हिजो मान्छे, मान्छे थिए
भीर–पाखा–देउरालीमा
मान्छे, मान्छेसँगै हुन्थे
जनताका काम गर्थे
भोक–रोग–अशिक्षा र अभावमा सँगै हुन्थे
उस्तै थियो रहन–सहन
न्यानो–न्यानो मेल थियो
काम गर्थे जनताका
कुराकानी–बहस चल्थे देशका
विचार थियो, गति लिन्थ्यो
असल–खराब पर्गेलिन्थे
सच्चाइ र इमानलाई ठाउँ थियो
पसिनाको मूल्य थियो
राष्ट्र हाम्रो साझा घर
एउटै सान–सौकात थियो
सुख–दुःख सँगै खेप्ने
मनभरि हामी–हामी उस्तै
एउटै पौरख खाने बाचा थियो
तर,
तर, आज मान्छे– मान्छे छैन
सत्तासँग जोडिएछ
बडेराजा, छोटेराजा, राजै–राजाले भरिएछ
भीरपाखा–देउराली चिन्दैन ऊ
जनताका कुरा सुन्दैन ऊ
विचारमा अडिएर विवेक खर्च गरी–गरी
असल–खराब पर्गेल्दैन ऊ
सच्चाइ, इमान र पसिना के हो ?
जान्दैन ऊ
मलाई हामी बनाउने बाचा र
साझा पौरख खाने कुरा सम्झँदैन ऊ
किनकि
ऊ आज सत्तासँग छ
त्यसैले ऊ मान्छेभन्दा धेरै टाढा छ
सडकमा बाँच्ने मान्छे
बाचा छ भन्दैमा त्यहाँसम्म
पुग्न पाइन्छ ?