनुको मुख्य लहडबाजी र अर्काको देखासिकी प्रमुख कारण हो । सिप नसकेका युवा अर्काको देखासिकी र लहलहैमा स्वदेशको राम्रो काम छोडेर विदेश पुग्छन् । त्यहाँ राम्रो काम नपाएको, कम्पनीले दुःख दिएको आदि समाचार विभिन्न पत्रपत्रिकामा खबर नछापिएका पनि होइनन् तर यसप्रति उनीहरुको खासै चासो भने छैन् ।
मेहनती एवं पेशालाई सम्मान र इज्जत गर्ने जो–कोही युवा काम नपाएर भौंतारिनु पर्दैन । बजार भएको पेशामा अल्छी नमानीकन काम गर्ने हो भने दुई छाक खान परदेशको जमिन टेक्नुनै पर्छ भन्ने बाध्यता छैन भन्छन् अरनिको यातायात सेवा समितिका पूर्वअध्यक्ष रमेश वैद्य ।