उत्तर–पश्चिम वायुको प्रभावका कारण बिहीबार पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको सम्मिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राजधानी काठमाडौंसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको जानकारी मौसमविद् समीर श्रेष्ठले दिएका छन् । उनका अनुसार बुधबारदेखि सुरु भएको यो प्रणाली अझै केही दिन जारी रहनेछ ।
तुवाँलोका कारण भिजिबिलिटी कम हुने हुँदा हवाई उड्डयनमा समस्या आउनुका साथै घाम कमजोर लाग्नेछ । देशको सुदूरपश्चिम भेगका कतिपय स्थानमा छिटफुट वर्षा र हिमपातको सम्भावना छ । उक्त क्षेत्रमा पश्चिमी वायुको सानो प्रभाव देखिएकाले एक–दुई दिनभित्र बदलीसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र छिटफुट वर्षातको सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ ।
बुधबार मौसम बदली भएका कारण बिहीबार काठमाडौंको न्यूनतम तापक्रम बढेर ६.५ डिग्री सेल्सियस पुगेको छ । तुवाँलोले घाम कमजोर लागे पनि तुलनात्मक रुपमा केही तातो महसुस गरिएको छ । गत आइतबार न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको थियो ।
यसअघि पुस २३ मा यस वर्षकै सबभन्दा बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो ।