newskoseli.Com

नारायणगढ–मुग्लिन सडक : अझै अन्योल– भित्तो काट्ने कि क्यान्टिलिभर ?

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि तोकिएको समय सकिनै लाग्दा समेत भित्तो काट्ने कि क्यान्टिलिभर (सडकभन्दा बाहिर टप निकाल्ने कार्य) राख्ने भन्ने विषयमा अन्योल कायमै छ ।

उक्त सडकखण्डको मुग्लिन नजिक भिरमा यसअघि क्यान्टिलिभर राख्ने भनिए पनि अझै निर्णय हुन सकेको छैन । ठेकेदार कम्पनीले बढी रकम माग गरेपछि टुंगोमा पुग्न नसकेको आयोजना स्रोतले जनाएको छ ।

मुग्लिनदेखि नारायणगढतर्फ चेपाङडाँडासम्मको ९ ठाउँमा गरी १ सय २३ मिटर क्षेत्रमा क्यान्टिलिभर राख्नुपर्ने देखिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । ती ठाउँमा क्यान्टिलिभर राख्ने विषयमा ठेकेदार कम्पनीसँग आर्थिक कुरा नमिल्दा ठेक्का मिति सकिन लाग्दा समेत टुंगोमा नपुगेको हो ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार क्यान्टिलिभर राख्ने भनिएका ठाउँमा अग्ला पहाड छन् । सो क्षेत्रमा ५ दशमलव ५ मिटर फराकिलो सडक थियो । केही भित्तो काटेर ७ दशमलव ५ मिटर फराकिलो बनाइएको छ ।

खनालका अनुसार ती क्षेत्रमा ९ मिटर फराकिलो सडक बनाउनु पर्ने हुन्छ । सडक छेउको पहाड ५३ मिटरसम्म अग्लो भएकाले भित्तो काट्न कठिन भएको उनले बताए । क्यान्टिलिभरबाट १ दशमलव ६५ मिटरसम्म फराकिलो बनाउन सकिनेछ, अपुग चौडाइका लागि केही भित्तो काट्न सकिने हुँदा क्यान्टिलिभर नै उपयुक्त हुने आयोजनाको ठम्याइ छ ।

सो क्षेत्रमा सडकभन्दा तल त्रिशूलीसम्म पनि ठाडो भिर छ भने माथि पनि ठाडै पहाड छ । ठूलठूला आरसीसी स्ल्याब निर्माण गरी सडकभन्दा बाहिरसम्म पुग्ने गरी बिछ्याएर सडक चौडा बनाउने प्रविधि क्यान्टिलिभर हो । नेपालमा हालसम्म भएकाभन्दा उच्चस्तरको क्यान्टिलिभर यहाँ निर्माण गर्ने योजना बनाइएको छ ।

क्यान्टिलिभर उठाउने, जडान गर्नेलगायतका काममा ठेकेदारलाई थप रकम दिनुपर्ने हुन्छ, जसका लागि ठेकेदार कम्पनीले ५ करोड रूपैयाँभन्दा बढी माग गरेको आयोजना स्रोतले जनाएको छ । आयोजनाले यसरी काम थप हुँदा सरकारी नियम अनुसार मात्रै दिने जनाउँदै आएको छ ।

उक्त क्षेत्रको ठेक्का सुप्रिम रौताहा जेभीले लिएको छ । आयोजनाको ठेक्का मिति आउँदो साता सकिँदैछ तर ठेकेदार कम्पनीले गत वर्षको वर्षात्, स्थानीय, प्रदेश र संघको निर्वाचन, चाडपर्वलगायतका कारण देखाएर काम गर्न नपाएको भन्दै थप समय माग गर्दै आएको छ ।

हालसम्म ३ वटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त सडक ३३ दशमलव २ किलोमिटर लामो छ । सो सडक ३ तह कालोपत्र गरिँदैछ । समग्रमा उक्त सडकखण्डमा ७४ प्रतिशत मात्रै काम भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर