माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा तयारी पूरा भएको र बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
नेपालको संविधानमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय व्यवस्थापिका हुने व्यवस्था भएबमोजिम प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न भइसकेको छ । बुधबार राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तिमा ३ महिला, १ दलित र १ अपांगता–अल्पसंख्यक सहित ८ गरी निर्वाचित ५६ सदस्य रहन्छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तिमा १ महिलासहित ३ जना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा १ हजार ५ सय ६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल २ हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन् ।
प्रदेश नं. २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगले सो निर्वाचनका लागि ६ वटै प्रदेशमा उच्च अदालत रहेका स्थानमा स्थापना गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानको तयारी भइरहेको छ ।
प्रदेश नं. १ को विराटनगर, प्रदेश नं. ३ को ललितपुरको पाटन, प्रदेश नं. ४ को पोखरा, प्रदेश नं. ५ को दाङ, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ ।
निर्वाचनका लागि प्रत्येक मतदानस्थलमा २ मतदान केन्द्रको व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । उनले भने– “प्रत्येक मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।”
हरियो र रातो रङका ४–४ प्रकारका मतपत्र रहनेछन् । यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ ।
मतगणनाका लागि विज्ञ
निर्वाचन हुने प्रदेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको गणनाका लागि तथ्यांक विभागबाट ३ जनाका दरले विज्ञ खटाइएको छ । ६ वटै प्रदेशमा ३ जना विज्ञ र २ जना प्रशासनिक गरी ५ जनाको गणना टोली पठाइसकेको आयोगका सूचना अधिकारी अर्यालले बताए ।
आयोगले सोमबार मतगणनामा खटिने राजनीतिक दलका प्रतिनिधिलाई समेत प्रशिक्षण दिइसकेको छ । आयोगले सकेसम्म माघ २४ मै, नभए २५ सम्ममा सबै पदको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको उनले जानकारी दिए । निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाइएको छ ।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशअनुसार बहुपदीय पदमा एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्ष पदावधि कायम रहनेछ ।
प्रदेश नं. २ मा सबै निर्विरोध, अन्त कहाँ कति ?
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. २ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा निर्वाचित हुने कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश नं. १ मा महिला ३ र अन्य ३ गरी ६ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यस प्रदेशमा अब दलित १ र अपांगता–अल्पसङ्ख्यक १ गरी २ पदका लागि मात्र निर्वाचन हुनेछ ।
प्रदेश नं. ३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश नं. ४ मा अपांगता–अल्पसङ्ख्यक १ पदमा निर्विरोध निर्वाचित भएकाले बाँकी ७ पदका लागि निर्वाचन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रदेश नं. ५ मा महिला ३ पदमा निर्विरोध निर्वाचित भएकाले बाँकी ५ पदमा निर्वाचन हुनेछ । प्रदेश नं. ६ मा सबै पदमा निर्वाचन हुँदैछ । प्रदेश नं. ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित एक र अपांगता–अल्पसङ्ख्यक १ गरी २ पदमा मात्र निर्वाचन हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।